कञ्चनपुर, १४ साउन । अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस नेपालमा पनि आइतबार विभिन्न कार्यक्रम गरी मनाइएको छ । यो दिवस मानव बेचबिखन उन्मूलन गर्न सचेतना जगाउने र त्यसका लागि विश्वव्यापी प्रतिबद्धतालाई सुदृढ गर्न महत्त्वपूर्ण छ । यस वर्ष ‘बेचबिखनका प्रत्येक पीडितसम्म पुगौँ, कसैलाई न्यायबाट वञ्चित नगरौँ’ भन्ने नारासहित यो दिवस मनाइएको छ । नाराले बेचबिखन पीडितले भोग्ने शोषणको अन्त्य र उद्धारपछिको पुनः स्थापनाको सुनिश्चितता र बेचबिखनको जोखिममा रहेका समूहको संरक्षणको सन्देश दिएको छ । सामान्यतया प्रलोभनमा पारी, झुक्क्याई, डर त्रास देखाई कुनै पनि व्यक्तिलाई उसको इच्छा विपरीत कुनै न कुनै रूपमा शोषण गर्ने वा नाफा कमाउने उद्देश्यले जबरजस्ती कुनै पनि कार्य गर्न बाध्य तुल्याइने अवस्थालाई नै मानव बेचबिखन भन्ने गरिन्छ । मानवको बेचबिखन तथा ओसारपसार बालश्रम, बाल दासत्व, धर्मपुत्र धर्मपुत्री, बालविवाह, बधुवा श्रम तथा दासत्व, मानव अङ्ग प्रत्यारोपण, यौन दासत्व, व्यावसायिक यौन शोषण, गैर कानुनी आप्रवासन आदि कार्यका लागि भइरहेको देखिन्छ ।
संयुक्त राष्ट्रसङ्घका अनुसार विश्वव्यापी सङ्कट, द्वन्द्व र जलवायु आपत्कालले मानव बेचबिखनको जोखिम बढिरहेको छ । विस्थापन र सामाजिक आर्थिक असमानताले असर परेका लाखौँ मानिस मानव बेचबिखनका तस्करको चपेटामा परेका छन् । यस्तै गरिबी, बेरोजगारी, शिक्षा र स्वास्थ्यमा पहुँच नभएका, भेदभाव, हिंसा, दुर्व्यवहारमा परेका व्यक्ति एवं सीमान्तकृत समुदाय मानव तस्करको नजरमा पर्ने गरेका छन् । संयुक्त राष्ट्रसङ्घअन्तर्गतको लागु औषध र अपराधसम्बन्धी कार्यालयका अनुसार विकासशील राष्ट्रहरूमा मानव बेचबिखनप्रतिको प्रतिक्रिया घट्दै गएको छ । सन् २०२० मा मानव बेचबिखन पत्ता लगाउने दर ११ प्रतिशतले घटेको र मानव बेचबिखनविरुद्ध सजायको दर २७ प्रतिशतले घटेको थियो ।
दिवसकै अवसरमा आइतबार कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय महेन्द्रनगरले सचेतनामूलक कार्यक्रम गरेको छ । "Rich Every Victim of Trafficking Leave No One Behind" भन्ने अन्तर्राष्ट्रिय मूल नाराका साथ पिल्लर नम्बर ७ नजिक भीमदत्त नगरपालिका वडा नम्बर १० र ११, इलाका प्रहरी कार्यालय गड्डाचौकी, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म गड्डाचौकी र भारतीय प्रहरी प्रशासनसँगको संयुक्त समन्वयमा दिवस मनाइएको हो । शान्ति पुनर्स्थापना गृहले गत आर्थिक वर्षमा प्रदान गरेका सेवाहरूको बारेमा बताउँदै मानव बेचबिखन जस्तो जघन्य अपराध एकलैले रोक्न नसकिने र यो आन्तरिक रूपमा भन्दा अन्तर्राष्ट्रिय स्तरमा बढी फस्टाउँदै गएकाले नेपाल र भारत दुवै पक्षका सम्बन्धित निकायले हातेमालो गरेर अगाडी बढ्दै यस विरुद्धमा आवाज उठाएमा मात्र नियन्त्रण गर्न सकिने शान्ति पुनर्स्थापना गृह शाखा कञ्चनपुरका सुपरभाइजर मनीषा न्यौपानेले बताउनु भएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा स्थानीय तहको भूमिका पनि महत्त्वपूर्ण हुने भएकाले वडा नम्बर ११ को साथ र सहयोग सामाजिक कार्यमा सदैव रहने भीमदत्त नगरपालिका वडा नम्बर ११ का अध्यक्ष प्रकाश थापाले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर ११ का अध्यक्ष र वडा नम्बर १० का सदस्य, सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म गड्डाचौकीका सशस्त्र प्रहरी नायव निरीक्षक, इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी सहायक निरीक्षक तथा प्रतिनिधि, अस्थायी ट्राफिक पोष्टका प्रतिनिधि, भारतीय प्रहरी प्रशासन उत्तराखण्ड एण्टी ह्युमन ट्राफिकिङ युनिट बनवासाका प्रमुख तथा प्रतिनिधि, एस.एस.बि.अन्तर्गतको एण्टी ह्युमन ट्राफिकिङ युनिटका प्रमुख तथा प्रतिनिधि, भारतमा मानव बेचबिखन तथा ओसारपसार विरुद्ध काम गर्ने संस्था रिड्सका प्रतिनिधि, नेपालका गैरसरकारी संस्थाहरूमा आफन्त नेपाल, माइती नेपाल, थ्री एन्जल्स नेपाल, आशिष् नेपाल लगायत स्थानीय समाजसेवी, बुद्धिजीवी, अटो व्यवसायी र शान्ति पुनर्स्थापना गृह शाखा कार्यालय र सम्पर्क कार्यालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो । कार्यक्रम भव्यताका साथ सम्पन्न भएको बताइएको छ ।