(कविता)
✍️अचम्मैको शहर ✍️
फुटको, लूटको, अनि झुटको
खेती मात्रै मौलाउने शहर ,
मिच्न , पिस्न अनि थिच्न खप्पिस
मेसिनरी सामान सरि यो शहर ,
मात्रै त्यो खोक्रो सुन्दरताले बेरिएको
यो केवल कृत्रिम शहर ,
त्यसैले त,
त्यसैले त ! केही दिन्छु भन्नेले झन् दिन्न यहाँ ,
म लिन्छु भन्नेले त झनै लिन्न यहाँ ,
मात्रै यहाँ तातो खल्ती चल्छ हजुर
स्वार्थ, घमन्ड अनि बेइमानीको ।
सोच्छ होला मान्छे पनि ,
सायद मरिरहनु पर्दैन क्यारे,
मिट्टीमै विलीन भइरहनु पर्दैन क्यारे ,
सबै छाडेर यहाँ ढलिरहनु पर्दैन क्यारे,
के उसले यहाँ ,
त्यो खोस्टो अनि त्यो माटो,
बोकेरै चितामा लान्छ र?
अथवा कयौँ पटकको धोकाधरिका ठेलीमा ,
सुतेरै त्यो जान्छ र ?
म त सोचेर छक्कै पर्छु,
यहाँ हामीसँग बोल्दा भाउ घट्छ अरे,
स्ट्यान्डर आफ्नो तल खस्छ अरे,
छि! कस्तो हो यो बाँधिएको शहर ,
छिमेक , छिमेकमै पनि टाढिएको शहर,
कस्तो अचम्म,
झूटै झुटको छ यो शहर ,
लुटै लूटको छ यो शहर ,
मानवता नै गुमाएको ,
यो बगर जस्तै शहर ।
-माहेश्वरी भट्ट
भीमदत्त नगरपालिका-१८, कञ्चनपुर