असत्यमाथि सत्यको विजय भएको प्रतीकको रूपमा दशैँ पर्व भव्यताका साथ मान्ने संस्कृतिको प्रादुर्भाव भएको युगौँ बितिसकेको छ । ज्ञानरूपी दियो बालेर अन्धकाररूपी अज्ञानतालाई परास्त गरी आत्मारूपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह, अहङ्कारजन्य रावण र महिषासुरजस्ता दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुसी पार्ने दिवसको रूपमा दशैँ पर्वलाई लिने गरिन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामले मनाइने यो दशैँ कहिलेदेखि सुरु भयो, यसको कुनै इतिहास भेटिएको छैन । यो एक्काइसौँ शताब्दीमा पनि मान्छेहरू वन्य र अर्धवन्य अवस्थामा रहेको हामीले भेट्टाउँछौँ । हाम्रा पिता पुर्खाहरू अर्धवन्य अवस्थाबाट विकसित हुँदै कृषि युगमा प्रवेश गरेपछि दशैँ मान्ने परम्परा सुरु भएको हुनुपर्दछ र पछि गएर धार्मिक आवरण ओढाइएको हुनसक्छ भन्ने विद्वान्हरूको मत छ । प्राचीन कालदेखि हिन्दु समाजमा दशैँ पर्व अत्यन्तै महत्वका साथ मनाइने गरिन्छ । देवी पुराणअनुसार सत्ययुगमा महिषासुर नाम गरेको दैत्य सम्राट्ले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरी देवताहरूमाथि आतङ्कपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रह्माको शरणमा गए । ब्रह्माको सल्लाहअनुसार विष्णुसहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफलपछि आ–आफ्नो शक्ति पुञ्ज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रूप धारण ग¥यो । नवदुर्गा भगवतीले नवौँ दिनसम्मको युद्धपछि शण्ड, मुण्ड र रक्तबीजसहित महिषासुरको वध गरे र दशौँ दिनमा विजय उत्सव मनाए । त्यो दिन आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।
अद्भुत रामायण र श्रीमद्देवीभागवत अनुसार अर्को कथा प्रसङ्ग जोडिएको छ, दशैँसँग । रामले रावणको वध गरेर अयोध्या फर्केपछि ठुलो जनसभा भयो । त्यो सभामा रामको जयजयकार र वीरताको बखान चलिरहँदा सीताले मुख लेप्र्याएर व्यङ्ग्य मुस्कान छोडेको दृश्य विश्वामित्रले याद गरेका रहेछन् । जनसभा समाप्त भएपश्चात् विश्वामित्रले सीतासँग सोधे । धेरै बेरको अनुरोधपछि सीताले भनिन्, ‘त्यो जाबो दश टाउके रावणलाई वध गर्दा त रामको वीरताको यत्रो बखान हुन्छ भने सहस्र टाउके अहिरावण र महिरावणलाई वध गरे भने तिमीहरूले के गर्दा हौ ? त्यस कारणले हाँसेकी हुँ ।’ सीताको यो अभिव्यक्तिले राम सभामा ठुलो तरङ्ग पैदा ग¥यो । रामको पुरुषार्थमा धक्का लाग्यो र उनले भने, ‘त्यसो भए म अहिरावर र महिरावणको वध नगरी छोड्दिनँ ।’ रामले प्रतिज्ञा गरे र युद्धको तयारी भयो । घमासानको युद्धमा रामसमेत उनका भाइहरू मुर्छित भए, कोलाहल मच्चियो । त्यही मौकामा सीताले नवदुर्गा भगवतीको रौद्र रूप धारण गरी सहस्र टाउके रावणहरूको वध गरिन् । त्यो समय पनि आश्विन शुक्ल प्रतिपदादेखि नवमी नै परेको थियो र दशमीको दिन विजयोत्सव मनाए । श्रीमद्देवीभागवत र तुलसीकृत रामायणअनुसार लङ्केश्वर रावणलाई पराजित गर्न राम असमर्थ भएपछि शक्ति स्वरुपा भगवती दुर्गाको आह्वान गरे । चैत्र शुक्ल प्रतिपदादेखि नवदुर्गा भवानीको उपासना गर्दै युद्ध गर्दा नवमीको दिन साँझ लङ्कामाथि रामले विजय प्राप्त गरे ।
