हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ असार । कञ्चनपुरको लालझाडी गाउँपालिका वडा नम्बर ४ डाँङाजाईँमा रहेको बैजनाथ बहुभाषिक आधारभूत विद्यालयका तत्कालीन प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण राना सहित चार जनाका नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । विद्यालयको हाताभित्र रहेको जमिनको गैरकानुनी रूपमा उत्खनन गरेर इँटा भट्टालाई माटो बिक्री गरेको अख्तियारमा उजुरी परेको थियो । विद्यालयका तत्कालीन प्रधानाध्यापक बोहराकै योजनामा अध्यक्ष रानालाई झुक्क्याएर लाखौँको माटो बिक्री गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
आर्थिक वर्ष २०७६।०७७ र ०७७।०७८मा माटो उत्खनन गरी जमिन समथर र पोखरी निर्माण गर्दा प्रदेश सरकारको आर्थिक ऐन ०७६ को दफा ८ बमोजिम अनुसूची ६ ले तोके बमोजिमको कर बापतको ७ लाख, २९ हजार, ५ सय १४ रुपैयाँ बराबरको हानी नोक्सानी गरेको पाइएको हुँदा विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग केन्द्रीय कार्यालयका सहायक प्रवक्ता देवी प्रसाद थपलियाद्वारा जारी प्रेस विज्ञप्तिमा चारै जना विरुद्धमा फरक फरक रकम माग गरिएको छ ।
अध्यक्ष राना र तत्कालीन प्रधानाध्यापक बोहरालाई भ्रष्टाचार निवारण ऐन ०५९ को दफा १७ बमोजिम कसुरमा सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) बमोजिम बिगो र दुवैलाई जनही ७ लाख, २९ हजार, ५ सय १४ रुपैयाँ जरिवाना माग दाबी गरिएको छ । यस्तै न्यु भगवती इँटा उद्योगका व्यवस्थापक राजेन्द्रबहादुर भाटलाई भ्रष्टाचार निवारण ऐन अनुरूप ४ लाख, ११ हजार ६ सय ६ र सिद्ध बैजनाथ इँटा उद्योगका सञ्चालक धनबहादुर बिष्टलाई ३ लाख, १७ हजार, ९ सय ८ रुपैयाँ जरिवाना सहित माग दाबी गरिएको छ ।
बैजनाथ बहुभाषिक आधारभूत विद्यालयको जमिनमा खनिएको पोखरीमा भने सोही विद्यालयले माछापालन गरिरहेको छ । उक्त विद्यालयमा करार सेवामा कार्यरत तत्कालीन प्रधानाध्यापक सुरेन्द्र बहादुर बोहरा गत चैत तेस्रो सातायता सम्पर्कविहीन छन् । उनले के कामले, कति समयका लागि कहाँ जाने भन्ने विषयमा विद्यालय प्रशासन, विद्यालय व्यवस्थापन समिति, गाउँपालिका, जिल्ला शिक्षा समन्वय इकाई कसैलाई पनि कुनै जानकारी गराएका छैनन् । सरोकारवालाहरूले घरपरिवार, टेलिफोन र सामाजिक सञ्जालबाट समेत सम्पर्क गर्न खोज्दा उनी सम्पर्कमा नआएको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
कञ्चनपुरकै कृष्णपुर नगरपालिका वडा नम्बर २ वाणी घर भएका बोहरालाई गाउँमा आर्थिक हिनामिना गरेर फरार रहेको आरोप पनि लागेको छ । प्रधानाध्यापक नै सम्पर्कमा नभएपछि उक्त विद्यालयको पठनपाठन र अन्य गतिविधि प्रभावित भएको छ । विद्यार्थीहरूको वार्षिक परीक्षाफल प्रकाशन र नयाँ विद्यार्थी भर्ना अभियान सञ्चालन गर्नै पर्ने भएकोले विद्यालय व्यवस्थापन समितिले सोही विद्यालयमा अध्यापनरत शिक्षक जादुराम रानालाई प्रधानाध्यापकको जिम्मेवारी दिई कार्य सञ्चालन गरिएको लालझाडी गाउँपालिका शिक्षा शाखाका प्रमुख सिद्धराज भट्टको भनाइ छ ।