हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ जेठ । कञ्चनपुरको बेलौरी बजारमा राज कम्प्युटर सेन्टर लगायत थुप्रै व्यवसायका सञ्चालकको रूपमा रहेका राज भनी चिनिने राजकुमार चौधरीको फेरी अर्को धन्दा बाहिरिएको छ । यसअघि थुप्रै सोझासाझा, आर्थिक रूपले सङ्कटमा परेका गरिब तथा विपन्न नागरिकहरूलाई ऋण दिएर आर्थिक सहयोग गर्ने बहानामा विभिन्न प्रलोभन, आश्वासन र झुक्क्यानमा पारेर ती नागरिकहरुको नाममा रहेको जग्गा आफ्नो वा आफ्ना परिवारका सदस्यको नाममा नामसारी गर्ने गरेको तथ्य त स्थानीयदेखि राष्ट्रिय स्तरसम्मका सञ्चारमाध्यमहरूबाट सप्रमाण सार्वजनिक भइसकेकै विषय हो ।
उक्त घटनाका पीडितहरूले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दिएको उजुरीका आधारमा एक पटकका लागि जिल्ला प्रहरी कार्यालयमा वादी र प्रतिवादी दुवै पक्षलाई बसाई छलफल गरेर सकिन्छ भने मेलमिलाप र छलफलकै माध्यमबाट समस्याको समाधान खोज्ने वातावरण सृजना गर्दा केही पीडितहरूलाई अनेक किसिमका दबाब र प्रभावमा पारेरै भए पनि निश्चित समय सीमा भित्र दुवै पक्षको लेनदेनलाई टुङ्ग्याउने र जग्गाधनीहरूकै नाममा जग्गा नामसारी गरिदिने सहमति भएको थियो । उक्त घटनाको स्थलगत अध्ययन गरेर प्राप्त प्रमाणका आधारमा सत्य तथ्य निष्पक्ष समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यम र सम्बन्धित पत्रकारहरूलाई प्रतिवादी राज, उनका परिवारका सदस्यहरू, उनका शुभचिन्तकहरूले र उनीहरू मध्येकै केही सामाजिक सञ्जालका फेक आइडी प्रयोगकर्ताहरूले त ज्यानै लिनेसम्मका धम्की समेत दिएका थिए । तर प्रमाणका आधारमा समाचार सम्प्रेषण गरेको हुँदा पत्रकारहरू र सञ्चारमाध्यमहरू कसैको धम्कीबाट डराएनन् ।
यति मात्रै होइन, उक्त गिरोहले जातीय तथा साम्प्रदायिक दङ्गा फैलाउने र सामाजिक सद्भाव खलबलाउने गरी कुप्रचार गर्दै आफू चोखिने असफल प्रयास पनि गरेको थियो । तर उनको लहलहैमा उनी जस्तै केही व्यक्तिहरू मात्रै लागे । अरूहरूले त उनका सबै कर्तुत थाहा पाएपछि सकभर उनी र उनीजस्तै अन्य व्यक्तिहरूबाट सावधान हुनु पर्ने कुरा सिके । उनका गलत क्रियाकलापका विरुद्धमा आवाज उठाउनेहरूलाई उनले थारु थारुलाई लडाउन खोजेको असामाजिक आरोप लगाए पनि धेरैले उनका गतिविधिबाट उनलाई सोझा थारु खाने, चतुर थारु भनेर चिनिसकेका छन् । आफ्ना कमजोरी सच्याएर अगाडि बढ्न र पुराना कमजोरी दोहोरिन नदिन सतर्क हुनुपर्ने व्यक्ति एउटा, दुइटा मात्रै होइन, थुप्रै अवैधानिक गतिविधिमा सक्रिय हुने, सत्ता र शक्तिको आडमा कानुनको उपहास गर्ने जस्ता कार्य हुन्छन् भने त्यहाँ पीडित पक्षले सहजै न्याय पाउन कठिन मात्रै होइन, निक्कै कठिन हुन जान्छ । यो तीतो सत्य नै हो । तर सत्यको एक न एक दिन त जीत हुन्छ नै ।
