हरिश्चन्द्र बाग, कञ्चनपुर, २३ कार्तिक । कञ्चनपुरको बेलडाँडीमा सञ्चालित 'बेलडाँडी सुपर डान्सर' प्रतियोगितामा बिपना कुँवर च्याम्पियन बनेकी छन् । अन्तिम ६ जना प्रतिस्पर्धीबिच बिहीबार भएको अन्तिम चरणको नृत्य प्रतियोगितामा निर्णायक मण्डलको मूल्यांकन र अतिथिहरूले दिएको मतलाई जोडेर अन्तिम नतिजा सार्वजनिक गरिएको थियोे । जसमा सबैभन्दा धेरै अंकका साथ बिपना कुँवर प्रथम भएकी हुन् । त्यस्तै द्वितीय स्थानमा रामु सुनार र तृतीय स्थानमा आसिका पार्की परेको बेलडाँडी सुपर डान्सर २०८० का प्रमुख निर्णायक आर.के. कमल टमटाले बताएका छन् । प्रतियोगितामा न्यू मालिकार्जुन ट्रेड एण्ड सप्लायर्स चवन्नी बजारका सञ्चालक तेजसिंह धामीले प्रथम पुरस्कार स्वरुप रु. २५ हजार, सन्देश चाउमिन एण्ड स:स उद्योग चवन्नी बजारका सञ्चालक सन्देश पाण्डेयले द्वितीय पुरस्कार स्वरुप रु. १० हजार र ब्रह्मा एसएनडी युपिभिसी झ्याल ढोका उद्योग महेन्द्रनगरका सञ्चालक बेलडाँडी आनन्दटोल निवासी सन्तोष सुनारले तृतीय पुरस्कार स्वरूप रु. १० हजार रकम उपलब्ध गराई विजेताहरूलाई प्रदान गरेका छन् ।
असोज १३ गते शनिबारदेखि बेलडाँडीमा शुरू भएको 'बेलडाँडी सुपर डान्सर' प्रतियोगितामा १३४ जनाको सहभागिता रहेको थियो । बेलडाँडी गाउँपालिका पुरै तथा बेलौरी नगरपालिकाका ८, ९ र १० नम्बर वडाका प्रतिस्पर्धीहरूको सहभागिता रहेको थियोे । जसमा १३४ जनामध्ये प्रारम्भिक छनोटको अडिसनबाट ५८ जना छनोट भएका थिए । ५८ जनाबाट प्रतिस्पर्धा गर्दै २२ जना छनोट भए, जसमा उनीहरुले मेगा अडिसनमा स्थान पक्का गरेका थिए । असोज २० गते शनिबार मेगा अडिसनबाट सुपर १२ मा छनोट भए ।
असोज २७ गते शनिबार टप १२ बाट सिधै आफ्नो टप-६ मा आसिका पार्की, बिपना कुँवर ,बिनिता बिक, रामु सुनार, अस्मिता राना र रितु पार्कीले अन्तिम चरणको यात्रा पक्का गरेका थिए । यो बिचमा दशैँ र त्यसलगत्तै बेलडाँडीमा रामलीला महोत्सव सञ्चालन भएकोले प्रतियोगिता स्थगित गरिएको थियो । रामलीला सम्पन्न भएलगत्तै बिहीबार आयोजित अन्तिम चरणको प्रतिस्पर्धासँगै प्रतियोगिताको समापन गरिएको आयोजकले जनाएको छ ।
विभिन्न मनोरञ्जनात्मक कार्यक्रम उत्पादन, बजारीकरण र प्रसारण गर्दै आएको न्यु आराधना कला मन्दिरले बालबालिका तथा युवाको प्रतिभा प्रदर्शन गराउने लक्ष्य राखेर प्रतियोगिता गरेको सञ्चालक आर.के. कमल टमटाले बताएका छन् । नृत्य प्रेमी युवा तथा बालबालिकाप्रति लक्षित गरी ‘बेलडाँडी सुपर डान्सर’ आयोजना गरिएको उनको भनाइ छ । प्रतियोगिताको सुरुवाती चरणदेखि अन्तिमसम्म विभिन्न तहतप्काबाट सहयोग गर्ने सबै प्रति उनले कृतज्ञता व्यक्त गरेका छन् । पछिल्लो समयमा कञ्चनपुर जिल्लामै यस्तो कार्यक्रम पहिलोपटक भएको उनको दाबी छ । आगामी दिनहरूमा पनि यस्तै कार्यक्रम सञ्चालनका लागि आफू योजना बनाइरहेको उनी बताउँछन् । सुपर डान्सर प्रतियोगितामा सुरु देखि नै आर.के कमल टमटा, पुनम चन्द साउद र भूपेन्द्र रानाले मूल्याङ्कनकर्ता (जज) को भूमिका निर्वाह गरेका थिए ।
प्रतियोगिता समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका बेलडाँडी गाउँपालिकाका अध्यक्ष हरिश चन्द्र रानाले यस्ता कार्यक्रमले युवा तथा बालबालिकाहरुमा सकारात्मक प्रतिस्पर्धी बन्न र निखारिन सहयोगी सिद्ध हुने बताए । विशिष्ट अतिथि समेत रहेकी बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथले यी प्रतियोगिताहरू मनोरञ्जनका साथै कला प्रदर्शन गर्ने र स्वास्थ्यका हिसाबले समेत फाइदाजनक रहेको प्रतिक्रिया दिएकी छन् । उनलेे सबै प्रतिस्पर्धीहरूलाई उच्च मनोबलका साथ आगामी दिनहरूमा थप सफलताको लागि प्रोत्साहन समेत गरेकी छन् । समापन कार्यक्रममा जनप्रतिनिधी, समाजसेवी, बुद्धिजीवि, सहयोगीदाता, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायत स्थानीयहरूको सहभागिता रहेको थियो । कार्यक्रममा उद्घोषकको भूमिका चेतबहादुर शाहले निर्वाह गरेका थिए ।