हरिश्चन्द्र बाग, कञ्चनपुर, ०२ मङ्सिर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गरिएको छ । शनिबार परराष्ट्र मन्त्री एनपी साउदले शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्नु भएको हो । भवन उद्घाटन गर्दै मन्त्री साउदले विकास निर्माणका काममा राजनीति गर्न नहुने बताउनु भएको छ । कञ्चनपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य समेत रहनु भएका मन्त्री साउदले क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिबद्धता समेत जनाउनु भयो ।
त्यस क्रममा उहाँले इजरायल घटनामा बेपत्ता कञ्चनपुरको महेन्द्रनगरका विपिन जोशीको खोजीकार्यमा सरकारले सबै संयन्त्र प्रयोग गरिरहेको बताउनु भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगर स्थित विपिनको परिवारजनसँग भेटघाट गरेको बताउँदै उहाँले हमासको बन्धकमा रहनु भएका विपिन जोशीको रिहाइका लागि मित्रराष्ट्र कतार सहित रेडक्रस लगायतका अन्तर्राष्ट्रिय नियोगहरूमार्फत पहल गरिरहेको बताउनु भयो । इजरायल सरकारले दिएको जानकारी अनुसार विपिनलाई हमासले नियन्त्रणमा लिएको छ । मन्त्री साउदले नोभेम्बर २१ तारिकमा इजरायल सरकारसँग थप छलफल गर्ने कार्य तालिका रहेको र त्यसमा आफू पनि सहभागी हुने हुँदा विपिनलाई बन्धकबाट छिट्टै मुक्ति दिई न्याय दिलाउने तर्फ नेपाल सरकार हरदम प्रयासरत रहेको बताउनु भएको छ । शुक्लाफाँटा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन लगत्तै सञ्चारकर्मीहरूसँग कुराकारी गर्दै मन्त्री साउदले नेपाल–भारत सीमा समस्या समाधानका लागि कूटनीतिक तवरबाट समाधान गरिने बताउनु भयो ।
एसियाली विकास बैङ्क (एडिबी) को १२ करोड बढी लागतमा भवन निर्माण गरिएको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले जानकारी दिनु भएको छ । नयाँ प्रशासकीय भवन निर्माणसँगै कार्यालयको दैनिक कामकाज गर्न सहज हुने अपेक्षा गरिएको छ । नगर प्रमुख महराले स्थानीय स्रोत साधनले मात्रै नगरको समृद्धि र विकास गर्न सम्भव नरहेको उल्लेख गर्दै प्रदेश सभा सदस्य बहादुर सिंह थापा र परराष्ट्र मन्त्री एनपी साउदको ध्यानाकर्षण समेत गराउनु भयो । उहाँले नगर गौरवका आयोजना तथा थप नयाँ योजनाका लागि आवश्यक बजेटको व्यवस्था गरिदिन समेत आग्रह गर्नुभयो । नगर प्रमुख महराले निर्वाचित भएयता डेढ वर्षमा गरिएका मुख्य मुख्य कार्यहरूको फेहरिस्त समेत सार्वजनिक गर्नुभएको छ ।
कार्यक्रमका शुभकामना मन्तव्य राख्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य बहादुर सिंह थापाले पालिकाको विकासका लागि प्रदेशबाट सक्ने सहयोगका लागि पहल गर्ने आश्वासन दिनुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा, भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, वेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहरा, कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा, लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल राना, शुक्लाफाँटा नगरपालिकाका निवर्तमान नगर प्रमुख दिल बहादुर ऐर लगायतका वक्ताहरूले पालिकाबाट जनतालाई अधिकतम सेवा सुविधा प्रवाहमा जोड दिनुभयो ।
कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले भवन अनुरूप कर्मचारीले कानुन अनुरूप सबै सेवाग्राहीलाई सेवा दिनुपर्ने बताउँदै चाकरी चाप्लुसीको पछि नपर्न आव्हान गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै शुक्लाफाँटा नगरपालिकाका उपप्रमुख कल्पना पन्तले भवन निर्माणसँगै स्तरीय सेवा सुविधा प्रवाहमा केन्द्रित हुने बताउनु भएको छ । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्र प्रसाद भट्टले भवन निर्माणसँगै थप प्रशासनिक कामकाज तथा कार्य सम्पादनमा सहजता हुने बताउनु भयो । उहाँका अनुसार दुई तले भवन अपाङ्गतामैत्री, सुविधायुक्त सभा हल, ६३ कोठा सहित सम्पूर्ण शाखा एकै भवनमा रहने गरी निर्माण गरिएको छ ।