हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको वेदकोट नगरपालिकाले सम्भावित पर्यटकीय क्षेत्र सिद्धसरोवर तालमा छैठौँ नगर सभा सम्पन्न गरेको छ ।
"समृद्ध वेदकोट नगरको आधार; कृषि, उद्योग, पर्यटन र पूर्वाधार" भन्ने मूल नाराका साथ वेदकोट नगरपालिका वडा नम्बर ६ मुसेपानीमा रहेको सिद्धसरोवर ताल परिसरमा वेदकोट नगरपालिकाले शनिबार नगर सभा गरेको नगर प्रमुख अशोक कुमार चन्दले बताउनु भयो । उहाँका अनुसार, वेदकोट नगरपालिकाले हालसम्म गरेका कामहरुको समीक्षा गर्दै अगामी दिनहरुमा गर्ने कार्ययोजनाको बारेमा छलफल गरिएको छ ।
त्यस्तै, छाडा पशुचौपायाको समस्या समाधानका लागि प्रत्येक वडाहरुमा गौशाला निर्माण गर्ने छैठौँ नगर सभाबाट निर्णय गरिएको छ । नगर क्षेत्र भित्र रहेका छाडा पशुचौपायाको व्यवस्थापन गर्न दीर्घकालीन योजना अघि सार्ने नगर प्रमुख चन्दले जानकारी दिनुभयो । नगर सभामा केही नियम कानून टेबुल गर्ने र अहिलेसम्मका योजना मध्ये केही संसोधन गर्ने विषयमा समेत छलफल भएको बताइएको छ ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न टेवा पुर्याउने र नगर क्षेत्र भित्रका सम्भावित पर्यटकीय क्षेत्रहरुको पहिचान गरी प्रचारप्रसार गर्ने उद्देश्यले उक्त क्षेत्रमा नगर सभा आयोजना गरिएको बताइएको छ । यसअघि पनि वेदकोट नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी गत पुस १९ गतेका दिन वेदकोट ताल परिसरमा जनप्रतिनिधि सम्मेलन गरेको थियो ।
वेदकोट ताल, शिव लिङ्गेश्वर धाम, भम्का धाम, पाण्डव ताल, चुनेपानी स्थित शिव मुर्ती, सिद्धसरोवर ताल, वेदकोट भ्यु टावर, छिलछिले झरना, घटाल थान लगायत विभिन्न समुदायका संस्कृति वेदकोटका मुख्य पर्यटकीय आकर्षकका केन्द्र रहेको वेदकोट नगरपालिकाका नगर प्रमुख अशोक कुमार चन्दले जानकारी दिनुभएको छ ।