हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ मङ्सिर । ज्योतिष पण्डित यज्ञराज पन्त ‘इण्डो नेपाल एस्ट्रोलजिकल एक्सिलेन्स अवार्ड २०२३’ बाट सम्मानित हुनु भएको छ । कञ्चनपुरको बेलौरी घर भई कल्याण माविमा अध्यापनरत ज्योतिष पण्डित पन्त अन्तर्राष्ट्रिय ज्योतिष महासंघले हालै काठमाडौँमा आयोजना गरेको इण्डो नेपाल आध्यात्मिक र ज्योतिषीय शिखर सम्मेलन २०२३ मा सहभागी भई सम्मानित हुनु भएको हो ।
ज्योतिष विज्ञान अनुसन्धानको विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान र उपलब्धिहरू तथा ज्योतिष विज्ञान, कर्मकाण्ड, पाण्डित्य कर्म, वास्तु शास्त्र, धर्म दर्शन र समाजको सफलताको कल्याणको लागि निरन्तर योगदानको कदर गर्दै "इन्डो नेपाल ज्योतिष उत्कृष्टता पुरस्कार" बाट सम्मानित गरिएको अन्तर्राष्ट्रिय ज्योतिष महासंघले जनाएको छ । त्यस क्रममा नेपालका प्रथम पूर्व उपराष्ट्रपति पण्डित परमानन्द झाले उक्त अवार्ड हस्तान्तरण गर्नु भएको हो ।
अन्तर्राष्ट्रिय ज्योतिष महासंघद्वारा २६ नोभेम्बरदेखि २८ नोभेम्बरसम्म काठमाडौँमा र बाँकी ४ दिन पोखरामा गरी ७ दिवसीय अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन तथा नागरिक सम्मान समारोह आयोजना गरिएको छ । उक्त सम्मेलनमा देश-विदेशका प्रख्यात ज्योतिष विद्वान, व्यवसायी, उद्यमी, चिकित्सक, अधिवक्ता र सामाजिक सेवा क्षेत्रमा क्रियाशील नागरिकहरूको सहभागिता रहेको बताइएको छ । यस अवसरमा विद्वानहरूद्वारा सनातन धर्म, पाण्डित्य कर्म, ज्योतिष, वास्तु, हस्तरेखा लगायतका विषयमा धारणाहरू व्यक्त भएका छन् ।