हरिश्चन्द्र बाग, कञ्चनपुर, १८ बैशाख । परराष्ट्र मन्त्री एनपी साउँदले कञ्चनपुरको बेलौरी छोटी भन्सार कार्यालयको स्थलगत अनुगमन गर्नु भएको छ । पछिल्लो एक वर्षयता तालाबन्दी अवस्थामा बेवारिसे रहेको बेलौरी छोटी भन्सार कार्यालय र करिब एक शताब्दी पुरानो भन्सारकै जीर्ण भवनको सोमबार दिउँसो स्थलगत अनुगमन गर्दै मन्त्री साउँदले उक्त भन्सार कार्यालयलाई पुनः सञ्चालनका लागि सम्बन्धित मन्त्रालयसँग समन्वय गर्ने बताउनु भयो ।
मन्त्री साउँदलाई अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले कञ्चनपुर लगायत देशका विभिन्न क्षेत्रमा देखिएको सीमा विवाद समाधान सहितका विभिन्न माग गर्दै ज्ञापन पत्र पेस गरेको समूहका संयोजक पल्लवराज भट्टले जानकारी दिनुभयो । बेलौरी नगरपालिका कार्यालयमा आयोजित भेटघाट कार्यक्रममा नगर प्रमुख पोतिलाल चौधरी सहित जनप्रतिनिधिहरू र सरोकारवाला पक्षले मन्त्री साउँदसँग समसामयिक विषयमा छलफल गरेको बताइएको छ । त्यस क्रममा बेलौरी उद्योग वाणिज्य संघले समेत विभिन्न माग राख्दै ज्ञापनपत्र पेस गरेको बेलौरी उद्योग वाणिज्य संघका अध्यक्ष हिरासिंह बिष्टले बताउनुभयो । नेपालसँग जोडिएका अन्तर्राष्ट्रिय सीमाहरूमा देखिएको सीमा विवादलाई वार्ता, छलफल र कूटनीतिक पहलबाट समाधान गरिने परराष्ट्र मन्त्री साउँदको भनाइ छ ।
यही बैशाख ३ गते परराष्ट्र मन्त्रीमा नियुक्त भएपछि पहिलो पटक गृह जिल्ला कञ्चनपुर पुग्नु भएका साउँदले सोमबार नै नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ ले आयोजना गरेको बधाई ज्ञापन तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई समेत सम्बोधन गर्नु भएको छ । मन्त्री साउँदले कुनै समय आफू पनि कञ्चनपुर क्षेत्र नम्बर १ बाट निर्वाचित भएर संसदमा पुगेको स्मरण गर्दै यहाँका समस्या समाधानका लागि केन्द्रित हुने प्रतिबद्धता जनाउनु भयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले संघीय सरकारमा परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालेकोमा मन्त्री साउँदलाई बधाई ज्ञापन गर्दै कञ्चनपुर क्षेत्र नम्बर १ का समस्याहरू अवगत गराउँदै समाधानका लागि आग्रह गर्नुभयो । उहाँले बेलौरी भन्सार, सीमा विवाद, हुलाकी सडकखण्डमा भारतको अवरोध लगायतका विषयमा मन्त्री साउँदको ध्यानाकर्षण गराउनु भयो । त्यस क्रममा नेपाली काँग्रेसको क्षेत्रीय समिति, गाउँ तथा नगर समिति, स्थानीय जनप्रतिनिधिहरू, नागरिक अगुवाहरू र विभिन्न संघ सङ्गठनहरूले विविध समस्या समाधानका लागि मन्त्री साउँदलाई ज्ञापन पत्र पेस गरेको बताइएको छ ।
सोमबार नै पुनर्वास नगरपालिकाको सभा हलमा समेत मन्त्री साउँदलाई बधाई कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री साउँदले पुनर्वासको चौतर्फी विकासमा आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस क्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य वीरबहादुर थापा, पुनर्वास नगरपालिकाका नगर प्रमुख तोयप्रसाद शर्मा लगायतले मन्त्री साउँदलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कञ्चनपुरको दक्षिणी क्षेत्रमा देखिएका समस्या समाधान र समग्र विकासका लागि अनुरोध गर्नु भएको छ ।