कञ्चनपुर, ०८ माघ । भीमदत्त नगरपालिकाले पहिलो पटक आफ्नो स्थापना दिवस मनाएको छ । स्थानीय तह निर्वाचनपछि नगरपालिका स्थापना गरिएको ४२ वर्षमा पहिलो पटक स्थापना दिवस मनाइएको छ । २०३४ माघ ७ गते तत्कालिन सुडा र ऐरी गाउँ पञ्चायत मिलाएर महेन्द्रनगर नगर पञ्चायतका रुपमा स्थापना गरिएको थियो । २०४७ मा महेन्द्रनगर नगरपालिका नामाकरण गरिएको नगरपालिका जनआन्दोलनपछि २०६५ मा भीमदत्त नगरपालिका नामाकरण गरिएको हो ।
नगरपालिका स्थापनाको दुई दशकपछि मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्बाङ्गको प्रमुख आतिथ्यमा ४२ वर्षमा पहिलो स्थापना दिवस समारोह गरिएको छ । ‘यो नगरपालिकाले पहिलो पटक स्थापना दिवस मनाएको छ, अहिलेसम्म दिवस समेत मनाउन सकिएन’ नगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा मन्त्री नेम्बाङ्गले भन्नु भयो,‘यसरी लामो समयसम्म स्थापना दिवस समेत मनाउन नसकेको अवस्थालाई यो नगरका नगर प्रमुखले स्थापना दिवस मनाएर ऐतिहासिक कार्य गर्नु भएको छ, म धन्यवाद दिन चाहन्छु ।’
मन्त्री नेम्बाङ्गले समृद्धिका लागि पूर्वाधार निर्माण आवश्यक हुने उल्लेख गर्दै महेन्द्रनगर नयाँ वसपार्कले समृद्धिमा सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो । कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. २ का साँसद नर बहादुर धामीले भीमदत्त पन्तको सम्मानमा नगरपालिकाको नामाकरण गरिएकाले पन्तको क्रान्तिलाई सार्थक बनाउने गरी रुपान्तरण गरिनु पर्नेमा जोड दिनु भयो । ‘यो नगरपालिकाको नाम नै किसान नेता भीमदत्त पन्तकै नाममा छ, यहाँका मेयरले पन्तको सपनालाई सार्थक बनाउने गरी जनताले परिवर्तनको अनुभूति गर्ने बनाउन पर्छ’ साँसद धामीले भन्नु भयो ।
पूर्व मन्त्री लाल बहादुर विश्वकर्माले चुनावमा गरिएका वाचा अनुसार सरकारले विकास र समृद्धिको कार्यक्रम सुरु गरिएको बताए । ‘सरकार जनताको माग र चाहना अनुसार विकास र समृद्धिका नारा बोकेर अघि बढेको छ, त्यसका लागि नीति कार्यक्रम ल्याएको छ’ पूर्व मन्त्री विश्वकर्माले भन्नु भयो । नेकपा नेता पूर्व सभासद् टिकेन्द्र प्रसाद भट्टले स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले विकास निर्माणमा उपलब्धि मुलक कार्य गरेको बताउनु भयो ।
भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेलले स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिकाले विकासमा फड्को मारेको बताउनु भयो । ‘२०४८ पछि यो नगरको विकास निर्माण हेर्दै आएका छौ, वडा नं. ८, ८, १०, ७, ३ को घाँडीघाँच क्षेत्र कस्तो थियो, निकै दुर्गम थियो, साइकल या हिँडेर जानु पथ्र्यो’ पूर्व उप नगर प्रमुख खरेलले भन्नु भयो,‘ जैविक धार्मिक पर्यटन मार्ग बनेपछि त्यो क्षेत्र अहिले सुगम बनेको छ, अहिले त्यो क्षेत्रमा एम्बुलेन्स जान्छ, गाडी जान्छ, यसका लागि नगरपालिकालाई धन्यवाद दिन्छु ।’
पूर्व नगर उप प्रमुख खरेलले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह, महाकाली नदीको चार लेनको पक्की पुल, जैविक धार्मिक पर्यटकीय मार्ग र शुक्लाफाँटा पर्यटन मार्गलाई संघीय सरकारले प्राथमिकता दिनु पर्ने बताउनु भयो । नेपाली काँग्रेसका नगर सभापति पदमराज अवस्थीले काँग्रेस सधै विकास र समृद्धिको पक्षमा भएको उल्लेख गर्दै विकासमा राजनीतिक गर्न नहुने बताउनु भयो । ‘राजनीतिकरण हुने कुनै पनि विकास काँग्रेसलाई मान्य हुँदैन, विकासमा राजनीति नहुने विकासमा काँग्रेस सधैं साथ र सहयोग दिन्छ’ नगर सभापति अवस्थीले भन्नु भयो ।
