किशोर तामाङ, कञ्चनपुर, २८ मङ्सिर । कञ्चनपुरको पुनर्वासमा सम्पन्न चौथो भानु कप ‘वडा स्तरीय पुरुष फुटबल प्रतियोगिता २०८०“ को उपाधि आयोजक न्यु भानु युवा क्लबले हात पारेको छ । प्रतियोगिताको अन्तिम खेलमा आयोजक न्यु भानु युवा क्लबले त्रिभुवन युवा क्लबलाई २–१ गोल अन्तरले पराजित गर्दै बिजेता बनेको हो । अत्यन्तै रोमाञ्चक र प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको खेलमा त्रिभुवनका डिफेन्डर विवेक सुनारले डिफेन्स लिने क्रममा आत्मघाती गोल हुन पुग्दा भानु युवा क्लबले १ गोल सहितको खाता खोलेको थियो । लगत्तै भानु युवा क्लबका खेलाडी धिरेन्द्र शाहले दोस्रो गोल गर्दै भानु युवा क्लबलाई २ गोलको अग्रता दिलाएका थिए । मध्यान्तरपछि त्रिभुवन युवा क्लबले एक गोल फर्काए पश्चात् खेल निकै नै रोमाञ्चक बनेको थियो । तर न्यु भानु युवा क्लबका खेलाडी धिरेन्द्र शाहले मध्यान्तर अघि प्रहार गरेको दोस्रो गोल नै आयोजक क्लबका लागि विजेताको निर्णायक बन्न पुगेको थियो । उनको जवाफी गोल फर्काउन नसक्दा त्रिभुवन युवा क्लब २–१ गोल अन्तरले उपविजेतामै सीमित हुनुप¥यो ।
विजेताले उपाधिसँगै नगद १ लाख ५० हजार रुपैयाँ सहित ट्रफि र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता त्रिभुवन युवा क्लबलाई नगद ७७ हजार ७ सय ७७ रुपैयाँ सहित मेडल, कप र प्रमाणपत्र प्रदान गरिएको आयोजक समितिका सचिव जय सिंह ठकुरीले जानकारी दिए । त्यसै गरी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीको उपाधि त्रिभुवन युवा क्लबका खेलाडी सुदिप घर्ती घोषित भए भने उत्कृष्ट मिड फिल्डरको उपाधि न्यु पृथ्वी युवा क्लबका खेलाडी देवेन्द्र थापा, उदयमान खेलाडीको रूपमा न्यु भानु युवा क्लबका खेलाडी वसन्त बिक, उत्कृष्ट डिफेन्सर आयोजक टिमका अमृत भण्डारी, सर्वोत्कृष्ट गोलकर्ताको उपाधि नवसूर्योदय युवा क्लबका खेलाडी उमेश लामाले पाए । त्यसै गरी फाइनल खेलको म्यान अफ द म्याच र उत्कृष्ट गोलरक्षक आयोजक क्लबका आकाश बुढा घोषित भएका थिए । विधागत उपाधि पाउने सबै खेलाडीलाई नगद पुरस्कार सहित प्रमाणपत्र र मेडल प्रदान गरिएको थियो ।
न्यु भानु युवा क्लबको आयोजनामा स्व. प्रकाश दाहाल स्मृति प्रतिष्ठानको प्रथम पुरस्कार सौजन्य र स्वर्गीय वीरेन्द्र जेठाराको सम्झनामा द्वितीय पुरस्कार सौजन्य रहेको उक्त प्रतियोगिताको समापन समारोहमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीको प्रमुख आतिथ्यता तथा पुनर्वासका नगर प्रमुख तोय प्रसाद शर्मा र निवर्तमान नगर प्रमुख जीवनराज थापा विशिष्ट अतिथिमा आसीन थिए । सुदूरपश्चिम प्रदेश सभाका सभामुख भण्डारीले विजेता र उपबिजेता टिमका खेलाडीहरूलाई बधाई दिँदै पुनर्वास नगरपालिका भित्र फुटबल प्रतियोगिताको चहलपहल हेर्दा जिल्लामै फुटबल खेलका लागि उर्वर भूमि भएको उल्लेख गरे । सभामुख भण्डारीले राष्ट्रिय खेलकुद परिषद् लगायतका सम्बन्धित निकायले सहरी क्षेत्रमा मात्र ध्यान दिई ग्रामीण भेगका खेलाडीलाई बेवास्ता गर्दा अहिले नेपाली फुटबल खेलमा सोचे जस्तो फड्को मार्न नसकेको औँल्याए ।
पुरस्कार वितरण गर्दै नगर प्रमुख शर्माले खेलकुद क्षेत्रमा पुनर्वास नगरपालिका र आफू सधैँ सकारात्मक हुँदै आएको बताए । उनले खेलकुदका लागि नगरले आवश्यक बजेट विनियोजन गरिदिएको र अझ आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता जाहेर गरे । त्यसै गरी निवर्तमान नगर प्रमुख थापाले पुनर्वास कै सबैभन्दा पुरानो न्यु भानु युवा क्लबको आफ्नै छुट्टै पहिचान रहेको बताए । उनले भने “पुनर्वासमा खेलकुदको क्रेज भएकै कारण गाउँगाउँमा विभिन्न प्रतियोगिता हुने गरेका छन् । चाडबाडको समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरेको छ ।"
त्यस्तै क्लबका अध्यक्ष पदम बहादुर थापाले स्थानीयस्तरबाटै राष्ट्रियस्तरका खेलाडीहरूको उत्पादन गराउन सकिन्छ भन्ने उद्देश्यका साथ खेल आयोजना गरिएको बताए । राज्यबाट खेलकुदको लागि बर्सेनि करोडौँ बजेट विनियोजन गरिन्छ तर उक्त बजेट ग्रामीण क्षेत्रका खेलाडीहरूको लागि 'आकाशको फल, आँखा तरी मर' भनेझैँ भएको उनले सुनाए । क्लबका सचिव जयसिंह ठकुरीले खेल एकदमै विवादरहित बनाउन थुप्रै चुनौतीहरूको बाबजुद पनि आयोजकको अथक प्रयास रहेको बताए । फुटबल प्रतियोगिताको समापन समारोहका अन्य वक्ताहरूले खेलकुद क्षेत्र युवाहरूका लागि अनिवार्य भएको भन्दै यसमा नगरपालिका, प्रदेश र सङ्घीय तीनै तहका सरकारले प्राथमिकताका साथ बजेट छुट्टाएर खेलकुदका गतिविधि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।
समय समयमा गाउँमा मनोरञ्जनका साथै खेलकुदको विकासका लागि पनि प्रतियोगिता हुने गरेपछि फुटबल प्रेमी दर्शकहरू निकै नै खुसी भएको देखिन्छ । न्यु भानु युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा १९ टिम सहभागी रहेका थिए । पुनर्वास नगरपालिका अन्तर्गत साबिक कालिका, त्रिभुवनबस्ती, परासन र बाइसेविचुवा गाविसका १९ टिम सहभागिता रहेको प्रतियोगिता भानु युवा क्लबको घरेलु खेलमैदानमा सम्पन्न भएको छ । समापन समारोहमा भानु युवा क्लबका पूर्व अध्यक्ष पदम पुजाराले स्वागत मन्तव्य राखेका थिए । उक्त समापन समारोहलाई रूपेश खरेलले सञ्चालन गरेका थिए । यसैगरी खेलकुद अवधिभर प्रत्यक्ष प्रसारणमा भानु युवा क्लबका खेलाडी हिमेश थापाले लाइभ कमेनट्री गरेका थिए ।