हरिश चन्द्र बाग, कञ्चनपुर, १० माघ । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टको घरमा तोडफोडको प्रयास गर्ने समूहलाई कारवाही गर्न माग गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रवक्ता राजेन्द्र पाण्डेयले शुक्रबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै चम्मन चोकमा टिप्पर दुर्घटनामा परी एक महिलाको ज्यान गएको विषयलाई लिएर नगर प्रमुख सुरेन्द्र विष्टको घर तोडफोडको प्रयास गर्ने समूहलाई कानुनी कारवाही गर्न माग गर्नु भएको छ । प्रवक्ता पाण्डेयले शुक्रबार प्रेस विज्ञप्ती प्रकाशित गरी दुर्घटनामा युवतीको मृत्यु भएकोमा दुुःख व्यक्त गर्दै नगर प्रमुख विष्टको घर तोडफोडको प्रयास र गालीगलौज गरिएको घटनाको निन्दा गर्दै खेद व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि बिहीबार नगर प्रमुख विष्ट डोटी भएको बेलामा बिहीबार अपराह्न चम्मन चोकमा टिप्परको ठक्करबाट जनज्योति क्याम्पसमा अध्ययनरत रमिता भट्टको निधन भएपछि साँझ घर तोडफोडको प्रयास गरिएको थियो । नगर प्रमुख विष्ट घर बाहिर रहेको समयमा तोडफोडको प्रयास र गालीगलौज गरिएको घटनालाई अमानवीय, हिंसात्मक र ध्वंसात्मक भनी प्रवक्ता पाण्डेयले निन्दा गर्नु भएको छ । विज्ञप्तीमा तोडफोडको प्रयास गर्ने समूहमाथि छानबिन गरी कानुनी कारवाही गर्न माग गरिएको छ ।
‘राजनीतिक पूर्वाग्रह राखेर नगर प्रमुखज्यूको परिवार रहेको आफ्नै निवास बाहिर हुलहुज्जत, गालीगलौज, ढुङ्गामुढा साथै तोडफोड प्रयास गर्ने जस्ता अमानवीय, हिंसात्मक र ध्वंसाँत्मक जस्ता क्रियाकलाप गरिएको घटना प्रति यस भीमदत्त नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तिमा भनिएको छ,‘ यसरी राजनीतिक अवाञ्छित क्रियाकलाप गरी बेकसुर घर परिवारलाई मानसिक रुपमा तर्साउन गरिएका घटनामा संलग्नहरुलाई तत्काल कारवाहीको प्रक्रियामा ल्याउन स्थानीय प्रशासनलाई अनुरोध गर्दछौँ ।’
नगरपालिकाले दुर्घटनामा परी ज्यान गुमाएकी रमिता भट्टलाई श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको छ । विज्ञप्तिमा टिप्पर चालकलाई कानुनी कारवाहीमा ल्याउन समेत माग गरिएको छ ।