तर्कराज भट्ट, डडेलधुरा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार सत्ता स्वार्थमा केन्द्रित रहेको आरोप लगाएका छन् । झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको दोस्रो दिन शुक्रबार डडेलधुरा सदरमुकाममा आयोजना गरिएको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिलेको सरकार कसरी सत्ता जोगाउने, कसरी मन्त्री हुने, कसरी बढी कमाउने, कसरी आफन्त पोस्ने? भनेर लागेको आरोप लगाएका हुन् ।
सरकारले भ्रष्टाचारको संरक्षण गरिरहेको आरोप लगाउँदै ओलीले अहिलेको सरकार खुट्टा नभएको गठबन्धनका छेस्काले उभिएकाले जुनसुकै बेला ढल्न सक्ने बताए । उनले यो सरकारको कुनै सिद्धान्त, कार्यक्रम र नीति नभएको आरोप लगाएका छन् । नेपाली जनताको बिचमा द्वन्द्व मच्चाउन खोज्नेहरू सलबलाई रहेको भन्दै अध्यक्ष ओलीले १५ वर्ष पुरानो राजतन्त्रको चिहान खनेर राजतन्त्र फर्काउने सपनामा केही व्यक्ति र तत्त्वहरू लागेको बताए ।
आज देश राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक हिसाबले ओरालो लागेको भन्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अहिलेको सरकार कर्मचारी पाल्न पनि नसक्ने अवस्थामा पुगेको उल्लेख गरे । उनले सरकारले आन्तरिक ऋण उठाएर कर्मचारीलाई तलब खुवाइरहेको दाबी गरे । सभालाई सम्बोधन गर्दै उनले भने‘ एमालेले सुरु गरेको महाकाली कोरिडोर, सेती कोरिडोर अवरुद्ध रहेको छ । विकास निर्माणका कामहरू अवरुद्ध भएका छन् । उद्योग हरू बन्द भएका छ । कर्मचारीलाई तलब दिनका लागि सरकारले आन्तरिक ऋण उठाउनु परेको छ । अर्थतन्त्र र विकासको लहर ओरालो लागेको छ ।’
कृषिमा आधुनिकीकरणको सुरुवात एमालेले गरेको दाबी गर्दै ओलीले अहिलेको सरकार र सत्ता गठबन्धनका कारण सबै ठप्प रहेको आरोप लगाए । एमाले जनताको हितमा काम गर्ने भन्दै ओलीले महाकाली कोरिडोर, सेती कोरिडोर, महाकाली बहुउद्देश्यीय आयोजना, यहाँको शिक्षा, स्वास्थ्य लगायत अन्य विकास निर्माणका समस्याहरू समाधानमा एमालेले आवश्यक कदम चाल्ने बताए ।
देश निर्माणको अभियान अन्तर्गत सङ्कल्प यात्रा सञ्चालन गरिएको बताउँदै उनले तिन हप्ताको यात्रामा ग्रामीण स्तरका जनताका समस्या बुझ्न, किसान मजदुर र आम जनता सँग संवाद गर्न, ऐतिहासिक धरोहरहरू, मठ मन्दिरहरूको अवस्था हेर्न, कहाँ कस्ता विकासका सम्भावना छन् त्यो बुझ्नका लागि र स्थलगत रूपमा जनता सँग पुगेर उनीहरूका मागहरू कसरी सम्बोधन गर्न सकिन्छ भनेर यो अभियान सञ्चालन अघि बढाएको बताए ।