हरिश चन्द्र बाग, कञ्चनपुर, १२ माघ । कञ्चनपुरको पुनर्वासमा सम्पन्न दोश्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ मा जीवनज्योति माविले रनिङ शिल्ड हात पारेको छ । जीवनज्योति माविले १८ स्वर्ण, १० रजत र ५ कास्य पदक सहित प्रथम स्थान हाँसिल गरेको हो । त्यस्तै, पुनर्वास जनता मावि ५ स्वर्ण, १ रजत, ३ कास्य सहित दोस्रो र ३ स्वर्ण, ३ रजत, १ कास्य सहित विजय मावि तेस्रो भएको बताइएको छ ।
यही माघ ७ गतेबाट पुनर्वास जनता माध्यमिक विद्यालयको खेल मैदानमा सञ्चालित प्रतियोगिताको आइतबार साँझ समापन गरिएको पुनर्वास नगरपालिकाका उपप्रमुख शारदा शर्मा बिष्टले जानकारी दिनुभयो । प्रतियोगितामा पुनर्वास नगरपालिका क्षेत्र भित्रका सामुदायिक र संस्थागत गरी जम्मा तेइस वटा विद्यालयको सहभागिता रहेको पुनर्वास नगरपालिकाले जनाएको छ ।
दोश्रो नगर स्तरीय एवम् बाह्रौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७६ को समापन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै सुदूरपश्चिम प्रदेश सभा सदस्य तारा लामा तामाङले शिक्षा र स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले खेलकुदबाट खेलाडीको शरीर स्वस्थ हुनुका साथै बौद्धिक स्तर समेत मजबुद हुने भएकोले खेलकुद र व्यायामको महत्व ज्यादा रहेको बताउनु भयो ।
त्यस्तै, समापन समारोहलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर प्रमुख जीवन राज थापाले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान ल्याउन सफल विद्यालयहरुलाई बधाई ज्ञापन गर्नुभयो । उहाँले साग लगायतका महत्वपूर्ण खेलहरुमा सहभागी यहाँका खेलाडीहरुलाई प्रोत्साहन गर्न नगरपालिकाले सम्मान गर्ने कार्यलाई निरन्तरता दिइने उल्लेख गर्नुभयो ।
प्रतियोगितामा भलिबल, कबड्डी, ज्याब्लिङ थ्रो, लङजम्प, हाईजम्प, सटपुट, लामो तथा छोटो दुरिको दौड र मार्सल आर्ट्स जस्ता खेलहरु खेलाइएको कार्यक्रमका उद्घोषक लालमन तामाङले बताउनु भयो । त्यस्तै, कार्यक्रममा विजयी उत्कृष्ट विद्यालयका खेलाडीहरु र विधागत खेलाडीहरुलाई ट्रफी, मेडल, प्रमाणपत्र सहित नगद पुरस्कार वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
यस्तो छ, पदक तालिका