कञ्चनपुर, १० असार । कञ्चनपुरको भीमदत्त नगरपालिकाको १३ औँ नगर सभामा आर्थिक वर्ष २०८०/०८१ को नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरिएको छ । नगर प्रमुख तथा नगर सभा अध्यक्ष पदम बोगटीले आगामी आर्थिक वर्षको नीति कार्यक्रम गर्नु भएको थियो भने कार्यपालिकाको निर्णय अनुसार नगर उपप्रमुख तथा नगर सभा उपाध्यक्ष निलम लेखक जोशीको अनुमतिमा नगर सभा सदस्य,भीमदत्त नगरपालिका–६ का वडाध्यक्ष एवम् नगर प्रवक्ता महेन्द्र खड्काले बजेट प्रस्तुत गर्नुभएको हो । वडाध्यक्ष खड्काले आर्थिक वर्ष २०८०/०८१ का लागी १ अर्ब ८१ करोड ३५ लाख ८१ हजार बराबरको बजेट प्रस्तुत गर्नु भएको छ । नगरपालिकाले प्रस्तुत गरेको बजेटको स्रोत अन्तर्गत आन्तरिक स्रोतबाट २६ करोड ५८ लाख, वित्तीय समानीकरण अनुदान सङ्घीय सरकारबाट २३ करोड ७१ लाख, वित्तीय समानीकरण अनुदान प्रदेश सरकारबाट २ करोड २२ लाख ४३ हजार,सङ्घीय सरकारबाट सशर्त अनुदान ५२ करोड ८५ लाख,सङ्घीय सरकारबाट राजश्व बाँडफाँडको १७ करोड १ लाख ९२ हजार र प्रदेश सरकारबाट राजश्व बाँडफाँडको ८४ लाख २३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै समपूरक अनुदान सङ्घीय सरकारबाट १ करोड ६५ लाख, समपूरक अनुदान प्रदेश सरकारबाट १ करोड १४ लाख ७३ हजार, विशेष अनुदान सङ्घीय सरकारबाट ५० लाख, विशेष अनुदान प्रदेश सरकारबाट ५० लाख, सडक बोर्ड नेपालबाट ८० लाख, सामाजिक सुरक्षा तर्फ ५० करोड, अन्य अन्तर सरकारी अख्तियारीबाट ३ करोड ५ लाख बजेटको स्रोतको रूपमा रहने नगर प्रवक्ता महेन्द्र खड्काले बताउनुभयो । उहाँकाअनुसार नीति कार्यक्रम तथा बजेटसँगै नगरपालिकाले आर्थिक विधेयक २०८० र आर्थिक विनियोजन विधेयक २०८०, महाकाली बहु प्राविधिक शिक्षालय स्थापना र सञ्चालन ऐन २०७८(संशोधन विधेयक २०८०) समेत संशोधन प्रस्ताव सहित पेस गरिएको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ‘समृद्ध भीमदत्त सुखी नगरवासीको साझा सोच, वातावरणमैत्री आर्थिक सामाजिक पूर्वाधार विकास हाम्रो अठोट’ भन्ने नारा सहित तय गरिएको छ ।
भीमदत्तको आर्थिक वर्ष २०८०/८१ को नीति,कार्यक्रम तथा बजेटमा शिक्षा,स्वास्थ्य र कृषिलाई बढी प्राथमिकता दिइएको छ । “हाम्रो उपज हाम्रै प्रयोग” भन्ने नाराका साथ कृषि क्षेत्रमा नगरपालिकालाई आत्मनिर्भर बनाउन व्यावसायिक कृषि खेतीलाई बढोत्तरी गर्नका लागि कृषि उत्पादन तथा उत्पादकत्वमा वृद्धि गर्न आवश्यक सहजीकरण गरिने, कृषि उत्पादनलाई अभिवृद्धि गर्न “एक वडा एक उत्पादन” को नीति अवलम्बन गरिने । कृषकहरूले उत्पादन गरेको कृषि उपजको भण्डारणका लागि शीत गृह, कृषि भण्डारण केन्द्र स्थापना तथा सञ्चालन गर्न सङ्घ सरकार तथा प्रदेश सरकारको समन्वयमा आवश्यक कार्य गर्न पहल गरिने, कृषि बालीमा किरा तथा रोगबाट हुने क्षति न्यूनीकरणका लागि कृषक लक्षित आकस्मिक बाली उपचार कार्यक्रम ल्याइने, कृषि व्यवसाय सञ्चालन गरिरहेका कृषकहरूलाई एकीकृत कृषि तथा पशुपालन कार्यक्रम सञ्चालन गर्न प्राविधिक तथा आवश्यक सहयोग गरिने प्रस्तुत नीति कार्यक्रममा समावेश छ ।