हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ असोज । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नदी तथा खोला नालाबाट गरिने नदीजन्य पदार्थको उत्खननमा रोक लगाएको छ । भीमदत्त नगर कार्यपालिकाको बैठकले अर्को निर्णय नभएसम्मका लागि भीमदत्त नगरपालिका क्षेत्र भित्रका नदी तथा खोलाहरूबाट नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटो) उत्खनन, सङ्कलन र बिक्री वितरण गर्ने कार्यमा रोक लगाइएको प्रमुख प्रशासकीय अधिकृत याम नारायण गौलीले जानकारी दिनु भएको छ ।
उहाँका अनुसार, महाकाली नदीको हकमा वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) को कार्य सुदूरपश्चिम प्रदेश स्थित उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा अध्ययनको क्रममा रहेको र महाकाली नदी बाहेक अन्य नदी तथा खोलाहरूको हकमा प्रारम्भिक वातावरणीय परीक्षण पुनरावलोकन (आइइइ रिभ्यु) को क्रममा रहेको छ ।
त्यस कारण हाललाई भीमदत्त नगरपालिका क्षेत्र अन्तर्गतका नदी तथा खोलाहरूमा नदीजन्य पदार्थ (ढुङ्गा, गिट्टी, बालुवा, ग्राभेल, माटो) को उत्खनन, सङ्कलन तथा बिक्री वितरणका लागि ठेक्का बन्दोबस्तको कार्य गर्न केही समय लाग्ने भीमदत्त नगरपालिकाले जनाएको छ । वर्षातको समयमा असारदेखि भदौ मसान्तसम्म नदीजन्य पदार्थको उत्खननमा प्रशासनले नै रोक लगाएको भए पनि असोज १ गतेदेखि अन्य क्षेत्रका नदी तथा खोला नालाहरूमा भने नियमानुसार नदीजन्य पदार्थको उत्खनन खुला भइसकेको छ ।