हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ असोज । कञ्चनपुरको बेलौरीमा लागु औषध विरुद्धको महाअभियान सुरु गरिएको छ । बेलौरी नगरपालिका कार्यालय र इलाका प्रहरी कार्यालय बेलौरीको संयुक्त आयोजनामा शुक्रबार बेलौरीको खुलामञ्चमा वृहत् कार्यक्रम गरी लागु औषध विरुद्धको महाअभियान थालिएको छ । भारतसँग सीमा जोडिएको बेलौरीमा पछिल्ला वर्षहरूमा लागु औषध ओसारपसार, कारोबार एवं सेवनका घटना बढ्दै गएपछि त्यसको रोकथाम र नागरिक सचेतनाका लागि उक्त अभियान सुरु गरिएको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले बताउनु भयो । समाजमा विकराल रूपमा देखिएको लागु औषधको कारोबारलाई नियन्त्रणका लागि अभियान थालिएको उहाँको भनाइ छ । कञ्चनपुरको दक्षिण क्षेत्रका अन्य पालिका, प्रदेश सरकार र सङ्घीय सरकार लगायत सरोकारवालाहरूसँग समेत समन्वय गरी यस क्षेत्रलाई लागु औषध मुक्त गराउने उद्देश्य रहेको नगर प्रमुख चौधरीले बताउनु भएको छ ।

सुदूरपश्चिम प्रदेशभर गत आर्थिक वर्षमा लागु औषध सम्बन्धी ५४० वटा मुद्दामा ८६० जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । १६ देखि ३० वर्ष उमेर समूहका व्यक्तिहरू लागु औषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख, प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभयो । पछिल्ला दिनहरूमा सुदूरपश्चिममा लागु औषधको कारोबार भयावह अवस्थामा रहेको छ । लागु औषध नियन्त्रणका लागि सरोकारवालासँगको सहकार्यमा कार्यक्रम गरेर नियन्त्रणको प्रयास गरिरहेको नेपाल प्रहरीका सुदूरपश्चिम प्रदेश प्रमुख एवं प्रहरी नायव महानिरीक्षक भरत बोहराको दाबी छ ।
सुदूरपश्चिमभर नै लागु औषधका कारण समाज ध्वस्त भइरहेका बेला समयमै नियन्त्रणका लागि सरोकारवाला निकायले ऐक्यबद्धता जनाएका छन् । सुदूरपश्चिम प्रदेशमै लागु औषधको अवैधानिक ओसारपसार र कारोबार जरैदेखि निर्मूल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासँग सहकार्य समन्वय गर्ने जनाएको छ । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले लागु औषध नियन्त्रणका लागि स्थानीय स्तरमा बेलौरीजस्तै अन्य पालिकाहरूले समेत अभियान सञ्चालनमा जोड दिनुभयो । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शिवराज भट्टले लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाले थालेको कामकारबाहीमा समेत सरोकारवालाले सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै, सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साउदले लागु औषध जरैदेखि निर्मूल पार्नका लागि प्रदेश सरकारले समेत पालिकासँग सहकार्य गरेर योजना बनाइरहेको सुनाउनु भयो ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्यत्रय दिवानसिंह बिष्ट, वीर बहादुर थापा (पाताल), ओमविक्रम भाट (सरल) लगायत सरोकारवालाहरूले समेत लागु औषध नियन्त्रणका लागि बेलौरी नगरपालिकाले थालेको अभियान सह्रानीय भएको प्रशंसा गर्दै अभियानमा साथ समर्थन जनाएका छन् । बेलौरी नगरपालिकाले इलाका प्रहरी कार्यालय बेलौरी, सामुदायिक तथा संस्थागत विद्यालय, सामाजिक संघसंस्थाहरू, भलमन्सा, कृषक समूह, स्वास्थ्य स्वयंसेविका लयागतसँगको सहकार्यमा अभियानको शुभारम्भ गरेको छ । उक्त अभियानले लागु औषध सम्बन्धी जनचेतना अभिवृद्धि भई आगामी दिनहरूमा रोकथाममा टेवा पुग्ने अपेक्षा गरिएको छ । सोही कार्यक्रमकाबिच, बेलौरी नगरपालिकाले इलाका प्रहरी कार्यालय बेलौरीलाई लागु औषध सेवन गरेको पत्ता लगाउने एनिलाइजर मेसिन हस्तान्तरण गरेको छ ।