उनै राज भनी चिनिने राजकुमार चौधरीलाई चेक अनादरको आरोप पनि लागेको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ विद्यानगर बस्ने मेवाराम चौधरीका छोरा राजेश चौधरीसँग लिएको सापटी रकम फिर्ता नदिने, चार पाँच महिनापछिको मिति राखेर चेक दिने, चेकमा उल्लेखित मितिमा बैङ्कमा गई साट्न खोज्दा खातामा पैसा नहुने, सापटी फिर्ता माग्न पटक पटक अनुरोध गर्दा समेत अटेरी गर्ने र उल्टै धाकधम्की दिने क्रियाकलाप गर्ने गरेको पीडित राजेश चौधरीले बताएका छन् । लामो समयसम्म दुःख दिइराख्ने उनको नियत ठिक नभएको थाहा पाएपछि पीडित राजेश चौधरीले सम्बन्धित बैङ्कमा तीन पटकसम्म चेक अनादर प्रमाणित गरेपछि आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा उजुरी दिँदा प्रहरीले दर्ता नगरेपछि उक्त रहस्य बाहिरिएको हो । बरु उल्टै प्रतिवादी आफै जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गई पीडितका विरुद्धमा अनेक आरोप लगाउँदै, अफवाह फैलाउँदै निवेदन दिएर घटनालाई अन्तै मोड्न खोज्ने, सत्ता र शक्तिकै आडमा पीडित पक्षलाई दुःख दिने नियतले जिल्लामा झिकाउन लगाई डर त्रास, धाकधम्की दिने जस्ता गतिविधि गर्ने गरेको पाइएको छ ।
यतिसम्म कि पीडितले व्यवसायीहरूको साझा संस्था बेलौरी उद्योग वाणिज्य सङ्घमा निवेदन दिएपछि वास्तविकता बुझेर बेलौरी उद्योग वाणिज्य सङ्घले समेत उक्त घटनाको उजुरी दर्ता गरी आवश्यक छानबिन गर्न इलाका प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय सहितलाई बारम्बार अनुरोध गर्दा समेत बेलौरी प्रहरीले उजुरी दर्ता नगरेपछि बेलौरी उद्योग वाणिज्य सङ्घ नै आन्दोलित हुनु परेको छ । शनिबार दिनभर सोही विषयमा आवश्यक छलफल गरी बेलौरी उद्योग वाणिज्य सङ्घले इलाका प्रहरी कार्यालय बेलौरीलाई लिखित पत्र नै बुझाएको छ । त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरीले प्रतिवादी राजकुमार चौधरीसँग टेलिफोन कुराकानी गरेपछि जेठ ७ गते आइतबार बिहानसम्म हरहिसाब बुझाउने भनेको र सोही कुराकानीका आधारमा अन्तिम पटकका लागि आइतबार बिहानसम्म पर्खिदिन पीडित पक्ष र उद्योग वाणिज्य संघलाई अनुरोध गरेको छ । यदि आइतबार बिहानसम्म हरहिसाब नबुझाई अझै पनि आँखामा छारो हाल्ने कार्य गरेमा प्रतिवादी राजकुमार चौधरीका विरुद्धमा आएको उजुरी दर्ता गर्ने इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ । सो समयसम्म पर्खिन तयार भएका पीडित पक्ष र बेलौरी उद्योग वाणिज्य सङ्घले भने त्यसपछि उजुरी दर्ता नगरेमा र न्याय नपाएमा चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
पीडित राजेश चौधरीले इलाका प्रहरी कार्यालयमा दिएको उजुरी यस्तो छ ।
बेलौरी उद्योग वाणिज्य संघले इलाका प्रहरी कार्यालयमा दिएको निवेदन यस्तो छ ।