किशोर तामाङ, कञ्चनपुर, १९ असार । कञ्चनपुरको पुनर्वासमा रहेको कुण्डा सव डिभिजन वन कार्यालय पचकडियामा प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न जातका बोटबिरुवाहरू निःशुल्क वितरण गरिएको छ । पुनर्वास नगरपालिका र डिभिजन बन कार्यालय कञ्चनपुरको आर्थिक सहयोगमा कुण्डा सव डिभिजन वन कार्यालय पचकडियाले उत्पादन गरेका बिरुवाहरू मंगलबार निःशुल्क रूपमा वितरण गरिएको हो । नगरलाई हरियाली र सुन्दर बनाउने उद्देश्यले "सन्ततिका लागि सोचौँ, समृद्धि र हरियालीको लागि वृक्षारोपण गरौँ" भन्ने मूल नाराका साथ नगर र बन कार्यालयको वार्षिक कार्यक्रम अन्तर्गत १ लाख बिरुवा उत्पादन गरी निःशुल्क रूपमा वितरण गर्न लागिएको कुण्डा सव डिभिजन बन कार्यालय पचकडियाका प्रमुख दिनेश कुमार यादवले जानकारी दिनुभयो ।
कुण्डा सव डिभिजन बन कार्यालयका प्रमुख दिनेश कुमार यादवको अध्यक्षतामा आयोजित निःशुल्क बोट बिरुवा वितरण कार्यक्रममा पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्मा ज्यूको प्रमुख आतिथ्य र उपप्रमुख भुलिया कुमारी रानाको विशिष्ट आतिथ्य रहेको थियो। यसै गरी अतिथिमा वडा नं ६ का वडाध्यक्ष मित्र सिंह लामा,वडा नं १०का वडाध्यक्ष शुकदेव राना , इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका ईन्चार्ज प्रहरी निरीक्षक नरेश राज मल्ल ,स्थानीय वडा सदस्यहरू, समाजसेवी , बुद्धिजीवी र कृषकहरूको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा रहनु भएका पुनर्वास नगरपालिकाका नगर प्रमुख तोय प्रसाद शर्माले "हरियो वन नेपालको धन” भन्ने मूल मन्त्रलाई अङ्गीकार गर्दे वृक्षारोपण गरेसँगै रोपेको बिरुवा जोगाउन पनि जरुरी रहेको धारणा राख्नुभयो । "बढ्दो सहरीकरण, वन विनाश अनि खेतीयोग्य जमिन बाँझै रहने क्रम तीव्र हुनाले मानिसलाई अक्सिजन कमी हुँदै छ । यस क्रममा सकारात्मक सोचसहित रोपिएको बिरुवाबाट मानव स्वास्थ्यलाई पुग्ने फाइदाको बारेमा सोच्दै नगरपालिकालाई हरियाली र सुन्दर बनाउने कार्यमा एकजुट हुन अनुरोध छ" उहाँले भन्नुभयो । नगर प्रमुख शर्माले नगर र बन कार्यालयको संयुक्त प्रयासमा सञ्चालन गरिएको "सन्ततिका लागि सोचौँ, समृद्धि र हरियाली को लागि वृक्षारोपण गरौँ" भन्ने अभियानलाई सफल पार्न सम्पूर्ण नगरवासीहरूमा आह्वान गर्नुभएको छ। यसै गरी बिरुवा वितरण कार्यक्रममा विशिष्ट आतिथ्यमा रहनु भएका नगर उपप्रमुख भुलिया कुमारी रानाले "नर्सरी उत्पादन निकै नै राम्रो भएको छ, यो उत्कृष्ट कार्यमा अहोरात्र खटिएका वन कार्यालय परिवार र कुण्डा सव डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादवलाई हृदय देखि धन्यवाद ज्ञापन गर्दछु" भन्नुभयो ।
कार्यालयद्वारा उत्पादन गरिएका टिक, अमला, मसला, बकाइनो, जामुन, टाकी, निम, पारिजात लगायतका बिरुवा वितरण गरिएको बताइएको छ । बिरुवा वितरण कार्यलाई सहज बनाउन बिरुवा लिन आउने सेवाग्राहीले ५० गोटा बिरुवाको लागि नेपाली नागरिकताको प्रतिलिपि, ५१ गोटा देखि २९९ गोटासम्म जग्गाधनी प्रमाण पत्रको प्रतिलिपि, ३०० गोटादेखि माथि सम्बन्धित वडा कार्यालयको सिफारिस पेस गर्नुपर्ने र सङ्घसंस्थाको लागि प्रावधान तोकिएको कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाका प्रमुख यादवले बताउनु भयो । कार्यालयले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्क रूपमा वितरण तथा बन जङ्गल क्षेत्रमा वृक्षारोपण गर्दै आइरहेको छ ।