माधव पौडेल, कञ्चनपुर, २६ मङ्सिर । कञ्चनपुर जिल्लाको महेन्द्रनगर केन्द्रीय कार्यालय स्थापना गरी सञ्चालनमा आएको संस्था उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाले मंगलबार बेलौरीमा २५औँ इकाईगत साधारण सभा गरेको छ । कार्यक्रमको सभापतित्व उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्द, प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी, विशिष्ट अतिथि बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरा सिंह बिष्ट, अतिथि इलाका प्रहरी कार्यालय बेलौरीका प्रतिनिधि टेकबहादुर खडका, बेलौरी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष लक्ष्मीनारायण चौधरी लगायत सञ्चालन समिति उपाध्यक्ष नारा जोशी, संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्द, संस्थाका सेयर सदस्यहरू समेतको उपस्थिति रहेको थियो । साधारण सभाको स्वागत मन्तव्य सञ्चालक समितिका सदस्य चित्राङ्ग थापाले गर्नु भएको थियो ।
कार्यक्रमको आर्थिक वर्ष २०७९।०८० को आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले प्रस्तुत गर्दै संस्थामा आबद्ध भएका सेयर सदस्य मध्ये महिला सदस्य लाई सुत्केरी भत्ता सेयर सदस्य को मृत्यु पश्चात् प्रदान गरिने काज किरिया खर्च लगायत ऋणी सेयर सदस्यको अभिभावकको मृत्यु भएमा कर्जा मिनाहा, बिमा बापतको रकम सेयर सदस्यहरूमा कुनै जटिल प्रकृति को रोग लागी उपचारमा समेत सहयोग रकम हस्तान्तरण गर्दै आइरहेको र संस्थाले कृषि क्षेत्रका लागी मल, बीउ प्रशोधन केन्द्र, राइस मिल सञ्चालन गरी बजार मूल्य भन्दा १० प्रतिशत बढी मूल्यमा धान गहुँ खरिद गरिरहेको समेत उल्लेख गर्नुभयो । निकट भविष्यमा सेवा भएको ठाउँबाटै डिपो सञ्चालन गरी बजार मूल्य भन्दा बढी रकममा धान गहुँ लगायत खाद्यान्न खरिद गर्ने लक्ष्य लिएको उल्लेख गरिएको छ ।
२०५६ साल बैशाख २१ गते तत्कालीन जिल्ला सहकारी कार्यालय महेन्द्रनगर कञ्चनपुरबाट विधिवत् रूपमा दर्ता भएको संस्था अहिले २४ वर्ष पूरा गरी २५ वर्षमा प्रवेश गरेको छ । संस्थाको शेयर पुँजी २०८० असार मसान्तसम्म १८ करोड ८५ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको र आगामी ३ वर्षमा २५ करोड पुर्याउने लक्ष्य लिएको र हाल संस्थाले १ अर्ब ५३ करोड निक्षेप सङ्कलन गरी १ अर्ब ५० करोड लगानीमा बाँकी रहेको छ । संस्थाको आ.व. ०७९।०८० को कुल नाफा ६ करोड ५५ लाख रहेको अध्यक्ष चन्दले बताउनुभयो । हाल संस्थाका जिल्लामा केन्द्रीय कार्यालय ५ वटा सेवा केन्द्र कैलालीको धनगढी र अत्तरिया, डडेलधुरा र बैतडीमा गरी ९ वटा सेवा केन्द्रमा २३ हजार ५ सय ३८ जना सेयर सदस्य रहेका छन् ।
संस्थाले हरेक वर्ष शेयर सदस्यहरू मध्येबाट जेहेन्दार विद्यार्थीका कृषि तर्फको जेटिए अध्ययनका लागि ५० प्रतिशत छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । बेलौरी सेवा केन्द्र अन्तर्गत इकाईगत साधारण सभामा सेयर सदस्यबाट ज्येष्ठ सदस्य बिष्ना भट्ट, बाल बचत विधामा सुनिता गिरी, सदिच्छा ठगुन्ना र उत्कृष्ट व्यवसायीमा शुस्मा चौधरी र टिकाराम लुहारलाई सम्मान गरेको छ । संस्थाले विभिन्न समयमा आफ्ना सेयर सदस्यलाई तालिम, बेमौसमी तरकारी खेती सम्बन्धी, पशुपालन सम्बन्धी नमकिन बनाउने तालिम समेत दिँदै आइरहेको छ । कार्यक्रममा उपस्थित हुने प्रमुख अतिथि, विशिष्ट अतिथि लगायत अतिथिहरूलाई संस्थाका अध्यक्षद्वारा मायाको चिनो प्रदान गरिएको बेलौरी शाखा प्रबन्धक टेकराज पन्तले बताउनु भयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले सहकारीबाट ऋण लिई आत्मनिर्भर भएको बताउँदै संस्थाबाट कर्जा लिइसकेपछि कर्जा रकम तिर्नुपर्नेमा जोड दिनुभयो । बेलौरी नगरपालिकाले कृषि क्षेत्रमा पालिका भित्र रहेका तरकारी, फलफूल उत्पादन गर्ने किसानहरूको आर्थिकस्तर माथि उकास्नका लागि कृषि एम्बुलेन्स खरिद गरी पालिका भित्र उत्पादन हुने कृषि उपजलाई धनगढी र महेन्द्रनगर पुर्याइ बिक्री वितरण सहज भएको बताउनुभयो । कार्यक्रममा बेलौरी सेवा केन्द्र अन्तर्गत विभिन्न केन्द्रका ३५० जनाको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संस्थाका कार्यकारी अधिकृत गणेश बहादुर चन्दले गर्नुभएको थियो ।