हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ भदौ । कञ्चनपुरको बेलौरीमा सामाजिक सचेतीकरण कार्यक्रम गरिएको छ । नर्वे गभर्न्मेन्टको आर्थिक सहयोगमा शान्ति पुनर्स्थापना गृहले सञ्चालन गरेको एक्सचेन्ज फर चेन्ज परियोजना अन्तर्गत बेलौरी स्थित कल्याण माविमा मंगलबार सामाजिक सचेतीकरण कार्यक्रम गरिएको हो । नर्वेको नोरेक, भारतको मिलान फाउन्डेसन र नेपालको शान्ति पुनर्स्थापना गृहको संयुक्त आयोजनामा एक्सचेन्ज फर चेन्ज परियोजना अन्तर्गत कार्यक्रम गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरू समक्ष मानव बेचबिखन तथा ओसारपसार र लागू औषध सम्बन्धी नाटक तथा श्रव्य दृश्य सामग्री प्रदर्शन गरिएको शान्ति पुनर्स्थापना गृह सेवा केन्द्र बेलौरीका परामर्शदाता नीतु बिष्टले बताउनु भयो । यसका साथै विद्यार्थीहरूलाई उक्त विषयमा सचेतना समेत प्रवाह गरिएको बताइएको छ । कार्यक्रमको अध्यक्षता गर्नु भएका शान्ति पुनर्स्थापना गृहका क्षेत्रीय संयोजक सञ्जीत सिंहले मानव बेचबिखन रोकथामका क्षेत्रमा गृहले गरिरहेका गतिविधिका बारेमा प्रकाश पार्नुभयो । एक्सचेन्ज फर चेन्ज परियोजना पछिल्लो १० महिनायता सञ्चालनमा रहेको परियोजनाका संयोजक कञ्चन घिमिरेले जानकारी दिनुभएको छ । जस अन्तर्गत नेपाल र भारतका विभिन्न क्षेत्रमा स्वयंसेवक कार्यरत रहेका छन् । उनीहरूले मानव बेचबिखन रोकथाम र किशोर किशोरीहरूलाई सचेतना प्रवाह गर्ने अभियान सञ्चालन गरिरहेका हुन्छन् ।
कार्यक्रममा बेलौरी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष प्रकाश श्रेष्ठ, सशस्त्र प्रहरी बल बेलौरी गुल्मका प्रमुख सशस्त्र प्रहरी नायव उपरीक्षक भरत बहादुर कुँवर, इलाका प्रहरी कार्यालय बेलौरीका सहायक प्रहरी निरीक्षक चन्द्र बहादुर कठायत, बेलौरी नगरपालिकाका महिला विकास निरीक्षक विमला बजगाईँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेश चौधरी, विद्यालयका प्रधानाध्यापक रामसिंह बिष्ट र आयोजक संस्थाका प्रतिनिधिहरूले मानव बेचबिखन, लागू औषध, लैङ्गिक हिंसा जस्ता गतिविधि नियन्त्रण र आआफ्नो कार्यालयले त्यस सम्बन्धी गरिरहेका क्रियाकलापबारे प्रकाश पार्नु भएको छ । कार्यक्रममा शान्ति पुनर्स्थापना गृह कैलाली जिल्ला संयोजक कैलाशो राना सहित कञ्चनपुरको दोधाराचाँदनी, गड्डाचौकी, बेलडाँडी लगायतका क्षेत्रमा कार्यरत परामर्शदाताहरू, मिलान फाउन्डेसन र नोरेकका प्रतिनिधिहरू, पत्रकार, ट्रफिक प्रहरी, विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक लगायतको पनि सहभागिता रहेको थियोे ।