हरिश चन्द्र बाग, कञ्चनपुर । कञ्चनपुरको बेलौरीमा रामलीलाको तयारी भइरहेको छ । लोक परम्परागत धर्म, संस्कृति, कला, संस्कार र सत्चरित्रका लागि यही यही चैत्र १५ गतेबाट रामलीला मञ्चन गरिने बताइएको छ । समाजमा रहेका युवा तथा बालबालिकाहरुलाई धार्मिक ज्ञान अभिवृद्धि गराउन, उचित चरित्रको विकास गराउन, धर्म र संस्कृति संरक्षण तथा प्रवर्धन गर्न बेलौरीको शिवनगरमा रामलीला आयोजना गर्न लागिएको तालिमका निर्देशक सत्यराज जोशीले जानकारी दिनुभयो ।
बेलौरी नगरपालिका वडा नम्बर १० शिवनगरमा अवस्थित श्री सिद्धेश्वर शिव मन्दिरमा निर्माणाधीन श्री राधाकृष्ण मन्दिरलाई पूर्णता दिनका लागि आर्थिक सहयोग जुटाउन मर्यादा पुरुषोत्तम भगवान श्रीरामको कथामा आधारित श्री रामलीला प्रदर्शनका लागि केहीदिन पहिले गोपी प्रसाद उपाध्यायको संयोजकत्वमा रामलिला समिति समेत गठन गरिएको छ ।
समितिको उपसंयोजकमा पुष्पराज जोशी र मनराज उपाध्याय, सचिवमा पदम बहादुर शाह, सहसचिवमा पार्वती थापा, कोषाध्यक्षमा दीपेन्द्र बहादुर शाहलाई चयन गरिएको छ । रामलिला समितिको सदस्यमा तारादेवी खड्का, भानुभक्त ओझा, जय बहादुर शाही, महेन्द्र बिष्ट, गणेश उपाध्याय, पुष्पकमल पण्डित, शंकरदत्त जोशीलाई चयन गरिएको बताइएको छ ।
रामलीलाको तयारी हुँदै गर्दा राधाकृष्ण मन्दिर निर्माण समितिका संयोजक राजेन्द्र प्रसाद जोशीको संयोजकत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिको सदस्यमा कृष्ण बहादुर सिंह, डा. भुपेन्द्र बिष्ट, श्री गोपाल गुरुङ्ग, राम बहादुर स्वर्णकार, मदन चन्द, सचिन कठायत, प्रेम सिंह सावद र कमान सिंह बिष्ट रहनुभएको छ ।