प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि प्रारम्भ हुने नेपाली हिन्दु धर्मावलम्बीहरूको महान् पर्व बडादसैँ यस वर्ष असोज २८ गते आइतबारदेखि सुरु हुँदै छ यही शुक्ल प्रतिपदालाई नै घटस्थापना भनिन्छ । यसै दिनदेखि नवरात्रि आरम्भ हुन्छ । लिपपोत गरी चोख्याइएको शुद्ध स्थान अथवा मन्दिरमा घटस्थापना गरिन्छ ।घटस्थापनाको दिन विधिपूर्वक घट अर्थात् घडा स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले सो दिनलाई घटस्थापना भन्ने गरिएको हो । यस दिन झिसमिसे बिहानीमै आत्म शुद्धि पश्चात् नदी, खोला, बगर आदि ठाउँमा गई चोखो बालुवा या पञ्चमाटो ल्याई पूजा कोठामा राखी त्यस ठाउँमा जमरा उमार्न जौ छरिन्छ । जौलाई वैदिक यज्ञको लागि अत्यावश्यक वस्तु मानिन्छ ।
माता भगवतीलाई पनि मन पर्ने वनस्पतिमा जमरा पनि एक भएकोले भगवतीलाई खुसी पार्नको निम्ति जमरा उमार्ने प्रचलन प्रारम्भ भएको हो । सुरुमा दीप–कलश–गणेश पूजन गरी माटो वा बालुवामाथि भगवती दुर्गाको आह्वान गर्न जौ छरी त्यसको बीच भागमा भगवती दुर्गाको घडा (कलश) स्थापना गर्नुपर्छ अनि जलपूर्ण कलशमा पञ्चपल्लवको पात चढाइ अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी(सुरक्षा) र महासरस्वती (सृष्टि)को पञ्चोपचारले पूजाआजा गरिन्छ । थालीमा देवी यन्त्र वा अष्ट दल कमल बनाई दुर्गा यन्त्र बनाएको थालीलाई घडामाथि राखेर त्यसमा सुनको, चाँदीको वा अन्य कुनै धातु निर्मित देवी प्रतिमालाई प्राण प्रतिष्ठा गरी स्थापना गरेर आवरण पूजासहित भगवती दुर्गाको पूजा प्रारम्भ गर्नुपर्छ ।
यसपछि भगवती दुर्गाको जप, सप्तशती पारायण गर्ने गरिन्छ । यो शक्तिको उपासना गर्ने विशेष अवसर भएकाले श्रीमद्देवीभागवतको अनुष्ठान पनि प्रारम्भ गर्न सकिन्छ । नवकन्यामध्ये प्रथम कन्याको पूजा, शैलपुत्री भगवतीको विशेष पूजा तथा दर्शन आदि गरिन्छ । यही दिन सामाजिक तथा राष्ट्रिय स्तरमा पनि देवीको मूर्ति स्थापना गरी दुर्गा भवानीको आराधना गरिन्छ । ब्रह्मवैवर्त पुराण भन्ने ग्रन्थका अनुसार वर्णन गरिएका नवदुर्गाहरू यी हुन् : प्रकृति-पूर्व, चण्डिका-आग्नेय, भद्रकाली-दक्षिण, सर्वमङ्गला-वायव्य, वैष्णवी- उत्तर, शिवप्रिया-ईशान, जगदम्बिका- जल, थल र आकाश । यी नामहरूले दुर्गाहरू विभिन्न दिशाका अधिष्ठात्री देवीहरू भएको कुराको चाल पाइन्छ । हाम्रो धर्म, संस्कृति अनुसार घट कलशमै सम्पूर्ण देवीदेवता सप्तसागर, सप्त द्वीप, सम्पूर्ण नदी एवं तीर्थहरू निहित छन्, जुन कुरा कालिका पुराण भन्ने ग्रन्थमा उल्लेख भएको छ । यसका अतिरिक्त घटकलश अष्ट मङ्गलका शुभ चिन्हहरूद्वारा समाहित गरिएको पाइन्छ ।
यिनै आधारहरूको कारण उक्त दिनमा घट कलश स्थापना गरी त्यसमै सम्पूर्ण देवीदेवता, तीर्थ, पावनतम नदी नाला, सप्त सागर, सप्त द्वीप आदि सबैलाई समाहित गरी दसैँ पूजाको थालनी गरिएको हो भन्ने मान्यता रहेको छ । यसैले दसैँको अवसरमा आ-आफ्नै आगमस्थित देवी भगवती जगदम्बाको पूजा गर्नु उपयुक्त मानिन्छ । सो दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजयादशमीका दिनमा भगवती दुर्गाको प्रसाद ग्रहण गरिन्छ । भगवती दुर्गाका तीन रूप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रूपमा पूजाआजा एवम् आराधना गर्ने परम्परा हिन्दु नेपाली समाजमा रहेको छ ।
पूजनीयाजनैर्देवी स्थाने स्थाने पुरे पुरे ।
गृहे गृहेशक्तिपरैर्ग्रामे ग्रामे वने वने ।।
स्नातैःप्रमुदितैर्हृष्टैर्ब्राह्मणै: क्षत्रियैःनृपैः ।
वैश्यैःशूद्रैर्भक्तियुक्तैर्म्लेच्छैरन्त्यैश्चमानवैः ।।
नवरात्रीमा सबै मानिसहरूले देवीको पूजा गर्न सक्छन् र सबैले गर्नु पनि पर्दछ । नवरात्रीको पूजापाठ नित्य भएकाले नगर्दा दोष लाग्छ भने गर्दा विशेष फल प्राप्ति हुन्छ । नित्यकर्म जस्तै नियमित पूजापाठ एवम् जप गर्नुपर्छ । कुनै तिथि क्षय भएको भए कुनै दिन दोहोर्याएर उक्त तिथिको पूजासमेत पूरा गर्न सकिन्छ । भगवती दुर्गाले आसुरी प्रवृत्तिको प्रतीकका रूपमा रहेका चण्ड, मुण्ड, शुम्भ, निशुम्भ र रक्तबीज लगायत राक्षसलाई वध गर्न लिएका नौ रूपको दुर्गा पक्षका अवसरमा विशेष पूजा-आजा र आराधना हुन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्मको १५ दिनलाई दुर्गा पक्ष भनिन्छ ।यस पक्षको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कूष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गरिन्छ । नौ दुर्गाका रूपलाई नवदुर्गा पनि भन्ने गरिन्छ ।
प्रथमं शैलपुत्री च द्वितीयं ब्रह्मचारिणी ।
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनीति च ।
सप्तमं कालरात्रीति महागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गा: प्रकृर्तिता: ।
दुर्गादेवीले आसुरी एवम् राक्षसी प्रवृत्तिबाट मानवलाई जोगाएकाले समस्त मानव जातिले नै पूजा आराधना गर्ने शास्त्रीय विधान छ । दुर्गा पूजा र दसैँ पर्व कुनै जात एवं धर्म विशेषको भनी शास्त्रीय रूपमा प्रमाण उपलब्ध छैन l यो मानव मात्रको कल्याणका पक्षमा काम गर्ने शक्तिको प्रतीकका रूपमा मनाइन्छ l यस पर्वलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाउनुपर्छ l
माहेश्वरी भट्ट
भीमदत्त नगरपालिका-१८, कञ्चनपुर