हरिश्चन्द्र बाग, कञ्चनपुर, २१ भदौ । सुदूरपश्चिममा भव्यताका साथ गौरा पर्व मनाइएको छ । बिरुडा पञ्चमीका दिन महिलाहरूले गहुँ, केराउ, गहत, मास र गुरौँस मिसाएर तयार गरिएको बिरुडालाई तामाको भाँडामा धोएर भिजाउने चलन रहेको छ । सोही दिनदेखि औपचारिक रूपमा सुरु भएको गौरा पर्वमा सप्तमीका दिन गौरी-महेश्वरको पूजा गरेर बिहीबार गौरा अष्टमी मनाइएको हो । सुदूरपश्चिममा बस्ने पहाडी समुदाय र सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा पुर्ख्यौली घर भई हाल अन्यत्र बस्ने आस्थावान् विवाहित महिलाहरू पुत्रदा एकादशी (गौर्या एकदशी) को दिन गौरा पर्वका लागि व्रत बस्ने गर्दछन् । उनै महिलाहरूले पञ्चमीका दिन बिरुडा भिजाउने, षष्टीका दिन धुने, सप्तमीका दिन व्रत बसी साँझपख गौरी-महेश्वरको पूजा गर्ने र अष्टमीका दिन अठेवालीपछि दुब्धागो लगाउने गर्दछन् ।
सुदूरपश्चिमेली पहाडी समुदायको महान् चाड गौरा पर्वले सुदूरपश्चिममा रौनकता छाएको छ । गौरा पर्वलाई धार्मिक आस्था र मौलिक विशेषताको पर्वका रूपमा लिने गरिन्छ ।
अष्टमीका दिन रङ्गीचङ्गी कपडा श्रिङ्गारमा सजिएका महिलाहरूले गौरा राख्ने ठाउँमा पञ्च वनस्पतिले बनाइएको गौराको प्रतिमालाई रेशमी कपडाले श्रिङ्गारेर महेश्वरको प्रतिमासँगै आसनमा राखी आठ अध्याय र आठ खण्ड भएको अठेवाली, परम्परागत फाग, गौराको गीति कथा गाउँदै पूजा गरेर गौरा र महेश्वरलाई शिरमा राखी नाच्ने गर्दछन् । यसै अवसरमा देउडा र ठाडो खेल खेलेर रमाइलो गरिन्छ । अष्टमीकै दिन पञ्च बिरुडाले गौरी-महेश्वरको पूजा गर्ने गरिन्छ । सप्तमीका दिन पूजा गर्दा चढाइएका बिरुडा र फलफूललाई अष्टमीका दिन सामूहिक रूपमा जम्मा भएर फट्काउने गरिन्छ ।
जजसले ती फल र बिरुडा समात्न सक्यो, तिनीहरू अरूभन्दा थप सौभाग्यशाली हुने विश्वास गरिन्छ । त्यसपछि व्रतालु महिलाहरूले आफ्ना पुरोहित र परिवारका सदस्यहरूलाई बिरुडा र दुबोले पुज्दै आशीर्वाद दिने गरिन्छ ।
भाद्र कृष्ण पञ्चमी देखि सुरु हुने गौरालाई अँधेरी गौरा र भाद्र शुक्ल पञ्चमीदेखि सुरु हुने गौरालाई उजेली गौरा भन्ने गरिन्छ । अगस्त्योदय हुनु पूर्व गौरा पर्व मनाइने भएको हुँदा यस वर्षको गौरा भाद्र कृष्ण पक्षमा परेको हो । गौरा पर्व सुरु भएदेखि हप्तौँसम्म ठाउँठाउँमा देउडा खेल्ने गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्ष भदौ ७ गते नै गौरा पर्व उल्लेख गरेपछि यस विषयमा लामो समयसम्म बहस नै चलेको थियो । कुनै कुनै ठाउँमा भने समितिकै निर्णयलाई आधिकारिक मानी यसअघि भदौ ७ गते श्रावण शुक्ल पक्षको अष्टमीका दिन नै गौरा पर्व मनाइएको थियो ।