कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिका वडा नम्बर १ मा अल स्टार युवा क्लबले आयोजना गरेको छैटौँ संस्करणको बेलडाँडी खुला फुटबल प्रतियोगिताको उपाधि झिलमिलाले हात पारेको छ । सुदूरपश्चिमेलीहरूको महान् पर्व गौराको उपलक्ष्यमा अल स्टार युवा क्लब बेलडाँडीले भदौ १८ गतेदेखि २७ गतेसम्म सञ्चालन गरेको प्रतियोगिता अन्तर्गत बुधबार भएको अन्तिम खेलमा सिंहपाल युवा क्लब बेलडाँडी-२ र झिलमिला युवा समाज बेलडाँडी-५ बिच रोमाञ्चक खेल भएको थियोे । झिलमिलाले ५-० गोलको अन्तरले सिंहपाल युवा क्लब लाई पराजित गर्दै उपाधि हात पारेको आयोजक क्लबका सचिव धन बहादुर महताले बताउनु भयो ।
प्रतियोगिताको विजेता टिमले नगद रु. ७५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडल हात पारेको छ भने उपविजेता टिमले नगद रु. ४५ हजार सहित ट्रफी, प्रमाणपत्र र मेडलमा चित्त बुझाएको छ । 'स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद' भन्ने मूल नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको बेलडाँडी खुल्ला फुटबल प्रतियोगितामा जम्मा २० टिमले सहभागिता जनाएको क्लबका अध्यक्ष लोक बहादुर बलायरले जानकारी दिनुभयो ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्स झिलमिलाका मोहन गिरी, उत्कृष्ट मिड्फिल्डर करन पाल, उत्कृष्ट फोर्वाड करन देव पुरी, उदयमान खेलाडी अल स्टार युवा क्लब "ए" का नृप चन्द रहनुभयो । प्रतियोगिता अवधिभर सर्वाधिक गोलकर्ता झिलमिलाका धिरेन्द्र बहादुर शाहले १२ गोल गर्नुभयो । प्रतियोगिताको उत्कृष्ट खेलाडी झिलमिलाका भुवन जोशी र उत्कृष्ट गोलरक्षक सिंहपालका नीरज थापा मगर रहनुभयो ।
अल स्टार युवा क्लबका अध्यक्ष लोक बहादुर बलायरको सभापतित्वमा आयोजित समापन समारोहमा प्रमुख अतिथि बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र राना, विशिष्ट अतिथि बेदडाँडी गाउँपालिकाका उपाध्यक्ष शान्ति नाथ सहित बेलडाँडी गाउँपालिका वडा नम्बर १ का अध्यक्ष गज बहादुर बिष्ट, वडा नम्बर २ का अध्यक्ष नारदसिंह उर्याल, वडा नम्बर ५ का अध्यक्ष इन्द्र बहादुर खड्का लगायत समाजसेवी, बुद्धिजीवी, खेल प्रेमी,खेलाडी, पत्रकार र क्लबका प्रतिनिधिको उपस्थिति रहेको थियो । सो समापन कार्यक्रमको सहजीकरण अल स्टार युवा क्लबका सहसचिव दीपक कोइरालाले गर्नुभएको थियो ।