हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ साउन । वि.सं. १९१७ अर्थात् १६३ वर्ष पहिले कैलाली कञ्चनपुरको मुख्य भन्सारको रूपमा स्थापित बेलौरी भन्सार कार्यालय वि.सं. २०१९ सालमा बेलौरीबाट कञ्चनपुरको सदरमुकाम विस्थापित भएपछि कञ्चनपुर भन्सार अन्तर्गत छोटी भन्सारमा परिणत भई सञ्चालनमा रहँदा पनि अत्यन्त सहज र व्यवस्थित रूपमा सञ्चालित भई उल्लेख्य राजस्व सङ्कलन गर्ने देशकै प्रतिष्ठित र चर्चित भन्सार थियो । तर २०७४ सालमा एकाएक उक्त क्षेत्रका जनता, जनप्रतिनिधि एवं कञ्चनपुर जिल्लाका सरोकारवाला सरकारी कार्यालय समेतलाई नजरअन्दाज गरी बेजिल्लाको कैलाली भन्सार कार्यालय मातहतमा बेलौरी छोटी भन्सारलाई राखियो ।
बेलौरी छोटी भन्सार कार्यालयलाई स्तरोन्नति गर्नुको सट्टा डेढ वर्षसम्म ताला झुण्ड्याएर राखेपछि एकातिर राज्यलाई राजश्व घाटा भइरहेको छ भने अर्कोतिर यहाँका व्यवसायीहरू समेत अत्यधिक मर्कामा परेका छन् । तर पनि सरकारले कुनै सुनुवाइ गरेको छैन । कैलाली भन्सार कार्यालयले कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालयलाई कर्मचारी विहीन, कुरुवा विहीन, सुरक्षा विहीन, मर्मत सम्भार विहीन बनाएर कानुन र अख्तियारीको ठाडो उलङ्घन गरी निलम्बन वा खारेज गरेझैँ अस्तित्व नै मेटाउने गरी तालाबन्दी गरेर अलपत्र पारेको भन्दै कञ्चनपुरको बेलौरीमा नागरिक स्तरबाट आन्दोलन जारी छ । माग पुरा नभएसम्म जारी रहने आन्दोलनरत पक्षको अडान छ । भन्सारमा लगाइएको ताला तत्काल खोली कार्यालय सुचारु गर्न, बेजिल्लाको कैलाली भन्सार मातहतबाट हटाई आफ्नै जिल्लाको कञ्चनपुर भन्सार कार्यालय मातहत राख्न, बेलौरी छोटी भन्सारको अस्तित्व नै मेटिने गरी कैलाली भन्सारले गरेका चरम लापरबाही, बेवास्ता, बेथिति, विसङ्गति एवं अख्तियारी दुरुपयोगका कामको छानबिन गरी कारबाही अगाडि बढाउन र बेलौरी छोटी भन्सारको स्तरोन्नतिका लागि आवश्यक कार्य गरिदिन सरकारसँग माग गरिएको छ ।
कैलाली भन्सारको चरम लापरबाही, बेवास्ता र उपेक्षाले आफ्नै स्वामित्वको ३ वटा भवन सहित ३ बिघा, ३ कट्टा, १३ धुर क्षेत्रफलमा फैलिएको भन्सार परिसर झाडी बन्दी भएर हिंसक जीवजन्तु, दुर्व्यसनी र अन्य गलत तत्त्वको आश्रय स्थल बनिरहेको छ । निर्वाचनको समयमा उक्त निर्वाचन क्षेत्रमा गई शीर्ष नेताहरूले सार्वजनिक समारोहमै बेलौरी छोटी भन्सारको स्तरोन्नति गर्ने गराउने भनी गरेका प्रतिबद्धता कार्यान्वयन नहुनु गम्भीर चिन्ता र चासोको विषय बनेको छ । यसैबिच बेलौरी नगरपालिका वडा नम्बर ६ को अगुवाइमा यही साउन १३ गते शनिबार बिहान ८ बजे बेलौरी भन्सार परिसरको सरसफाइका लागि सरोकारवाला सबैलाई सार्वजनिक आह्वान गरिएको वडाध्यक्ष भोजराज चौधरीले जानकारी दिनु भएको छ ।