कञ्चनपुर, १० असार । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले ८९ करोड ६७ लाख बराबरको बजेट सार्वजनिक गरेको छ । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र उद्योग; आत्मनिर्भर कृष्णपुरमा श्रोतको सदुपयोग” भन्ने मूल नाराका साथ आइतबार नगरपालिकाको सभा हलमा नगर प्रमुख हेमराज ओझाको अध्यक्षतामा आयोजित १३ औँ नगर सभामा नगर उपप्रमुख द्रोपती रानाले आगामी आर्थिक वर्ष २०८०।०८१ का लागि रु. ८९ करोड ६७ लाख बराबरको बजेट प्रस्तुत गर्नु भएको हो । चालु आर्थिक वर्ष २०७९।०८० का महत्त्वपूर्ण योजनाहरूलाई निरन्तरता दिँदै ल्याइएको आगामी आर्थिक वर्ष २०८०।०८१ को बजेटमा स्वास्थ्य, शिक्षा र कृषिलाई बढी प्राथमिकता दिइएको छ ।
- स्वास्थ्य ः
नगरवासीलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ कृष्णपुर स्वास्थ्य चौकी रहेको क्षेत्रमा सुविधा सम्पन्न नगर अस्पताल निर्माणदेखि,निःशुल्क स्वास्थ्य शिविर, ९ वटै वडाका नागरिकलाई पायक पर्ने गरी ३ ओटा एम्बुलेन्सको व्यवस्था,महामारी नियन्त्रणका लागि कोषको स्थापना,शव व्यवस्थापनका लागि शव बाहानको व्यवस्था,खोप केन्द्रलाई थप प्रभावकारी बनाउने लगायतका योजनाहरू नीति तथा कार्यक्रममा समावेश छन् ।
- शिक्षा ः
प्रारम्भिक स्कुल जाने विद्यार्थीका लागि बाल विकास केन्द्रको स्थापना देखि,सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विभिन्न किसिमका अनुदान प्रदान गरिने,हरित विद्यालय योजना सञ्चालन गरिने,सार्वजनिक विद्यालयमा ५५ वर्ष उमेर पुगी पेन्सन सुविधा भएका सेवा छोड्न चाहने स्थायी शिक्षकहरूलाई प्रोत्साहनका लागि नगद अनुदान दिइने ,दरबन्दी मिलानलाई थप प्रभावकारी बनाइने नीति नगरपालिकाले लिएको छ ।
- कृषि तथा पशुपक्षी ः
युवा स्वरोजगारका लागि कृषि भन्ने मूल धेयका साथ कृषि तथा पशुपक्षी क्षेत्रलाई नीति तथा कार्यक्रममा समावेश गरेको छ । नगरपालिकाले सामूहिक कृषि खेतीलाई गर्नेलाई प्रोत्साहन गर्ने नीति लिएको छ । वडा न १,२ र ३ तथा वडा न ७,८ र ९ का सबै नागरिकलाई पायक पर्ने गरी दुई स्थानमा कृषि सेवा केन्द्र स्थापना गरी प्राविधिकको समेत व्यवस्था मिलाइने नीति तथा कार्यक्रममा भनिएको छ । मेयर कृषि कार्यक्रम ,वडा न ४ को उत्तरी बेल्टलाई मौरी पालन पकेट क्षेत्र बिस्तार,कृषि मिटर अनुदानमा सहुलियत,लगायत योजना कृषिमा रहेका छन् ।
- युवा तथा खेलकुद ः
एक वडा एक खेलकुद मैदान यसै आर्थिक वर्षबाट बनाउन सुरुवात गरिने बताइएको छ ,त्यसै गरी नगरपालिका भित्र रङ्गशाला निर्माणमा जोड दिइने,मादक पदार्थ,धूम्रपान ,लागू औषध जस्ता दुर्व्यसनबाट रोक्न विद्यालय,क्याम्पस ,सरकारी संस्था र क्लबहरूसँग सहकार्य गरिने बताइएको छ । साथै मेयर कप फुटबल तथा क्रिकेट कप आयोजना गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
सामाजिक सुरक्षा, वित्तीय क्षेत्र, रोजगारी र आप्रवासन क्षेत्रलाई पनि नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ । उद्योग तथा वातावरण, पर्यटन तथा संस्कृति, सहकारी क्षेत्रलाई व्यवस्थित गर्ने, खानेपानी तथा सिचाइ, सुरक्षा, सूचना प्रविधि लगायतका क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ कृष्णपुर नगरपालिकाले नीति तथा कार्यक्रममा समावेश गरेको छ ।