हरिश्चन्द्र बाग, बैतडी । सुदूरपश्चिममा कैलालीको धनगढी पछिको दोस्रो ठूलो विमानस्थलका रूपमा परिचित बैतडीको पाटनमा रहेको विमानस्थल पछिल्लो १४ महिनादेखि सञ्चालनमा छैन । बैतडी, दार्चुला, डडेलधुरा र बझाङको केन्द्र भाग पाटनमा रहेको बैतडी विमानस्थल सञ्चालनमा नआउँदा यहाँका नागरिकले सास्ती व्यहोर्नु परिरहेको छ भने सुदूरपश्चिमको पर्यटन विकासमा समेत धक्का लागेको छ ।
२०३२ सालदेखि निर्माण सुरु भएको बैतडी विमानस्थल २०३५ सालदेखि सञ्चालनमा आएको थियो । तर २०५२ सालदेखि उक्त विमानस्थलबाट हवाई सेवा बन्द भयो । पछि २०५८ सालमा सशस्त्र द्वन्द्वको क्रममा तत्कालीन विद्रोही माओवादीले बम हानेर विमानस्थलको कार्यालय र टावर पूर्ण रूपमा ध्वस्त बनाएको थियो । मध्य पहाडी लोकमार्गमा पर्ने स्थानमा १० वटा अत्याधुनिक शहर निर्माण गर्ने सरकारको योजना अन्तर्गत बैतडीको पाटन पनि छनौट गरिएको थियो । त्यसपछि पुनः सञ्चालनको योजना सहित २०७३ सालमा ११ करोडको लागतमा विमानस्थलको धावनमार्ग, टावर र कार्यालय पुनर्निर्माणको सम्झौता भयो ।
२०७७ असोजदेखि आंशिक रूपमा बैतडी विमानस्थल सञ्चालनमा आयो पनि । डेढ वर्षसम्म निजी एयरलाइन्स समिट एयरले साप्ताहिक रूपमा धनगढी–पाटन–धनगढी उडान भ¥यो । यात्रु अभावको कारण देखाउँदै २०७८ चैत १० गतेयता उडान नभरेपछि विमानस्थल पुनः बन्द भएको छ । हप्ताको एक दिन मात्रै उडान भर्ने र त्यो पनि अत्यधिक महँगो भएपछि यात्रुहरूको अभाव हुनु स्वाभाविक हो । बन्द हुने समयमा पाटनदेखि धनगढी विमानस्थलसम्म १७ मिनेटको हवाई यात्रामा रु. ५ हजार बढी भाडा निर्धारण गरिएको थियो ।
जुन बेला विमानस्थलको धावनमार्ग कच्ची थियो, त्यस बेला साताको दुई वटा उडान नियमित रूपले हुने गरेको पाटनका स्थानीय एवं बैतडी हुलाक कार्यालयमा कार्यरत भानदेव भट्टले सुनाउनु भयो । ‘त्यस बेला सबैलाई सुविधा भएको थियो,’ उहाँले भन्नुभयो, ‘अहिले सबै संरचना बनिसकेको भए पनि जहाज आउँदैन । विमानले सकभर दैनिक, नभए एक दिन बिराएर पनि उडान भर्ने हो भने दुःख बिरामी परेकादेखि अन्य सबैले सेवा पाउन सक्ने थिए ।’
पाटनमा विमानस्थल रहे पनि हवाई सेवा सञ्चालन नहुँदा बिरामीलाई अस्पताल पु¥याउन यहाँका बासिन्दाले सबैभन्दा बढी सास्ती खेप्नुपरेको पाटनका स्थानीय घनश्याम सागर पन्तको भनाइ छ । ‘विमानको नियमित उडान हुँदा बिरामी परेको अवस्थामा छिटोभन्दा छिटो अस्पताल पुग्न सकिन्थ्यो,’ पन्तले भन्नुभयो, ‘यहाँबाट धनगढी जान सडक मार्ग हुँदै जानुपर्दा ७।८ घण्टा लाग्छ । यहाँ अस्पतालको राम्रो व्यवस्था पनि छैन ।’ आपत्कालीन अवस्थामा उपभोग गर्न पाउनुपर्ने अत्यावश्यक सुविधाबाट समेत त्यहाँका बासिन्दा वञ्चित भएका छन् ।
२०७८ भदौदेखि निर्माण सुरु गरिएको टर्मिनल भवन समेत चार करोड ९७ लाख रुपैयाँ लागतमा बनिसकेको छ । प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हुँदा बहुवर्षीय आयोजना अन्तर्गत बैतडी विमानस्थल स्तरोन्नतिका लागि १ करोड ५० लाख ४४ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । सोही समयमा सुदूरपश्चिमका ९ वटै जिल्लामा विमानस्थलका लागि बजेट विनियोजन गरिएको चर्चा भयो । तर हाल कैलालीको धनगढी विमानस्थल बाहेक अन्य सबै विमानस्थल बन्द छन् ।
बन्द रहेका विमानस्थल पुनः सञ्चालन गर्न सकिएमा यहाँका नागरिकहरूले आपत्कालीन अवस्थामा अत्यावश्यक सुविधा उपभोग गर्न पाउनेदेखि पर्यापर्यटनको विकासमा समेत टेवा पुग्ने पर्यटन व्यवसायी केशव पाण्डेयको बुझाइ छ । पाण्डेय भन्नुहुन्छ, ‘सरकारले सञ्चालन गरिदिनु पर्थ्यो, त्यो हुन सकेको छैन । यस कारण यहाँ आन्तरिक पर्यटकहरू समेत आउन सकेका छैनन् ।’ उहाँका अनुसार काठमाडौँबाट ३०।३२ घण्टाको सडक यात्रा गरेर आउनुपर्ने बाध्यता छ ।
विमानस्थलहरूको अन्तर्राष्ट्रिय कनेक्टिभिटी भयो भने विदेशी पर्यटकहरूले हवाई यातायात मार्फत घुम्न आउन सक्ने वातावरण रहन्छ । त्यस्तै, ताक्लाकोट र वनबासाको नाका जोडिएको अवस्थामा यहाँबाट कैलाश मानसरोवर जाने पर्यटकहरू आउने सम्भावना धेरै हुने आन्तरिक पर्यटन पुनरुत्थान समिति सुदूरपश्चिम प्रदेशका संयोजक मायाप्रकाश भट्टको भनाइ छ । जसका कारण सुदूरपश्चिमको गरिबी न्यूनीकरणसमेत हुने उहाँले जनाउनु भयो ।
बैतडी विमानस्थलमा २० मिटर चौडाइ र पाँच सय ८० मिटर लम्बाइ रहेको धावनमार्ग छ । उक्त धावनमार्ग अहिले खेलकुद, सवारीसाधन सिक्ने र टिकटकलगायत भिडियो बनाउने ठाउँका रूपमा परिणत भएको छ । बैतडी विमानस्थललगायत अन्य धेरै विमानस्थलहरूको स्तरोन्नतिका लागि सरकारले प्रत्येक वर्ष बजेट विनियोजन गर्ने गरेको छ । तर त्यसको उपलब्धि भने शून्य प्रायः छ ।