कञ्चनपुर, १० जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकीमा रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरिएको छ । स्वास्थ्य चौकीको सभा हलमा बुधबार एक औपचारिक कार्यक्रमका बिच स्वास्थ्य चौकी इन्चार्जलाई खोप हस्तान्तरण गर्दै नगर प्रमुख हेमराज ओझाले रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ गरेका हुन् । सेवा शुभारम्भ गरेपछि नगर प्रमुख ओझाले कृष्णपुर नगरवासीले रेबिज रोग विरुद्धको खोप सेवा लिन नगरपालिका बाहिर जानुपर्ने झन्झटलाई मध्यनजर गर्दै कृष्णपुर स्वास्थ्य चौकीमै रेबिज रोग विरुद्धको खोप सेवा सुरु गरेको बताए ।
उनले नगरपालिका बाहिर सेवा लिन जाँदा आफ्ना नागरिकले कहिले चिकित्सक नभेट्ने, कहिले समयमै अस्पताल नपुग्ने र सेवा लिन पनि मालाखेती अस्पताल, सेती प्रादेशिक अस्पताल धनगढी वा महाकाली अस्पताल जानुपर्ने बाध्यता रहेकोले पनि आफूले विभिन्न निकायसँग समन्वय गरेर रेबिज रोग विरुद्धको खोप सेवा कृष्णपुर स्वास्थ्य चौकीमा शुभारम्भ गरेको बताए । आफू निस्वार्थ रूपमा जनताको सेवा गर्न कटिबद्ध रहेको भन्दै नगर प्रमुख ओझाले समृद्ध कृष्णपुर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह समेत गरे । रेबिज रोग विरुद्धको खोप सेवा शुभारम्भ कार्यक्रममा बोल्दै कृष्णपुर स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष एवं वडा नम्बर ५ का अध्यक्ष टेक पाण्डेले स्वास्थ्य र शिक्षालाई आमूल परिवर्तन गर्ने योजनालाई सबैले साथ दिनुपर्ने बताए । धेरैजसो विरोध मात्रै गर्ने नकारात्मकतातिर मात्रै ध्यान दिने गरेको भन्दै राम्रो काम जसले गरे पनि मुक्तकण्ठले प्रशंसा गर्न सक्नुपर्ने उनको भनाइ छ । त्यस्तै वडा नम्बर ७ का अध्यक्ष घुम्मन रानाले पालिकाको समृद्धिका लागि आफू काँधमा काँध मिलाएर हिँड्न तयार रहेको बताए ।
नमुना स्वास्थ्य चौकीको रूपमा अगाडि बढ्दै कृष्णपुर स्वास्थ्य चौकी ।।
कृष्णपुर नगरपालिकाको सदरमुकाम गुलरिया बजार क्षेत्रमै रहेको स्वास्थ्य चौकी नमुना स्वास्थ्य चौकीको रूपमा अगाडी बढ्न थालेको छ । नगरपालिकाको कार्यालयसँगै जोडिएको उक्त स्वास्थ्य चौकीमा चिकित्सक सहितको सेवा पाउन थालेपछि पछिल्लो समय सेवाग्राहीको भिड लाग्ने गरेको छ । आफ्नै घर आँगनमा चिकित्सक सहितको सेवा पाएपछि आफू एकदम खुसी भएको स्थानीय नवीना कठायतले बताइन् । त्यस्तै वडा नम्बर ५ कै सेवाग्राही अनिता विकले सुरुमा स–साना स्वास्थ्य समस्या पर्दा पनि आफूहरू धनगढी, महेन्द्रनगर जाने गरेको भए पनि अहिले भने अत्यन्तै सजिलो भएको बताउँछिन् । २०५० सालमा उपस्वास्थ्य चौकीको रूपमा स्थापना भएको कृष्णपुर स्वास्थ्य चौकीले हाल चौबिसै घण्टा आकस्मिक सेवा प्रदान गर्दै आएको छ । दर्ता पुर्जा, निःशुल्क प्रयोगशाला सेवा, चिकित्सक सहितको ओ.पी.डी.सेवा, निःशुल्क औषधी, सुत्केरी महिला तथा ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा, उपमेयर सुत्केरी स्याहार कार्यक्रम, बाल स्वास्थ्य कार्यक्रम, गर्भवतीलाई निःशुल्क झुल वितरण, निःशुल्क रगत, आमा स्वास्थ्य कार्यक्रम, नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद) सञ्चालनमा रहेको छ । हाल २२ जना कर्मचारी सहित सेवा दिँदै आएको कृष्णपुर स्वास्थ्य चौकीलाई आइ.सी.यु. सहितको सुविधा सम्पन्न नगर अस्पताल बनाउने योजना रहेको नगरप्रमुख हेमराज ओझा बताए ।