अहिले नेपालको राजनीतिक वृत्तमा चलिरहेको नाङ्गो नाचले म जस्तै कयौँ युवालाई सोच्न बाध्य बनाएको छ । तपाईँ यो लेखको शीर्षक देखेर के हो न के हो जस्तो लाग्यो होला लाग्नु पनि स्वाभाविक हो, शीर्षक नै त्यस्तै छ "धत् ! कस्तो देशमा जन्मिए छु " । यो लेखको शीर्षक राख्न मैले हजार चोटि सोचे तर यो भन्दा गतिलो शीर्षक भेटाउन भने मैले सकिन र अहिलेको वर्तमान परिस्थितिलाई देखेर यही शीर्षक उपयुक्त हुन्छ जस्तो भान मलाई भयो ।
अब त यस्तो लाग्न थाल्यो जे हुन्छ नेपाल मै हुन्छ, पछिल्लो समयको घटनाक्रमलाई गहिराइबाट नियाल्ने हो भने के भएको छ भन्दा पनि के भएको छैन भन्दा उपयुक्त हुन्छ । अहिलेसम्म जति पनि सरकार भनेका छन् हरेक सरकारको पाला मा एउटा न एउटा काण्ड घटेकै हुन्छ । अब त यस्तो लाग्न थाल्यो कुनै सरकारको पालामा कुनै काण्ड घटेन भने त्यो सरकार अपुरो हुन्छ । कम्युनिस्ट हुँ भनेर छाती फुलाउँदै हिँड्नेले पनि काण्ड मच्चाएकै छन् । म काँग्रेसी हुँ भन्दै हिँड्नेले पनि काण्ड मच्चाउन बाकी राखेका छैनन् । हुँदा हुँदा केही नयाँ गर्छु भन्दै नेपाली राजनीतिको आकाशमा उदाएका केही दलका सांसद पनि ती काण्डहरूबाट टाढा हुन सकेका छैनन् । काण्ड मच्चाउनमा को भन्दा को कम भन्ने प्रतिस्पर्धा चलेको छ, नेपाली राजनीतिको बजारमा ।
खैर, यी सब कुरा त छँदै छन्, यी पुरानो विरासत बोकेका ठूला दलहरूले अहिले स्वतन्त्र रूपमा नेपाली जनताको सेवा गर्छु भनी उदाएका केही स्वतन्त्र व्यक्तिहरूलाई पनि काम गर्न नदिने वातावरण सृजना गरेको देख्दा विरक्त लागेर आउँछ । धनगढीमा गोपी हमाल, धरानमा हर्क साम्पाङ र काठमाडौँमा बालेन्द्र शाह उर्फ बालेन् २०७९ मा भएको निर्वाचनबाट स्वतन्त्र रूपमा निर्वाचित भएर आएको कुरा त सर्वविदितै छ । तर ठूला दलहरूको हाली मुहाली रहेको स्थानीय तहमा स्वतन्त्र रूपमा निर्वाचित भएर आएका जनप्रतिनिधिलाई काम गर्न नदिएको अवस्था छ ।
खैर, यी सबै कुरालाई एक छिन बिर्सिएर अहिले चर्चामा रहेको अन्तर्राष्ट्रिय चासोको विषय नक्कली भुटानी शरणार्थी प्रकरणलाई नजिकबाट नियाल्दा खै कुन्नि कस्तो देशमा जन्मिएछु जस्तो आभास हुन्छ । कुनै देशका नेताले आफ्नै देशका जनतालाई नक्कली शरणार्थी बनाएर बेचेको घटना विरलै सुनिने गरेको छ । तर हाम्रा देशका नेताहरूले आफ्नै जनतालाई नक्कली शरणार्थी बनाएर बेचेको खबर सुन्दा यो देशमा किन जन्मिएको हुँला भन्ने प्रश्न मनमा खेलिरहेको छ । जनतालाई बेच्न पछि नहट्ने नेताले देश नै बेचे भन्ने खबर आयो भने पनि कुनै नौलो खबर हुने छैन ।
यो कस्तो देश जनता बेच्ने नेता ठूलै काम गरे जसरी हात हल्लाउँदै बिना हतकडी बयान दिन जान्छ । यो कस्तो देश जहाँ आफ्नै देशका जनता बेच्ने नेता बचाउन ठूलै कहलिएका नेता लागि परेका छन् । आफ्नो आफ्नो पार्टीका नेता बचाउन उनीहरू जन्मे देखिको बल लगाएर लागेका छन् । आफ्नो पार्टीका नेता तथा कार्यकर्ता बचाउन ठूलै रस्साकस्सी चलेको छ ।