कञ्चनपुर, ०१ जेठ । कञ्चनपुरका राजेश भट्ट २२ वर्षेदेखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका छन् । उनी विगत लामो समयदेखि अमेरिकामा बस्ने नेपालीहरूमा केन्द्रित रहेर समाजसेवा गर्दै आएका छन् । ‘रिजउड नेपलिज सोसाइटी’ नामक संस्था खोलेर उनी पूर्ण रूपमा समाजसेवामा छन् । बैतडी समाजको आग्रहमा समाजसेवी भट्टले विपद् तथा दैविक प्रकोपमा सहायताका लागि १ लाख नेपाली रुपैयाँ हस्तान्तरण गरेका छन् । बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टको विशेष आग्रहमा समाजसेवी भट्टले विभिन्न समयमा आउने विपद् तथा दैविक प्रकोपमा परेकाहरूको उद्धारका लागि भन्दै कोष निर्माणमा सहयोग पु¥याउन एक लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
‘मायाप्रकाश भट्ट ज्यूले कोष निर्माण गर्छौ, सहयोग गर्नु¥यो भन्नुभयो, म आफै समाजसेवा गर्न रुचाउने मान्छे भएको हुँदा झनै विपद् न्यूनीकरण तथा उद्धारका लागि कोष निर्माण गर्न खोज्नु राम्रो पक्ष हो, तसर्थ मैले उहाँहरूको संस्थाका लागि १ लाख रुपैयाँ हस्तान्तरण गरेर कोषको प्रारम्भ गर्ने मौका पाएँ ।’ समाजसेवी भट्टले भने । बैतडी समाज कैलालीको आग्रहमा समाजसेवी भट्टबाट सामाजिक फण्ड निर्माणका लागि सङ्कलनको सुरुवात गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताए । भट्टका अनुसार उक्त कोष निर्माणको कार्यले निरन्तरता पाउने छ । १० लाखसम्म आर्थिक सङ्कलन गरेर विपद् जोखिम न्यूनीकरण तथा उद्धार जस्ता कार्यहरू गर्ने मायाप्रकाश भट्टले बताए । बैतडी समाज कैलालीले वर्षमा दुई ओटा भव्य कार्यक्रमहरु गर्ने गरेको उनले बताए । बैतडीमा वर्षको एक पटक विभिन्न विधाका विशेषज्ञ डाक्टरहरूको उपस्थितिमा स्वास्थ्य शिविर र अर्को कैलाली–कञ्चनपुरमा वर्षको एक चोटि रक्तदान कार्यक्रम गर्ने गरेको उनको तर्क छ ।
अमेरिकाको न्यूयोर्कमा ‘रिजउड नेपलिज सोसाइटी’ नामक सामाजिक संस्थाका अध्यक्ष समेत हुन्, समाजसेवी राजेश भट्ट । समाजसेवी भट्टले उक्त संस्था मार्फत अमेरिकामा मन्दिरहरू बनाउने, नेपाली धर्म, कला संस्कृति, पहिचान तथा भेषभुषालाई जगेर्ना गर्ने उद्देश्यले विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै आएका छन् । नानी बाबुहरूलाई नेपाली भाषा पठनपाठन गराउने, रक्तदान जस्ता कार्यक्रमहरु गर्ने, नेपालबाट अमेरिका पुगेर अलपत्र परेका, असहाय, अपाङ्गता भएकाहरूको उद्धार गर्ने, नेपालीहरूका लागि राम्रो ठाउँमा कामकाज तथा जागिर खोज्ने, लावारिसहरुको अन्तिम संस्कार गर्ने लगायतका कार्यक्रम समाजसेवी भट्टले गर्दै आएका छन् । ४ सय ५५ नेपालीहरू साधारण सदस्य रहेको ‘रिजउड नेपलिज सोसाइटी’ मा १६ जनाको कार्यसमिति रहेको अध्यक्ष भट्टले बताए । कोरोनाको महामारीका समयमा समाजसेवी भट्ट लगायतको समूहहरूले अमेरिका र नेपालका थुप्रै ठाउँमा करोडौँका स्वास्थ्य सामग्रीहरू वितरण समेत गरेका थिए ।