हरिश्चन्द्र बाग, कञ्चनपुर । भू उपयोग नियमावली, २०७९ अनुसार कृषि क्षेत्रमा वर्गीकृत जमिन लगातार तीन वर्षसम्म बाँझो राखेमा कसुर गरेको मानिने व्यवस्था छ । तर, कञ्चनपुरको बेलडाँडीमा दुई दशकयता डेढ हजार बिघाभन्दा बढी उर्वर भूमि सरकारकै कारण बाँझो छ । सिँचाइका लागि नहर विस्तार भए पनि सरकारले व्यवस्थित नगर्दा नहर सिपेज भएर डेढ हजार बिघा जमिन दलदलमा परिणत भएको हो ।
कञ्चनपुरको दक्षिणी क्षेत्रका किसानलाई सिँचाई सुविधा पुर्याउने उद्देश्यले सरकारले २०५४ सालदेखि महाकाली सिँचाइ दोस्रो चरणको नहर निर्माण सुरु गर्यो । नहरमा पानी छोडेपछि व्यवस्थित नहर नभएकै कारण सिपेज भएर २०५८ सालदेखि बेलडाँडीको खेतीयोग्य जमिन दलदलमा परिणत हुन थाल्यो । नहर सिपेज भएसँगै पूर्वमा झर्ना खोला र पश्चिममा चौधर नदीको पानी समेत पस्दा उर्वर भूमि दलदल, बगर र सिमसारमा परिणत भएको हो । जसका कारण बेलडाँडी गाउँपालिकाका पाँच ओटै वडामा गरी डेढ हजार बिघा भन्दा बढी जमिन दुई दशकयता बाँझो छ ।
तीनै तहका सरकारले कागजमा कृषिलाई प्राथमिकतामा राखे पनि व्यवहारमा लागू नहुँदा जमिन भएर पनि नागरिकले उपभोग गर्न पाएका छैनन् । बगर र सिमसारमा परिणत भएको जमिनको विषयमा सरकारले चासो नदिँदा एकातिर किसान मारमा परेका छन् भने अर्कोतिर उत्पादन घटेकोले खाद्यान्न आयातमा राज्यलाई थप आर्थिक भार थपिएको छ । उर्वरा भूमि दलदलमा परिणत भएपछि घरपरिवारका लागि खाद्यान्नको जोहो गर्न यहाँका युवा भारतमा मजदुरी गर्न बाध्य छन् ।
एक समय थियो, बेलडाँडीका किसानहरूले खेतमा नगदे बाली लगाएर वार्षिक लाखौँ रकम आम्दानी गर्दथे । त्यही खेत अहिले दलदलमा परिणत भएपछि किसानहरू बाँझो जमिन हेरेरै चित्त बुझाइरहेका छन् । दलदल कम भएको ठाउँमा जोखिम मोलेरै महिलाहरूले घाँस तथा पटेरो काट्ने गरेका छन् । बेलडाँडी गाउँपालिकाले यसअघि चार वर्ष अघि सिमसार व्यवस्थापनका लागि डिपिआर तयार पारेको थियो । तर त्यसपछि कुनै काम भएको देखिँदैन । अहिलेका नयाँ जनप्रतिनिधिहरूले समेत कार्यपालिकाको बैठकबाट डिपिआर तयार गर्ने निर्णय गरेका छन् ।
केही वर्षअघि सरकारी तथा गैरसरकारी निकायको पहलमा सिमसार जमिनमा नाला निर्माण गरेपछि केही जमिन पुनः खेतीयोग्य भए पनि अझ धेरै जमिन बाँझै छ । खेतीयोग्य जमिन यसरी दलदलमा परिणत भएको दुई दशकभन्दा लामो समय बितिसक्यो । तर राज्य संयन्त्रले हालसम्म यसको निकासतर्फ ध्यान दिन सकेको छैन । यसतर्फ तीनै तहका सरकारको ध्यान केन्द्रित होस् ।