त्यसैको खुसीयालीमा चैत्र महिनामा दशैँ मनाउँदै आइरहेकोमा गर्मी मौसमको कारणले त्यही दशैँ असोजमा सारिएको भन्ने उक्तिहरू पनि भेटिन्छन् । उपर्युक्त आख्यानहरू तत्कालीन साहित्यकारहरूका साहित्य हुन् । साहित्यमा विम्ब–प्रतीक हुन्छन् नै । विद्वान् समीक्षक तथा पाठकहरूले महिषासुर, रावण, अहिरावर र महिरावण विम्ब–प्रतीकलाई काम, क्रोध, लोभ, मोह, अहङ्कार, मद्, मत्र्सय अर्थात् खराब वा असत्य पक्ष र दुर्गालाई सत्यको प्रतीक भनेर अर्थ लगाएका हुन सक्छन् । । नवदुर्गाका जुन नौ वटा स्वरूप छन्, त्यसमा वैज्ञानिक आधार छन् भन्ने कुरा भर्खरै खुल्न आएको छ । आश्विन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । नवदुर्गाको ध्यान, उपासना, पूजा आदि गरिन्छ, ती नवदुर्गाको वैज्ञानिक स्वरूप स्वामी निशेषानन्दका अनुसार यस प्रकार छ ः १) प्रतिपदामा – शैलपुत्री सम्भावना शक्ति २) द्वितीयामा – ब्रह्मचारिणी चुम्बकीय शक्ति ३ ) तृतीयामा – चन्द्रघण्टा ध्वनि शक्ति ४) चतुर्थीमा – कुष्मान्डारासायनिक शक्ति ५) पञ्चमीमा – स्कन्दमाता आकर्षण शक्ति ६) षष्ठीमा – कात्यायनी ब्रह्माण्डीय केन्द्र शक्ति ७) सप्तमीमा – कालरात्रि प्रसारण शक्ति ८) अष्टमीमा – महागौरी प्रकाश शक्ति ९) नवमीमा – सिद्धिदात्री विद्युतीय शक्ति यी उल्लेख गरिएका शक्तिहरू विश्व ब्रह्माण्डमा र हरेक प्राणीहरूमा विद्यमान छन् । भारतीय हिन्दु र नेपाली हिन्दहरूको दशैँ मनाउने भिन्न भिन्न शैली छन् । दशैँलाई उल्लासमय ढङ्गले १५ दिनसम्म मनाउने नेपाली हिन्दुहरू नै हुन् तापनि जातजाति र भूगोलअनुसार दशैँ मनाउने विधि फरक फरक छन् । हिन्दुको महान् चाड दशैँ भएजस्तै गैरहिन्दूहरू जस्तै उदाहरणको लागि बौद्ध, इसाई, इस्लामहरूको पनि महान् चाड हुन्छन् । जुनसुकै जात, धर्म वा सम्प्रदायले जस्तोसुकै चाडपर्व मनाए पनि त्यसको वैज्ञानिक आधार एउटै रहेको विश्लेषकहरू बताउँछन् । काम, भोजन, आराम, मनोरञ्जन र सुरक्षा – यी सबै मानवीय प्रवृत्ति हुन् । यिनै मानवीय प्रवृत्तिको आधारमा चाडपर्व मनाउनुका आधारहरु विभाजन गरिएको छ :-
१) त्याग्नु, छोड्नु वा हटाउनु : चाडपर्वमा आफ्नो घर आँगन लिपपोत र सरसफाइ गर्नु, रङ्ग रोगन गर्नु, पुरानो वस्तु हटाएर नयाँ वस्तु भित्र्याउनु, पुरानो वस्त्र त्यागेर नयाँ वस्त्र धारण गर्नु, पुरानो विचार त्यागेर नयाँ नवीन सिर्जनाको योजना बनाउनु ।
२) जसरी मोबाइल, घडी आदि बेलाबखत रिचार्ज गरिएन भने त्यो बन्द हुन्छ । त्यसरी नै मानवीय ऊर्जा शक्ति सञ्चय गर्न जरुरी हुन्छ ।
३) आनन्द प्राप्त गर्नु वा मनोरञ्जन गर्नु:- चाडपर्व जीवनको एउटा उत्सव हो । उत्सवमा अनेक परिकार, भोजन र मनोरञ्जनबाट आनन्द प्राप्त गर्न सकिन्छ ।
४) नाता सम्बन्ध पुनः नवीकरण:- नाता सम्बन्ध जीवन भोगाइका क्रममा अनेकौँ कारणले चिसिन सक्छ । चिसिएको सम्बन्धलाई न्यानो बनाउन र न्यानो सम्बन्धलाई अझै गाढा बनाउन चाडपर्व एक महत्त्वपूर्ण अवसर हो ।
