हरिश्चन्द्र बाग, कञ्चनपुर, ३० साउन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ कानपुर स्थित टोल विकास समितिले जनप्रतिनिधिहरूसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेको छ । एकता नै समृद्धिको आधार हो भन्ने मूल नारा सहित मंगलबार शक्ति आधारभूत विद्यालयमा उक्त कार्यक्रम गरिएको टोल विकास समिति कानपुरका अध्यक्ष नवीन पौडेलले जानकारी दिनुभयो । अन्तरक्रिया कार्यक्रममा जनप्रतिनिधिको रूपमा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरी, वडाध्यक्ष विषराम राना, नगर प्रवक्ता हर्क बहादुर भुल र वडा सदस्यहरूको प्रतिनिधित्व रहेको थियो । उक्त कार्यक्रममा टोलवासीहरूले राखेका प्रश्न र जिज्ञासाहरूको जनप्रतिनिधिहरूले प्रतिउत्तर दिनुभएको टोल विकास समितिका सचिव कमली चौधरीले बताउनु भयो ।
टोलवासीहरूले कानपुर जोड्ने पुलको निर्माणमा चरम लापरबाही भएकोले सम्बन्धित निकायको ध्यानाकर्षण गरी सम्झौता अनुसार पुल निर्माण गरिदिन, तत्काल आवागमनका लागि वैकल्पिक बाटो, सिमसार क्षेत्रको व्यवस्थापनका लागि ड्रेन निर्माण, कानपुरदेखि शिवनगर जोड्ने पुलको डिपिआर तथा गरी पुल निर्माणका लागि आवश्यक बजेट विनियोजन गरिदिन, नखुलेका सडकहरूलाई आवश्यकता अनुसार ट्र्याक खोली ग्राभेल गरिदिन, धनबहादुर चन्दको घरदेखि धनीराम चौधरीको घरसम्म रिटेलिङ् वाल, माटो भरान तथा स्लेभ कल्भर्ट निर्माण, शक्ति आधारभूत विद्यालयका लागि घेर पर्खाल निर्माण, कृषि सम्बन्धी समस्या र बाढीबाट पीडित बासिन्दालाई राहत उपलब्ध गराउनु पर्ने लगायतका माग राखेको टोल विकास समितिले जनाएको छ ।
जनप्रतिनिधिहरूले जवाफ दिने क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले पाँच वर्षभित्र हुलाकी सडकखण्डदेखि शिवनगर जोड्ने सडक कालोपत्रे गर्ने, पुलको तत्काल डिपिआर तयार गर्ने, सिमसार क्षेत्रको व्यवस्थापनका लागि रकम विनियोजन गर्ने, कानपुर जोड्ने पुलको मापदण्ड विपरीत भएको कामलाई तोडी निर्माण कम्पनीलाई पुनः निर्माण गर्न लगाउने, प्रदेश सरकारको विपद् व्यवस्थापन समितिलाई कानपुरको अवलोकन गराई तत्काल राहतको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो ।
त्यस्तै, बेलौरी नगरपालिकाका उपप्रमुख जोगराम चौधरीले तत्काल कानपुरको बाटोको निकास तथा तटबन्ध गर्ने, विभिन्न सडकहरूको ट्र्याक खोली ग्राभेल गर्ने लगायतका विषय नगर कार्यपालिकाको बैठकमा लैजाने बताउनु भयो । वडाध्यक्ष विषराम रानाले वडाका सबै टोललाई समान रूपमा बजेट विनियोजन गर्ने, विकासका कामका लागि सबै तहसँग समन्वय गरी जनतासँग हातेमालो गर्ने, वडाबाट दिइने सुविधाहरू जनमुखी र छिटोछरितो प्रवाह गर्ने प्रतिबद्धता जनाउनु भयो । नगर प्रवक्ता हर्कबहादुर भुलले स्थानीय बासिन्दाका आवश्यक योजनाहरूलाई कार्यपालिकामा सम्बोधन गरी यथाशीघ्र कार्यान्वयन गर्न लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।