हरिश चन्द्र बाग, कञ्चनपुर, ०४ माघ । कञ्चनपुरमा बेलडाँडीबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज भित्र पर्यटकहरुलाई जंगल सफारी गराउने उद्देश्यले शनिबार प्रवेशद्वारको शिलान्यास गरिएको छ । नेपाल सरकारका वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेत र खानेपानी मन्त्री बिना मगरले संयुक्त रूपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको दोस्रो प्रवेश द्वारको शिलान्यास गर्नु भएको हो । बेलडाँडी गाउँपालिकाले नेपाल भ्रमण वर्ष २०२० को अवसरमा विशेष कार्यक्रमको आयोजना गरी संघीय सरकारका दुवै मन्त्री सहित सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्ट, प्रदेश सभा सदस्यहरु, जिल्लाका विभिन्न स्थानीय तहका प्रतिनिधि सहितको उपस्थितिमा उक्त प्रवेश द्वारको शिलान्यास गराएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई सरकारले खुला चिडियाखानाका रूपमा विकास गर्ने लक्ष्य राखेको बताउनु भयो । उहाँले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा स्वदेशी तथा विदेशी पर्यटकहरु बढाउन सरकारले पूर्वाधारको विकास गर्न लागिरहेको जानकारी दिनुभयो । “ आरक्ष क्षेत्र हिजोका दिनमा समस्याका रूपमा देखा परेको थियोे तर अब यो क्षेत्र आयस्रोत आर्जन गर्ने अवसर भएको छ, उहाँले भन्नुभयो “आरक्ष क्षेत्रबाट प्रताडित हुनुपर्ने दिन अब आउँदैन । यसलाई आर्थिक रुपान्तरणको माध्यम बनाउनुस् । यहाँ होम स्टे चलाउनुस्, अनि युवाहरूलाई नेचर गाइडको तालिम दिने व्यवस्था गर्नुस् “ भन्नुभयो ।
त्यस्तै कार्यक्रममा खानेपानी मन्त्री बिना मगरले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्र आर्थिक समृद्धिको आधार बन्दै गएको बताउनुभयो । उहाँले यस क्षेत्रका जनताले अब आरक्षबाट राम्रो आम्दानी गर्ने अवसर प्राप्त गरेको धारणा राख्नुभयो । “ हिजो यहाँका जनताले जंगली जनावरबाट दुःख पाएका थिए तर अब सरकारले समस्याको समाधान खोज्दै छ, उहाँले थप जोड दिदै भन्नुभयो, “आरक्ष क्षेत्र आयस्रोतको मुख्य केन्द्र बन्दै छ । यसलाई समृद्धि संग जोडेर हेर्नुपर्ने बेला आएको छ ।“ उहाँले यस क्षेत्रका जनताले माग गरिरहेका खानेपानी, सडक, ढल निकास लगायत अन्य समस्याहरुलाई क्रमशः समाधान गर्दै लैजान पहल भैरहेको बताउनु भयो ।
बेलडाँडी गाउँपालिकाका अध्यक्ष धन बहादुर थापाले यस क्षेत्रका समस्याहरुबारे दुबै मन्त्री समक्ष ध्यानाकर्षण गराउनु भएको थियो । नेपाल भ्रमण वर्ष सुरु भैसकेकोले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढाउने गाउँपालिकाको उद्देश्य रहेको छ । अहिले एउटा मात्र प्रवेश द्वारबाट निकुञ्जमा जंगल सफारी हुने गरेकोमा अब अर्को प्रवेश द्वार खुला भएपछि पर्यटकहरु बढ्ने विश्वास गरिएको छ । निकुञ्जमा जंगल सफारी गराउन दोस्रो प्रवेश द्वार खोल्न खानेपानी मन्त्री बिना मगरले विशेष भूमिका खेल्नु भएको थियो ।