हरिश्चन्द्र बाग, कञ्चनपुर, २२ बैशाख । सुदूरपश्चिम प्रदेश सरकारको आयोजनामा कञ्चनपुर क्षेत्र नम्बर १ का दुवै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठी गरिएको छ । शुक्रबार बेलौरी नगरपालिकाको सभा हलमा आयोजित गोष्ठीमा प्रदेश सभा सदस्यद्वय दिवान सिंह बिष्ट र वीर बहादुर थापा, चार वटै पालिकाका प्रमुख एवं प्रतिनिधि, विषयगत कार्यालयका प्रतिनिधिहरू लगायतको सहभागितामा आगामी आर्थिक वर्षका लागि योजना छनौटका विषयमा छलफल गरिएको हो । दोदा, मोहना, स्याली, पथरिया, चौधर नदीको क्षति नियन्त्रणका लागि तटबन्ध, नदी नाला तथा खोलाहरूमा पुल निर्माण, चक्रपथ निर्माण, सडक कालोपत्रे र मर्मत सम्भार, मन्दिर, विद्यालय, स्वास्थ्य संस्था लगायतका भौतिक संरचना निर्माण, भन्सार नाका, रानाथारु सङ्ग्रहालय, अस्पताल, खेलमैदानको स्तरोन्नति, छाडा पशुचौपाया नियन्त्रण तथा गौशाला निर्माण, सिँचाइ तथा विद्युतीय सिँचाइ विस्तार लगायतका योजनालाई प्राथमिकता दिनुपर्ने माग भएको छ । स्थानीय तह र प्रदेश सरकारका थुप्रै योजनाहरू एकनाशकै हुने विगतको समस्यालाई दोहोरिन नदिन प्रदेश सरकारले गरेको नयाँ अभ्यासको स्थानीय तहका प्रतिनिधिहरूले प्रशंसा गर्नु भएको छ ।
सोही क्रममा कुण्डा सब डिभिजन बन कार्यालय पच्कडिया कञ्चनपुरका प्रमुख, सहायक बन अधिकृत दिनेश कुमार यादवले मानव-वन्यजन्तुबिचको द्वन्द्व न्यूनीकरणका लागि स्थानीय तह र प्रदेश सरकारको समन्वयमा योजना बनाउनु पर्ने आवश्यकता औँल्याउनु भयो । केही समयअघि बाघको आक्रमणबाट महिलाले ज्यान गुमाउँदा बर्दियाबाट प्राविधिक टोली बोलाई २४ घण्टासम्म खोज तलासमा लाग्नु परेको बाध्यतालाई स्मरण गर्दै यसको समाधानका लागि स्थानीय र प्रदेश सरकारले प्राथमिकता दिनुपर्ने उहाँले धारणा राख्नुभयो । गोष्ठीलाई सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेश सभा सदस्यद्वय वीर बहादुर थापा र दिवान सिंह बिष्टले गोष्ठीमा प्रस्तावित योजनाहरूलाई प्राथमिकताको आधारमा छनौट गरिने र छुटेका योजनाहरूलाई छलफलबाट समावेश गरिने उल्लेख गर्नुभयो । कर्मचारी र जनप्रतिनिधि समेत मिलेर विकास निर्माणका योजना सफल बनाउनु पर्ने भए पनि एक अर्कामा वैमनस्यता बढ्दै जानु उचित नभएको प्रदेश सभा सदस्यहरूको भनाइ छ । नीति र योजना बनाउने कार्य जनप्रतिनिधिहरूले गर्ने र त्यसको सफल कार्यान्वयन कर्मचारीले गर्नुपर्ने भए पनि समन्वयको अभावमा त्यसो हुन नसकेको उहाँहरूको धारणा छ । कर्मचारीले जनप्रतिनिधिलाई र जनप्रतिनिधिले कर्मचारीलाई दोषी देखाएर उम्किने प्रवृत्ति प्रति असन्तुष्टि व्यक्त गर्दै उहाँहरूले सबैको सहकार्य र समन्वयमा जनहितमा काम गर्न सकिने बताउनु भयो ।
वडादेखि पालिका हुँदै प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमापछि अब जिल्ला समन्वय समिति हुँदै मन्त्रालयहरू र प्रदेश सभामा समेत छलफल गरिने प्रदेश निर्वाचन क्षेत्र स्तरीय योजना तर्जुमा गोष्ठीका संयोजक महादेव बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार, कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नम्बर १ को ख अन्तर्गत बेलडाँडी र बेलौरीका आयोजनाहरूको प्रस्ताव अनुसूची ६ बमोजिमको विवरण पेस भएको छ भने निर्वाचन क्षेत्र नम्बर १ को क अन्तर्गत पुनर्वास र लालझाडीका आयोजनाहरूको प्रस्ताव गोष्ठीमा प्रस्तुत गरिएको र यही बैशाख २५ गतेभित्र सम्बन्धित निकायमा पेस गर्नुपर्ने छ । गोष्ठीले कञ्चनपुर जिल्लाको स्थापनाकालदेखि नै सञ्चालनमा रहेको बेलौरी छोटी भन्सार कार्यालय हाल बन्द रहेको हुँदा उक्त बन्द रहेको बेलौरी भन्सार कार्यालय स्तरोन्नति गरी पुनः भन्सार नाकाको रूपमा सुचारु गरिदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ । त्यस्तै, वन्यजन्तु डार्ट गर्ने सामग्रीको लागि आवश्यक पर्ने बजेट डिभिजन वन कार्यालय कञ्चनपुरमा उपलब्ध गराइदिन सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय समेत गरिएको संयोजक बिष्टले बताउनु भयो ।