विजया दशमी नवरात्रिको दशौँ दिनलाई विजया दशमी पनि भनिन्छ । सोह्र सामग्रीले भगवती दुर्गा र अरू देवीहरू तथा देवताको पूजा गरी, नौ दिनसम्म गरेको पूजाको काममा कुनै त्रुटि भयो कि भनी त्यसलाई पूरा गर्न तामाको थालीमा चन्दनले अष्ट दल लेखी त्यसका बिचमा माटाका देवीका तीन प्रतिमा वा राता अक्षताका तीन थुप्रा राखी बिचमा अपराजिता देवी, दाहिनेतिर जया देवी, देब्रेतिर विजया देवीको आह्वान र सोह्र सामग्रीले पूजा गरी यथा शक्ति हवन गरी जमरालाई पूजा गरी अनि भगवती दुर्गा, अन्य देवदेवीहरूलाई चढाई आरती र पुष्पाञ्जली गरिन्छ । यति गर्नाले कसैले पनि आफू माथि दमन (विजय) गर्न सक्दैन भन्ने धार्मिक विश्वास छ । त्यसपछि मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरी उठाएर अन्यत्र राख्नुपर्दछ: आवाहनं नजानामि नजानामि विर्जसनम् । पूजां चैव नजानामि क्षम्यतां परमेश्वरी । यसपछि देवीका मूर्तिहरू र नवपत्रिकालाई बाजा, गाजा या वैदिक मन्त्र पढी जलाशयमा लगी सेलाई त्यसपछि घडाका जलले अभिषेक गरी देवीलाई चढाएको रातो अनि सेतो वस्त्रको कपडालाई प्रसादको रूपमा घाँटीमा लगाइन्छ । अनि घरका मुलमान्छेले भगवतीको प्रसाद स्वरूप अवीर र दहीमा मुछेको चामलका टीका निधारमा, जमरा टाउकोमा लगाई दक्षिणा दिई आशीर्वाद दिन्छन् । अनि सपरिवार नातेदारकहाँ तथा मान्यवरकहाँ दशैंको लागि तयार पारी राखिएको नयाँ लुगा लगाई टीका लगाउन जान्छन् । टीका लाउँदा दिने आशिष्
आयू द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे । ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च दुर्योसधने । दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते। विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ॥
अर्थात् द्रोणपुत्र अश्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश हुन्, नहुष राजाको जस्तो ऐश्वर्य, पवनसुत हनुमानको जस्तो गतिशीलता, दुर्योधनको जस्तो मान, सूर्यपुत्र कर्णको जस्तो दानवीरता, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईँलाई प्राप्त होस् भनी मान्यजनबाट आशीर्वचन लिइन्छ ।
दशैमा टिका लगाउँदा महिलालाई दिने आशिष् यस्तो छ :-
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी
दुर्गा शिवा क्षमा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
अर्थ यस प्रकार छ :::जयन्ती देवीको जस्तै महेश्वरीको रूप र विजयशलिनी होस्। मङ्गला देवीको जस्तो स्वतन्त्र ,मुक्ति देवीको रूपमा प्रसिद्धि होस्।काली देवी जसले सम्पूर्ण सृष्टिलाई आफूसँग समयमा लिने हुनु।भद्रकालीको जस्तै भद्र, खुसी, मङ्गल हुनु।कपालिनी देवीको जस्तो दुस्मनहरूका लागि भयानक हुनु।दुर्गाले जस्तै कर्म र उपासनाबाट दुर्गतिको नष्ट गर्नु । क्षमाकी देवीले जस्तै क्षमा दिनु। शिव देवी जस्तै कल्याणकारी र सर्वशक्तिमान् हुनु।धातृ देवीले जस्तै सम्पूर्ण जीवको रक्षा गर्नु। स्वाहा देविले जस्तै हरेक यज्ञ र दानपुण्य गर्नु र स्वधा देवीले जस्तै मानवका हरेक यज्ञ दानपुण्य को सङ्कल्प लिनु!
आफ्नो जीवनको लागि राम्रा राम्रा महत्त्वाकाङ्क्षा बनाउन पाउनु तपाईँको कर्तव्य हो । तपाईँले आफ्नो जीवनको लागि केही राम्रो लक्ष्यहरू तय गर्नु तपाईँको अधिकार हो । तर यो पूर्ण नभएसम्म तपाईँलाई शक्तिशाली देवीको समर्थन नभएसम्म तपाईँले आफ्नो गन्तव्य पाउन सक्नुहुन्न । देवी दुर्गा माताले तपाईँलाई तपाईँको गन्तव्य सजिलो र उत्साहपूर्ण तरिकाले प्राप्त गर्ने वातावरण बनाइदिउन् भन्ने सम्पूर्ण महानुभावहरूमा हार्दिक शुभकामना व्यक्त गर्न गर्दछु ।
माहेश्वरी भट्ट
भीमदत्त नगरपालिका-१८, कञ्चनपुर ।