हरिश्चन्द्र बाग, कञ्चनपुर, ०४ असार । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यालयलाई फजुल खर्च नियन्त्रण गर्न र किसानलाई बिउ, मलखादमा सहुलियत दिन राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुर क्षेत्र नम्बर १ युवा सङ्गठनले ध्यानाकर्षण गराएको छ । बेलौरी नगरपालिका कार्यालयमा भइरहेको बेथितिका बारेमा एकपछि अर्को गर्दै सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यापक विरोध भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी जागेको हो । फजुल खर्च रोकी आम नागरिकको पक्षमा काम गर्न पहिलो चरणमा भद्र शैलीमा आइतबार बेलौरी नगरपालिका कार्यालयमा गई नगर प्रमुख पोतिलाल चौधरीलाई सुझाव सहितको ध्यानाकर्षण पत्र दिइएको राष्ट्रिय प्रजातन्त्र पार्टी कञ्चनपुर क्षेत्र नम्बर १ युवा सङ्गठनका क्षेत्रीय अध्यक्ष मनोज चन्दले बताउनु भयो । बेथिति नरोकिए कडा कदम चाल्न बाध्य हुने राप्रपाले चेतावनी दिएको छ ।
महालेखापरीक्षकको वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८।०७९ मा बेलौरी नगरपालिका कार्यालयले खाजा, खाना र विविध शीर्षकमा गरेको खर्च रु ४७ लाख ७६ हजार ८१० रकम त बेरुजु देखिएको छ । यसका अतिरिक्त विभिन्न कार्यक्रम तथा योजनाहरूबाट गरिएको रकम स्वीकृत समेत गरिएको हुन्छ । खाजा, खाना र विविध शीर्षक मात्रै होइन, अन्य दर्जनौँ शीर्षकमा समेत गरी करोडौँ रकम अनियमितता भएको ठहर गरी महालेखापरीक्षकको वार्षिक प्रतिवेदनमा बेरुजु देखाइएको छ ।
"फजुल खर्चका लागि तपाईँलाई हामी खबरदारी गर्न चाहेका छौँ । यस नगरपालिकामा सबैजसो नागरिक कृषिमा आधारित छन् ।" राप्रपाको युवा सङ्गठनले बुझाएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ, "फजुल खर्च गर्नुको सट्टा कृषि आधुनिकीकरण लगायतका कार्यमा खर्च गरिदिएको भए हजारौँ किसान परिवारको भलो हुन्थ्यो, पालिकाको पनि आम्दानी बढ्थ्यो । आगामी आर्थिक वर्षमा किसानका लागि मलखाद, डिजेल, बिउबिजनको लागि १ करोड बराबरको सहुलियत प्रदान गरोस् भन्ने हाम्रो माग र सुझाव छ । यसका साथै खाजा, खाना, टुक्रे योजना, अपारदर्शी आर्थिक सहयोग अब उप्रान्त पूर्ण रूपले बन्द गरियोस्, यति सानो नगरपालिकामा ४७ लाखको खाजा, खाना खानु निश्चय पनि र जनप्रतिनिधिको गैरजिम्मेवारीपन हो भन्ने हाम्रो ठहर छ ।"