काठमाडौँ, २३ असोज । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। उहाँले मंगलबार दिउँसो समकक्षी कोहेनसँग टेलिफोनमा कुराकानी गर्नुभएको हो । कुराकानीका क्रममा परराष्ट्र मन्त्री साउदले इजरायली विदेश मन्त्री कोहेनसँग विद्रोही हमास समूहको आक्रमणमा परी १० जना नेपाली नागरिकको मृत्युले स्तब्ध बनाएको बताउनुभयो । ‘महामहिम ज्यू १० नेपालीको मृत्युको खबरले हामीहरूलाई स्तब्ध बनाएको छ। उहाँहरू विश्वविद्यालयका विद्यार्थी हुनुहुन्थ्यो,’ कुराकानीका क्रममा साउदले भन्नुभयो, ‘अर्न एन्ड लर्न कार्यक्रम अन्तर्गत उहाँहरू इजरायल जानुभएको थियो। दुःखद घटनाले गर्दा उहाँहरूका घरपरिवारका सदस्यहरू दुःखी र चिन्तित हुनुहुन्छ ।’
परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका नेपाली नागरिकहरूको शव नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेश मन्त्री कोहेनसँग आग्रह गर्नुभयो । ‘महामहिम ज्यू, अब हामीले मृतकहरूको पार्थिव शरीरलाई जति सक्दो चाँडो स्वदेश फर्काउन आवश्यक छ। थोरै ढिलाइले पनि घरपरिवारका सदस्यहरूमा झन् पीडा थप्ने छ,’ उहाँले भन्नुभयो, ‘तसर्थ शवहरू नेपाल फिर्ताका लागि आवश्यक समन्वय र सहजीकरण गरिदिन आग्रह गर्छु। त्यसका लागि इजरायल सरकारसँग नेपाली दूतावासले आवश्यक समन्वय गर्ने छ ।’
मन्त्री साउदले आक्रमणमा परी घाइते भएका चार जना नेपाली नागरिकको स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि इजरायल सरकारसँग आग्रह गर्नुभयो । उहाँले आक्रमण पछि सम्पर्कविहीन भएका एक नेपाली नागरिकको अवस्था पत्ता लगाइदिन पनि सरकारका तर्फबाट अनुरोध गर्नुभयो । ‘इजरायलका अस्पतालमा ४ जना नेपालीको उपचार भइरहेको छ । उहाँहरूको उचित स्वास्थ्य उपचार र हेरचाहमा सहयोग गरिदिन पनि आग्रह गर्दछु,’ मन्त्री साउदले भन्नुभयो, ‘एक जना नेपाली अझै सम्पर्कविहीन छन् । उहाँको अवस्था पत्ता लगाउन इजरायल सरकारसँग सम्पूर्ण सहयोग गरिदिन पनि नेपाल सरकार अनुरोध गर्दछ ।’ मन्त्री साउदले इजरायली सेनाले सुरक्षित स्थानमा स्थानान्तरण गरेका नेपाली नागरिकहरूलाई खानपिनलगायतका आधारभूत आवश्यकताका लागि सहयोग गरिदिन पनि मन्त्री कोहेनसँग आग्रह गर्नुभयो ।
‘अहिलेसम्म अन्य नेपाली सुरक्षित अवस्थामा रहेका जानकारी पाएका छौँ । यद्यपि, उहाँहरूमध्ये धेरै जना बङ्करमा बसिरहनुभएको जानकारी प्राप्त भएको छ,’ संवादका क्रममा उहाँले भन्नुभयो, ‘उहाँहरू खाना र पानी जस्ता आधारभूत आवश्यकताका लागि निरन्तर साथीभाइ र परिवारलाई फोन गरिरहनुभएको छ। यस विषयमा पनि उचित सहयोगका लागि हामीले इजरायल सरकारसँग आशा गरेका छौँ ।’ बङ्करमा बसेका केही नागरिकहरूले सुरक्षित वासस्थानका लागि आग्रह गरिरहेका पनि मन्त्री कोहेनलाई जानकारी गराउनुभयो। ‘यी मध्ये केही व्यक्तिहरूले अर्को सुरक्षित वासस्थानका लागि आग्रह गर्नुभएको छ,’ साउदले भन्नुभयो, ‘हाम्रो दूतावासले तपाईँका अधिकारीहरूसँग निरन्तर समन्वय गरिरहनुभएको छ। उहाँहरूको सुरक्षित क्षेत्रमा स्थानान्तरणका लागि तपाईँहरूको सहयोग महत्त्वपूर्ण छ।’
मन्त्री साउदले परराष्ट्र मन्त्रालयले इजरायलमा रहेका नेपाली नागरिकहरूको विवरण सङ्कलन गरिरहेको र विवरण सङ्कलन भएपछि सहजीकरणका लागि इजरायल सरकारसँग आवश्यक सहयोगका लागि आग्रह गर्ने पनि बताउनुभयो । ‘हामी घर फर्कन चाहने हाम्रा नागरिकहरूको विवरण सङ्कलन गरिरहेका छौँ । पूर्ण विवरण सङ्कलन भएपछि नेपाल सरकार सहजीकरणका लागि इजरायल सरकार समक्ष आवश्यक सहयोगका लागि आग्रह गर्ने छ,’ उहाँले भन्नुभयो । कुराकानीका क्रममा मन्त्री साउदले हमास समूहले गरेको आक्रमणबाट भएको धनजनको क्षतिप्रति सहानुभूति व्यक्त गर्दै दुःखद घडीमा नेपाल सरकार इजरायल सरकारसँग ऐक्यबद्ध रहेको पनि बताउनुभयो ।
इजरायली विदेश मन्त्री कोहेनले हमास समूहलाई आतङ्ककारीको संज्ञा दिँदै उनीहरूको आक्रमणमा परी १० जना नेपालीले ज्यान गुमाउनु परेको प्रति समवेदना व्यक्त गर्दै घाइते नेपाली नागरिकको स्वास्थ्य लाभको कामना गर्नुभयो । उहाँले इजरायल अहिले कठिन मोडमा रहेको पनि बताउनुभयो । मन्त्री कोहेनले १० जना नेपाली नागरिकको शव नेपाल फिर्ती, इजरायलमा रहेका नेपालीको सुरक्षा, घर फर्किन चाहने नेपालीलाई फर्काउने विषयमा इजरायल सरकारले उच्चतम सहयोग गर्ने आश्वासन दिनुभयो ।
यसै सन्दर्भमा मंगलबार साँझ इजरायल स्थित नेपाली राजदूतावासले एक विज्ञप्ति जारी गर्दै इजरायल घटनाबारे थप जानकारी दिएको छ ।
यस्तो छ विज्ञप्ति ।।