डडेलधुरा, ११ कार्तिक । डडेलधुरामा दसैँको अवधिमा नियम विपरीत सञ्चालन भएका एक सय ११ सवारी साधन कारबाहीमा परेका छन् । नियम विपरीत सञ्चालित सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराका प्रमुख, प्रहरी नायब निरीक्षक भीम बहादुर बोहराले बताए । चाडपर्वका बेला सवारी दुर्घटना कम गर्नका लागि सवारी साधन चेकजाँचमा कडाइ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेलधुराले जनाएको छ । ट्राफिक प्रहरीले घटस्थापना देखि दसैँको अन्तिम दिन कोजाग्रत पूर्णिमासम्म ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कारबाही गरेर एक लाख १३ हजार राजस्व समेत सङ्कलन गरेको छ ।
असोज २८ गतेदेखि कार्तिक ११ गतेसम्म सवारी नियम उल्लङ्घन गर्ने, सवारीसाधन चलाउँदा सवारी चालक अनुमति पत्र (लाइसेन्स) नभएका, क्षमता भन्दा धेरै यात्रु बोक्ने, मोटरसाइकलमा दुई जना भन्दा बढी चढ्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउनेहरूलाई कारबाही गरिएको हो । कारबाही पर्नेमा सबै भन्दा बढी साना जिप र मोटरसाइकल रहेका छन् । चाडपर्वको समयमा यात्रुको चाप बढी हुने, झुण्डिएर यात्रा गर्ने र मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने काम भइरहेकाले त्यसलाई कडाइका साथ चेकजाँच गर्ने काम निरन्तर रहेको उनको भनाई छ ।
डडेलधुरामा दसैँको अवधिमा दुई ओटा सवारी दुर्घटना भएका छन् । जसमा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् । सवारी साधन दुर्घटनामा पर्दा यात्रुको गल्ती, ओभरटेक, तीव्र गति, मापसे, मोबाइल फोनको प्रयोग, ओभर लोड, सडकमा छाडा पशु चौपाया, सवारी साधनको यान्त्रिक गडबडी र सडकका कारणले बढी सवारी दुर्घटना हुने गरेको बोहराले बताए । भिडभाड हुने स्थल र टिकट काउन्टरमा हुन सक्ने ठगी तथा आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न सादा पोसाकमा समेत प्रहरी परिचालन गरी निगरानी गरिएका कारण सर्वसाधारण ठगिने क्रम कमी भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रमुख प्रहरी नायब उपरीक्षक दीपक कुमार कार्कीको दाबी छ ।