हरिश्चन्द्र बाग, कञ्चनपुर, २० भदौ । मानव बेचबिखन विरुद्धको १७औँ राष्ट्रिय दिवसका अवसरमा आज देशैभर विभिन्न कार्यक्रम गरिएका छन् । यसै गरी कञ्चनपुर जिल्लामा समेत विभिन्न स्थानीय तह, संघसंस्था, सुरक्षा निकायहरूको सहकार्यमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरिएका छन् । ती कार्यक्रमहरूका वक्ताहरूले भारतीय सीमा नाकासँग जोडिएको जिल्ला भएकोले मानव बेचबिखन तथा ओसारपसारको लागि ट्रान्जिट पोइन्टको रूपमा हेरिएको धारणा राखेका छन् । यसका साथै मानव बेचबिखनका घटना न्यूनीकरण र आम नागरिकलाई जनचेतना प्रवाह गर्ने सन्दर्भमा चर्चा समेत गरिएको छ ।
यसैबिच, मानव बेचबिखन विरुद्धको १७ औँ राष्ट्रिय दिवसकै अवसरमा कञ्चनपुरको बेलौरीमा जनचेतनामूलक कार्यक्रम गरिएको छ । शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीको आयोजना तथा बेलौरी नगरपालिका वडा नम्बर ६ को कार्यालयसँगको सहकार्य र बेलौरी नगरपालिका, इलाका प्रहरी कार्यालय बेलौरी, सशस्त्र प्रहरी प्रस्तावित गुल्म बेलौरी, गैरसरकारी संस्था महासंघ नेपाल कञ्चनपुर लगायत मानव बेचबिखन विरुद्ध काम गर्ने विभिन्न संघसंस्थासँगको समन्वयमा सचेतनामूलक कार्यक्रम गरिएको हो । 'सामाजिक न्याय र आर्थिक सशक्तीकरण : मानव बेचबिखनको निर्मुलन' भन्ने मूल नाराका साथ बेलौरी नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको सभा हलमा स्थानीय प्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी, स्वयंसेवक तथा अन्य स्थानीय अगुवाहरूको उपस्थितिमा कार्यक्रम गरिएको शान्ति पुनर्स्थापना गृह सम्पर्क कार्यालय बेलौरीका प्रतिनिधि नितु बिष्टले जानकारी दिनुभएको छ ।
वडाध्यक्ष भोजराज चौधरीको अध्यक्षतामा आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक गौरी प्रसाद जैसीले मानव बेचबिखन के कसरी हुन्छ, उक्त जघन्य अपराधबाट कसरी बच्न सकिन्छ, कानुनी मापदण्ड र चुनौती आदि विषयमा प्रकाश पार्नुभयो । उहाँले मानव बेचबिखन र ओसारपसार सम्बन्धी कुनै गतिविधि भए आफूहरूलाई या सरोकारवाला संघसंस्थाहरूमा खबर गर्न अनुरोध गर्नु भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय बेलौरीले पनि मानव बेचबिखन विरुद्ध सचेतना प्रवाह गर्दै आएको छ । त्यस्तै, सीमा क्षेत्रमा हुने कठिनाइ, खुला सिमानाका कारण हुने आपराधिक गतिविधि बारे सशस्त्र प्रहरी सहायक निरीक्षकले प्रष्ट पार्नु भएको थियो । कार्यक्रममा शान्ति पुनर्स्थापना गृहले गर्दै आएका गतिविधि र पछिल्लो तथ्याङ्क पनि प्रस्तुत गरिएको बताइएको छ । बेलौरी नगरपालिका र वडा कार्यालयले समेत जनचेतनामूलक कार्यक्रमलाई बढाउने प्रतिबद्धता जनाएका छन् । शान्ति पुनर्स्थापना गृहले कञ्चनपुरका अन्य स्थान सहित देशका विभिन्न क्षेत्रमा जनचेतनामूलक कार्यक्रम गरेको खबर प्राप्त भएको छ ।
पछिल्लो समय वैदेशिक रोजगारी शैक्षिक परामर्श अन्तर्देशीय विवाह लगायत विभिन्न बहानामा नेपालीहरू बेचिँदै आएका छन् । नेपालमा नयाँ शैली र मार्ग प्रयोग गरेर मानव बेचबिखन र ओसारपसार भइरहेको छ । कतिपय अवस्थामा जान्ने बुझ्ने हुँदाहुँदै पनि ट्र्यापमा परेर मानव बेचबिखनमा परेको अवस्था आउने गरेको छ । मानव बेचबिखन नियन्त्रणका लागि सरकारी तथा गैर सरकारी तहबाट प्रयास भइरहेको भए पनि अझै पनि समस्या यथावत् नै रहेको छ । मानव बेचबिखन सम्बन्धी विभिन्न कार्यक्रम गर्दै आए पनि यो कार्य नरोकिएको सर्वसाधारणको बुझाइ रहेको छ । नेपालमा सम्बन्धित निकायले मानव बेचबिखन नियन्त्रणका लागि हरबखत कोसिस गर समस्या समाधान गर्न सचेतनामूलक लगायतका थप कार्यक्रम गर्न आवश्यक छ । मानव बेचबिखन विरुद्ध कडा कानुनी व्यवस्थाका साथै पर्याप्त जनचेतना जगाउनु पर्ने अन्त्यतै आवश्यक देखिन्छ ।