तर्कराज भट्ट, डडेलधुरा, २४ साउन । डडेलधुरामा बजार अनुगमनका क्रममा दुई लाख बढीका अखाद्य बस्तु नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराका सूचना अधिकारी अभिलाषा अर्यालका अनुसार गत आर्थिक वर्ष २०७९।०८० मा डडेलधुरा जिल्लामा संयुक्त बजार अनुगमन टोलीले सात ओटै स्थानीय तहका बजारमा अनुगम गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराले अमरगढी नगरपालिकाको बागबजार, तुफान डाँडा, स्याउले, पोखरा बजार तथा परशुराम नगरपालिका, आलिताल गाउँपालिका, अजयमेरु गाउँपालिका, भागेश्वर गाउँपालिका, गन्यापधुरा र नवदुर्गा गाउँपालिकामा अनुगमन गरेको छ । उक्त अनुगमनका क्रममा दुई लाख एक हजार चार सय २७ रकम बराबरको म्याद नाघेका अखाद्य बस्तु नष्ट गरिएको सूचना अधिकारी अर्यालले जानकारी दिइन् ।
यस्तै कार्यालयको कार्यक्षेत्र रहेको बझाङ जिल्लामा पनि अनुगमन गरिएको छ । सदरमुकाम क्षेत्रको चैनपुरमा सञ्चालित उद्योग, होटेल तथा खाद्य पसलहरूको अनुगमन गर्दा गत आर्थिक वर्षमा ३८ हजार पाँच सय ६५ मूल्य बराबरको अखाद्य बस्तुहरू बरामद गरी नष्ट गरिएको हो । कालोबजारी नियन्त्रण गर्ने, म्याद गुज्रेका सामग्री बिक्री वितरणमा रोक लगाउने र उपभोक्ता अधिकारका विषयमा जानकारी दिने उद्देश्यले बजार अनुगमनलाई तीव्रता दिइएको छ । व्यापारीलाई म्याद गुज्रेका सामग्री बिक्री नगर्न र उपभोक्तालाई उपभोग्य मिति तथा लेबल हेरेर मात्र खरिद गर्न आग्रह गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डडेलधुराका प्रमुख, खाद्य अनुसन्धान अधिकृत गणेश कुमार रोक्काले जानकारी दिए । बजार अनुगमनका क्रममा उपभोक्ताहरूलाई गर्न नहुने काम र कारबाहीको व्यवस्थाका बारेमा समेत जानकारी दिने गरिएको छ । गत आर्थिक वर्ष २०७९।०८० मा विभिन्न खाद्य पदार्थ बिक्री वितरण गर्ने स्थलबाट २२ थान खाद्य नमुना लिई परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढी पठाइएको तथा ३१ थान अनुसन्धानात्मक नमुना सङ्कलन गरिएको खाद्य अनुसन्धान अधिकृत रोक्काले जानकारी दिए ।
अखाद्य वस्तु तथा म्याद नाघेका वस्तुको बिक्री वितरण रोक्ने, खाद्य अधिकारका बारेमा व्यापारी तथा उपभोक्तालाई जागरूक बनाउनका लागि बजार अनुगमन गर्ने गरिएको डडेलधुराका सहायक प्रमुख जिल्ला अधिकारी जितेन्द्र प्रसाद ओझाले जानकारी दिए । उनका अनुसार बजार अनुगमनका क्रममा मिठाइ , चाउचाउ, चिउरा, बिस्कुट, तेल, पिठो तथा पेय पदार्थहरू म्याद नाघेका भेटिने गरेका छन् । खाद्य ऐन २०२३ अनुसार दूषित खाद्य पदार्थ वा न्यून स्तरको खाद्य पदार्थ वा झुक्क्याएर खाद्य पदार्थ बेच्न नहुने उल्लेख छ । ऐन विपरीत भएको पाइएमा पाँच वर्ष कैद वा ५० हजार रुपैयाँ जरिवाना हुने कानुनी प्रावधान छ ।