काठमाडौँ, २२ असोज । नेपाल सरकारका परराष्ट्र मन्त्री एनपी साउदको अध्यक्षतामा सोमबार बिहान बसेको समन्वय संयन्त्रको बैठकले इजरायलको विभिन्न ठाउँमा रहेका नेपालीहरूको अवस्था, उहाँहरूको सुरक्षा, नेपाल फर्कन चाहनेहरूलाई उद्धार गरी नेपाल फिर्ता गर्ने र निधन भएका १० जना नेपाली विद्यार्थीहरूको शव नेपाल ल्याउने लगायतका विषयमा नेपाल सरकारलाई आवश्यक निर्णयका लागि सिफारिस गर्ने निर्णय गरेको मन्त्रालयले जनाएको छ ।
सम्पर्कविहीन अवस्थामा रहेका कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ३ का विपिन जोशीको इजरायल सरकारका सम्बन्धित निकायसँगको समन्वयमा खोजी कार्य जारी रहेको परराष्ट्र मन्त्री एनपी साउदले जानकारी दिनुभयो । जोखिमयुक्त स्थानमा रहेकामध्ये दुई वटा समूहका विद्यार्थीहरूलाई इजरायलस्थित नेपाली राजदूतावासको पहलमा तेल अविबमा स्थानान्तरण गरिएको पनि उहाँले बताउनु भएको छ । अन्य विद्यार्थीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य भइरहेको छ । साथै, नेपाली राजदूतावासले नेपाल फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन रजिष्ट्रेशन प्रणालीमार्फत सङ्कलन गरिरहेको छ । आफू रहेको स्थानबाट सुरक्षित स्थानमा स्थानान्तरण हुन, उद्धार हुन तथा नेपाल फर्कन चाहने नेपालीहरूले नेपाली राजदूतावास, तेल अविबले खुला गरेको अनलाइन रजिष्ट्रेशन प्रणालीमा आफ्नो विवरण यथाशीघ्र प्रविष्ट गर्न पनि परराष्ट्र मन्त्रालयले अनुरोध गरेको छ ।
सोमबार अपराह्न बसेको नेपाल सरकार, मन्त्रिपरिषद्को बैठकले निम्न निर्णयहरू गरेको छ :
१) मिति २०८० असोज २० गते दक्षिण इजरायलको किबुज अलुमिम भन्ने स्थानमा प्यालेष्टाइनको हमास समूहले गरेको आक्रमणमा परी दश जना नेपालीहरूको दुःखद निधन भएकोमा मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्ने र घाइते भएका व्यक्तिहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने।
२) यस अकल्पनीय घटनामा दिवङ्गत हुनुभएका नेपालीहरूप्रति सम्मान व्यक्त गर्न २०८० असोज २३ गते राष्ट्रिय शोक घोषणा गरी देशभरका सरकारी कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाउने।
३) परराष्ट्र मन्त्रालयले इजरायल सरकारसँग समन्वय गरी यस घटनामा निधन भएका नेपालीहरूको शव यथाशीघ्र स्वदेश ल्याउने ।
४) यस घटनामा परी निधन भएका नेपालीहरूको परिवारलाई राहत स्वरूप प्रति परिवार दश लाख रुपैयाँ उपलब्ध गराउने, उक्त रकम अर्थ मन्त्रालयले गृह मन्त्रालयमार्फत निकासा दिने ।
५) इजरायलस्थित नेपाली राजदूतावासले इजरायल सरकारसँगको समन्वय र सहयोगमा यस घटनामा परी बेपत्ता भएका नेपालीको खोजीमा तीव्रता दिने एवं घाइतेहरूको तत्काल उपचारका लागि आवश्यक समन्वय र सहजीकरण गर्ने ।
६) इजरायलस्थित नेपाली राजदूतावासले स्वदेश फर्कन चाहने नेपालीहरूको विवरण अनलाइन प्रणालीमार्फत सङ्कलन गरी तत्काल परराष्ट्र मन्त्रालयमा पठाउने । स्वदेश फर्कन चाहने इजरायलमा रहनुभएका नेपालीहरूलाई उक्त प्रणालीमा आफ्नो विवरण तत्काल प्रविष्ट गर्न अनुरोध गर्ने ।
७) अध्ययनलगायत अन्य प्रयोजनका लागि इजरायलमा रहेका नेपालीहरूलाई नेपाल आउन चाहेमा नेपाल सरकारले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सको विमान चार्टर गरी यथाशीघ्र नेपाल ल्याउने प्रबन्ध गर्ने ।
८) इजरायलमा रहेका नेपालीहरूको उद्धार तथा स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रु भाषा जान्ने स्थानीय व्यक्तिलाई बढीमा तीन महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने ।
९) इजरायलस्थित नेपाली दूतावासले इजरायलको जोखिमयुक्त क्षेत्रबाट नेपालीहरूको सुरक्षित उद्धार गर्न समन्वय र सहजीकरण गर्ने । नेपाल फर्कन चाहने नेपालीहरूलाई नेपाल फर्काउने अवधिसम्म अस्थायी ट्रान्जिट होम स्थापना गरी व्यवस्थापन गर्न इजरायलस्थित नेपाली राजदूतावासलाई स्वीकृति दिने ।
१०) इजरायलमा रहेका नेपालीहरूको उद्धारको लागि आवश्यकताअनुसार इजरायल सरकार एवं छिमेकीलगायत अन्य मित्र राष्ट्रहरूसमेतको सहयोग लिने ।
११) यस घटनाका सम्बन्धमा मानवीय संवेदनशीलता, परिवारजनमा पर्ने मानसिक आघात तथा समाजमा पर्ने असरसमेतलाई ध्यानमा राखी असान्दर्भिक र असंवेदनशील सामग्रीहरू सञ्चार माध्यम र सामाजिक सञ्जालमार्फत प्रवाह नगर्न र आ–आफ्नो क्षेत्रबाट जिम्मेवार भूमिका निर्वाह गर्न सबैलाई आह्वान गर्ने ।