हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ असार । कञ्चनपुरको बेलौरीमा पनि जय महांकाल युवा समिति गठन गरिएको छ । सोमबार बेलौरीको खुलामञ्चमा आयोजित युवा भेलाबाट जय महांकाल युवा समूह बेलौरी नगर समिति गठन गरिएको महासचिव हिक्मत भण्डारीले जानकारी दिनुभयो । उक्त समूहको अध्यक्षमा मदन बोहरा, उपाध्यक्षमा धर्मेन्द्र गिरी, सचिवमा ईश्वर बहादुर चन्द, सह-सचिवमा हिमाल श्रेष्ठ, कोषाध्यक्षमा पुष्कर सिंह बुडाल चयन हुनु भएको छ । उक्त समूहमा आबद्ध सदस्यहरूको सङ्ख्या समेत वृद्धि भइरहेको बताइएको छ । 'भोकालाई भोजन; प्यासीलाई पानी' भन्ने मूल नारा सहित निरन्तर सामाजिक सेवामा आबद्ध जय महांकाल युवा समूहले लागु औषध, भ्रष्टाचार र समाजका बेथिति विरुद्धका कार्यक्रम गर्न जिल्लाभर नै सक्रिय युवालाई समेटेर समूह विस्तार गर्ने अभियानमा लागेको जिल्ला अध्यक्ष हर्क बहादुर बोहराले जानकारी दिनुभएको छ ।
जय महांकालको पृष्ठभूमि :
कोरोना भाइरसको महामारीले देश बन्दाबन्दीको स्थितिमा रहँदा वि.स. २०७६ चैत्र २२ गतेका दिन "भोकालाई भोजन; प्यासीलाई पानी" नाराका साथ जय महांकाल युवा समूहको आयोजनामा जसको कोही पनि छैन र केही पनि छैन, त्यस्ता नागरिकहरूलाई निःशुल्क भोजन वितरण गर्न सुरु गरिएको थियो । जति वेला सरकार कोरोना महामारीको डरले लकडाउन घोषणा गरेर नागरिकहरूलाई ज्यान बचाउने हो भने घरभित्रै थुनिएर बस्नु भन्ने उर्दी जारी गर्दै थियो भने केही हुने खाने नागरिकहरू आफूलाई चाहिने केही थान ग्यास र चामलको प्रबन्ध गरेर घरभित्र लुक्दै गरेको क्षणमा १७ जना युवाहरूको समूहले रोगले भन्दा भोकले नागरिकहरूले ज्यान गुमाउनु परेको आर्तनाद पिडालाई हेर्न नसकेर सडकमा निस्किएर महामारीको चपेटामा परेका नागरिकहरूलाई सहयोग गर्ने निर्णय गर्यो । महामारीको विषम परिस्थितिमा परेका नागरिक, अपाङ्गता भएका दृष्टिविहीनहरूलाई घरघरमै पुगेर खाद्यान्न र लत्ताकपडा वितरण गर्ने कार्य काठमाडौँका पशुपति, रत्नपार्क, नयाँ बसपार्क, थापाथली, सिनामंगल, कलङ्की र बालाजुमा गरेर दिनमा दश हजार बढी नागरिकहरूलाई निःशुल्क भोजन गराउने व्यवस्था गरिएको थियो ।
महामारीको चपेटामा परेका नागरिकलाई मात्र नभएर खर्च सकिएर काठमाडौँको सडकमा अलपत्र परेका नागरिकहरूलाई खर्च प्रदान गरेर घरसम्म पुर्याउने, बिरामीहरूलाई निःशुल्क स्वास्थ्य उपचार तथा स्वास्थ्य सामाग्री र बाढी पहिरो प्रकोपमा परेका जनताहरूलाई उद्धार तथा राहत वितरण लगायतका कार्यमा उक्त समूह निरन्तर केन्द्रित भयो । अन्य प्राकृतिक विपद्को समयमा पनि उत्तिकै सक्रिय जय महांकाल युवा समूहले वन जङ्गलमा वृक्षारोपण, मठमन्दिरहरूको निर्माण तथा सरसफाइ जस्ता कार्यमा समेत अग्रसरता देखाउने गरेको छ । यति मात्रै होइन, उक्त समूहले सनातन धर्म संस्कृतिमाथि भइरहेको आक्रमणका विरुद्धमा समेत उक्त समूह लागिपरेको छ ।