हरिश चन्द्र बाग, कञ्चनपुर, १० माघ । नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले प्रत्येक स्थानीय तहहरूमा कम्तिमा पनि एउटा नमूना विद्यालयका रूपमा स्थापित गर्ने सरकारको नीति रहेको बताउनु भएको छ । यसअघि एक निर्वाचन क्षेत्र, एक नमूना विद्यालयको अवधारणामा सरकारले काम गरिरहेको भएपनि अहिले त्यो कम हुने बताउनु हुँदै उहाँले अब एक स्थानीय तह, एक नमूना विद्यालय सरकारको योजना रहेको उल्लेख गर्नुभयो ।
कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ रामनगरमा रहेको श्री जन नमूना माविको नमूना विद्यालय शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सबै विद्यालयले आफ्नो गुरूयोजना बनाई कार्य गरे सरकारले नै नमूना घोषणा गरिरहनु नपर्ने बताउनु भयो । सरकारले ल्याएको नयाँ शिक्षा नीति कार्यान्वयनको चरणमा रहेको उल्लेख गर्नुहुँदै मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर बढाउन सबैले सकारात्मक सोचको विकास गर्नुपर्ने धारणा राख्नु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको स्तरवृद्धिका लागि पहल गर्ने बताउनु भएको छ । महाकाली बहुमुखी क्याम्पसमा स्नातकोत्तर तह सञ्चालन र अन्य आवश्यक व्यवस्थापनका लागि क्याम्पस सञ्चालक समितिका अध्यक्ष हरेन्द्र सिंह बिष्टले बुझाउनु भएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री पोखरेलले सम्बन्धित निकायमा पहल गर्ने सकारात्मक संकेत देखाउनु भएको छ ।
त्यस्तै, मन्त्री पोखरेलले शुक्रबार नै कञ्चनपुरको पुनर्वासमा कृषि क्याम्पस स्थापनाका लागि स्थलगत अवलोकन गर्नुका साथै पुनर्वास जनता मावि र रामबुद्ध मावि तथा बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको स्थलगत अवलोकन गर्नुभएको छ । त्यस्तै, शान्ति मावि शान्तिपुर बेलौरीको चारकोठे भवनको समेत उद्घाटन गर्नुभयो ।
मन्त्री पोखरेललाई कञ्चनपुरको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरी र लालझाडी गाउँपालिकाका अध्यक्ष मदनसेन बडायकका साथै राहत शिक्षकहरू र विभिन्न शैक्षिक संस्थाहरूले ज्ञापन पत्र हस्तान्तरण गरेको बताइएको छ ।