हरिश्चन्द्र बाग, कञ्चनपुर, १२ असार । कञ्चनपुरमा वर्षौँदेखि अनाधिकृत रूपमा मेडिकल सञ्चालन गरिरहेका ११ जना भारतीय नागरिकहरूलाई कञ्चनपुर प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । कञ्चनपुरका विभिन्न क्षेत्रमा बिना इजाजत अवैध रूपमा मेडिकल सञ्चालन गरी मानव स्वास्थ्यका लागि जोखिमयुक्त औषधी बिक्री गर्दै आएका भारतीय नागरिकहरूलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले मंगलबार पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा दोधाराचाँदनीका विभिन्न बस्तीमा औषधी पसल सञ्चालन गर्ने भारतको उद्यमसिंह नगरका २६ वर्षीय सञ्जय विश्वास, २३ वर्षीय रबी विश्वास, ३२ वर्षीय कार्तिक सरदार, ३८ वर्षीय निवास गाइन, ४९ वर्षीय निरञ्जन अधिकारी, २५ वर्षीय भूपेन्द्र पुरी, पिलिभितका ४६ वर्षीय राजेश विश्वास, ४५ वर्षीय सन्तोष सरकार, ४४ वर्षीय सुधान्सु हल्दार, भीमदत्त नगरपालिका १३ बडैपुरमा औषधी पसल सञ्चालन गरेका पिलिभितकै ३५ वर्षीय शान्ति रञ्जन वैरागी, भीमदत्त नगरपालिका ९ ब्रह्मदेवमा औषधी पसल सञ्चालन गरेका भारतको नोदिया पोष्टका ३९ वर्षीय गोकुल मण्डल रहेका छन् । उनीहरूका मेडिकलहरूबाट प्रतिबन्धित लागु औषध समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरू मध्ये कसैले पनि स्वास्थ्य सम्बन्धी अध्ययन नगरेको, कसैले मेडिकलमा काम गरेको अनुभव त कसैले रेडक्रसमा काम गरेकै आधारमा मेडिकल सञ्चालन गरेको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनु भएको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने खालका बेच्नै नमिल्ने औषधीहरू बेचबिखन गर्ने, सम्बन्धित विषयको अध्ययन नै नगरी सामान्य अनुभवका आधारमा औषधी बेच्ने र कुनै इजाजत नै नदिई नेपालका ग्रामीण क्षेत्रहरूमा मेडिकल सञ्चालन गरी जनजीवनमाथि नै खेलबाड गरिरहेका उनीहरूलाई प्रहरीको लामो अनुसन्धानबाट पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक थापाको भनाइ छ ।