राष्ट्रिय जनता पार्टीका नेता अम्बादत्त तिवारीले भीमदत्त नगरपालिकाका पूर्वाधार, शिक्षा, स्वास्थ्य लगायतका गरिएको विकासलाई निरन्तरता दिनु पर्ने बताउनु भयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पूर्ण बहादुर चन्दले नगरपालिकाले पहिलो पटक स्थापना दिवस मनाएर ऐतिहासिक कार्य गरेको उल्लेख गर्दै नगर प्रमुख सुरेन्द्र विष्टलाई धन्यवाद दिनु भयो । राष्ट्रिय जनमोर्चाका लाल बहादुर कुँबर, प्रमुख जिल्ला अधिकारी सुशिल कुमार वैद्य, कञ्चनपुर उद्योग बाणिज्य संघका अध्यक्ष जङ्ग बहादुर मल्ल लगायतले कार्यक्रममा शुभ कामना मन्तव्य राख्नु भयो ।
कार्यक्रमको अध्यक्षतामा गरिरहनु भएका नगर प्रमुख विष्टले नगरपालिका स्थापना गरिएको ४२ औ वर्षमा पहिलो पटक स्थापना दिवस मनाएको उल्लेख गर्दै नगरको विकास र समृद्धिमा सबै पक्षको साझेदारी र सहकार्य आवश्यक रहेको बताउनु भयो । ‘यो नगरपालिका स्थापना भएको ४२ औैं वर्ष पूरा भएको छ, यसलाई ४२ वर्षको प्रथम स्थापना दिवस समारोहका रुपमा मनाई रहेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यो नगरको समृद्धि जिल्ला, प्रदेश र देशकै समृद्धि हो, त्यसैले यसको विकास र समृद्धिका लागि सबै पक्षको साझेदारी र सहकार्य आवश्यक छ, त्यसकै आधारमा अघि बढेका छौ ।’
नगर प्रमुख विष्टले स्थानीय तह निर्वाचनपछि जैविक धार्मिक पर्यटकीय मार्ग, शुक्लाफाँटा पर्यटन मार्ग, चक्रपथ निर्माण सुरु, महाकाली नदीमा साहसिक जलयात्रा परीक्षण, म्याराथन दौड लगायतका नगरका ठूला योजना सञ्चालन गरिएको बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई पर्यटकीय हब बनाउने, झोलुङ्ग पुल, रौटेला, बाराकुण्डा, भम्केनी धाम, झिलमिला ताल, शिवधाम क्षेत्र लगायतका धार्मिक पर्यटकीय क्षेत्रका रुपमा विकास गरी भीमदत्तदलाई पर्यटकीय नगर बनाउन थालिएको बताउनु भयो ।
कार्यक्रममा स्थापना दिवस मूल आयोजक समितिका संयोजक नगर उप प्रमुख सुशिला चन्द सिहले सहभागीहरुलाई स्वागत गर्दै नगरको विकास र समृद्धिका लागि सबै राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि भौतिक पूर्वाधार तथा यातायात मन्त्री नेम्बाङ्गले गमलामा रोपिएको विरुवा पानी हालेर र परेवा उडाएर कार्यक्रमको औपचारिक रुपमा उद्घाटन गर्नु भयो ।
भीमदत्तका नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, क्षेत्र नं. २ का साँसद नर बहादुर धामी, प्रतिनिधि सभाका सदस्य निरुदेबी पाल, पूर्व उप सभामुख भोजराज जोशी, पूर्व मन्त्री लाल बहादुर विश्वकर्मा, पूर्व सभासद्हरु कृपाराम राना, टिकेन्द्र प्रसाद भट्ट लगायत कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिधि, पूर्व मन्त्री सहित विभिन्न क्षेत्रका प्रतिनिधि, नगर वासिन्दा सहभागी भएका छन् ।
कार्यक्रममा प्रहरी प्रधान कार्यालयले पठाएको प्रंशंसा पत्र प्रदान गरिएको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले पठाएको प्रशंसा पत्र कञ्चनपुरका प्रहरी प्रमुख मुकुन्द मरासिनीले प्रदान गर्नु भयो । समुदाय प्रहरी साभेदारी अन्र्तगत नगर प्रमुख विष्टले पुगाएको योगदानको कदर गर्दै प्रहरी प्रधान कार्यालयले प्रशंसा पत्र दिएको हो ।
कार्यक्रममा पूर्व मन्त्री नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकको शुभ कामना सन्देश वाचन गरिएको छ । नगरपालिका कार्यालयमा औपचारिक कार्यक्रम अघि बजार क्षेत्रमा खुला मञ्चबाट बाजागाजा र विभिन्न साँस्कृतिक झाँकी सहित ¥याली निकालिएको छ । बजार परिक्रमापछि ¥याली कार्यक्रम स्थलमा पुगेर कार्यक्रममा सहभागी भएको
छ ।
कार्यक्रममा नगरपालिकाले विभिन्न क्षेत्रका व्यक्तित्व, खेलाडी, महिला स्वयम् सेविका, ज्येष्ठ नागरिक, कर्मचारीई पुरस्कार एबम् सम्मान गरेको छ । कार्यक्रममा मन्त्री नेम्बाङ्गले भीमदत्त स्मारिका २०७६ को विमोचन समेत गर्नु भयो । भीमदत्त नगरपालिका सामाजिक विकास समितिका संयोजक हरक सिह धामी, शिक्षा शाखाका प्रमुख हरिदत्त जोशी र शिक्षक उत्तम विष्टले संयुक्त रुपमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।