हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ कार्तिक । कञ्चनपुरका ठाउँठाउँमा भारतीय पक्षको हस्तक्षेप कायम रहेको छ । नेपालको आफ्नै भूमिमा सडक मर्मत सम्भार गर्न खोज्दा पनि अवरोध गर्दै आएको भारतीय पक्ष आफूले भने अन्तर्राष्ट्रिय मान्यता विपरीत कञ्चनपुरको गड्डाचौकीमा दशगजासम्मै सडक कालोपत्रे गरेको छ । त्यससँगै जोडिएको नेपालतर्फको सडकको अवस्था भने नाजुक छ । त्यहाँ भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले दशगजा क्षेत्रमा कुनै संरचना बनाउन नपाउने भन्दै बाटोमा ग्राभेलसमेत राख्न दिएको छैन । ‘बाटो खाल्डाखुल्डी, हिलो–धुलो हुने भएकाले हामीले आफ्नातर्फ थप ग्राभेल गरेर त्यसलाई सडक स्तरोन्नति गर्न खोज्दा भारतले अवरोध गरेको छ,’ भीमदत्त नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष प्रकाश थापाले भने । हिँड्नलाई सहज होस् भनेर ग्राभेल हाल्न खोज्दा भारतीय पक्षले अवरोध गरेको स्थानीय गणेश चुनाराको भनाइ छ ।
दशगजा क्षेत्रमा सडक कालोपत्रे गर्दा भारतले नेपालसँग समन्वय गर्नुपर्थ्यो । अनि नेपाललाई पनि आफ्नो क्षेत्रमा काम गर्दा अवरोध गर्नु हुँदैनथ्यो । तर यहाँनिर भारतीय पक्षले आफ्नो हैकम देखाउन खोजेको सरोकारवालाको बुझाइ छ । मेचीदेखि महाकालीसम्मै गलत स्ट्रिप नक्सा बनाएको कारणले धेरै ठाउँमा विवाद छ । ‘के आधारमा गलत नक्सा बन्न गयो । त्यसको सही जवाफ जनतालाई दिएर यो सीमा विवाद तत्काल समाधान गर्नुपर्छ,’ अन्तर्राष्ट्रिय सीमा सरोकार समूह कञ्चनपुरका संयोजक पल्लवराज भट्टले भने ।
कञ्चनपुरको प्यारातालदेखि ब्रह्मदेव र दोधाराचाँदनीसम्मै ठाउँठाउँमा भारतीय पक्षले नेपाली भूभाग अतिक्रमण गर्दै आएको छ । प्यारातालमा आँखा गाड्नु, आनन्दबजारमा कल्भर्ट निर्माण गर्दा भारतीय सुरक्षाकर्मीले गोविन्द गौतमको हत्या गर्नु, बेलौरीको पचुई क्षेत्रमा डेढ किलोमिटर बढी सडक कालोपत्रे गर्न नदिनु, भुडा लगायतका ठाउँहरूमा नेपाली जमिनमै खेतीपाती गर्न नदिनु, महाकाली नदी वारि गड्डाचौकीमा आफ्नो क्याम्प राख्दै हुँदाहुँदा एकतर्फी रूपमा दशगजासम्मै कालोपत्रे गर्नु, ब्रह्मदेव र दोधाराचाँदनीका ठाउँठाउँमा भारतीय पक्षले देखाउने दादागिरी यसका पछिल्ला उदाहरण हुन् । पुनर्वास, बेलौरी, बेलडाँडी, भीमदत्त र दोधाराचाँदनीका विभिन्न बस्तीहरूमा भारतीय पक्षले बेलाबेलामा हस्तक्षेप गरिरहन्छ ।
‘ठाउँठाउँमा विभिन्न समयमा भारत र नेपालबिच सीमा विवाद रही आएका छन् । यी सीमा विवादलाई नेपाल र भारत सरकारको उच्चस्तरीय समितिले प्रमाणका आधारमा यसको निर्क्योल गर्नुपर्ने हुन्छ,’ जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले भने, ‘जबसम्म हामीले हामीसँग उपलब्ध प्रमाणहरू या तत्कालीन नक्सा, इत्यादि जे छ त्यसलाई खोजेर भए पनि त्यसमा सहमति गर्नुपर्ने हुन्छ । त्यो नै यसको स्थायी उपचार हो जस्तो मलाई लाग्छ ।’ नेपाल–भारत सीमामा भारतले देखाउने बल मिच्याइँबारे सञ्चारमाध्यमले बारम्बार आवाज उठाए पनि राज्य संयन्त्रले भने देखे पनि नदेखेझैँ गरिरहेको छ । दुई देशको सीमाजस्तो संवेदनशील क्षेत्रमा भारतीय पक्षबाट खुलेआम हस्तक्षेप भइरहेको छ ।