चारै वेद पढेर विद्वान् होस् , वेदाङ्गको ज्ञान होस् ।
सारा उपवेदले त्यो चतुर होस् न्यायादि सबै पढोस् ।।
पुराण, धर्म र ज्ञान विज्ञान पढोस्, विख्यात होस् मानले ।
मूर्खै बन्छ भने तथापि धरामा , के गर्नु खै ज्ञानले ? ।।
बर्तन सुनका प्रशस्त घरमा, चाँदीमा त्यो सुत्दछ ।
हीरा मोती धरी अपार धनको, स्वामी बनी कुद्दछ ।।
त्यो देखि लाग्छ कुबेर फेर धनको, जन्म्यो कि संसारमा ।
लोभी भैकन उपयोगहीन धन त्यो, जानेछ बेकारमा ।।
हात्तीसरि बल दाँजिँदो छ तनमा, ठुला तिनै बाहु छन् ।
देखेरै भयभीत हुन्छ दुनियाँ, खम्बा सरी पाउ छन् ।।
देख्दै दैत्य सरि अधिक बलियो, देखिन्छ सूरो नर ।
लाछीझैँ बलवान भाग्छ डरले, के गर्थ्यो खै त्यो तर ? ।।
विद्या व्यर्थै छ मूर्खको जगतमा, जस्तै पढे ता पनि ।
लोभीको धन व्यर्थै सरि जगतमा, जस्तै कमाए पनि ।।
भाग्दछन् लौ बलिया भने त डरले, के गर्नु खै त्यो बल ।
तस्मात् यी तिन जानियोस् धरतीमा, यथार्थ हुन् केवल ।।
-माहेश्वरी भट्ट
भीमदत्त नगरपालिका-१८ कञ्चनपुर