हरिश्चन्द्र बाग, कञ्चनपुर, १३ बैशाख । कञ्चनपुरको पुनर्वासमा सामुदायिक उद्धारकर्मीहरूलाई आधारभूत खोज तथा उद्धार सम्बन्धी तालिम प्रदान गरिएको छ । नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्युए) को आयोजना तथा पुनर्वास नगरपालिकाको समन्वयमा आर्थिक विकास मार्फत विपद् जोखिम व्यवस्थापन परियोजना (एमरेड) अन्तर्गत दोदा जलाधार क्षेत्र प्रभावित समुदायहरूका लागि आधारभूत खोज तथा उद्धार सम्बन्धी ४ दिने तालिम बैशाख ३ देखि ६ गतेसम्म पहिलो इभेन्ट र बैशाख १० गतेदेखि १३ गतेसम्म दोस्रो इभेन्ट समापन भएको छ । उक्त तालिमबाट ६२ जना सहभागीहरू प्रत्यक्ष लाभान्वित भएका छन् । तालिमको प्रशिक्षण नेपाल रेडक्रस सोसाइटीका गोदाम अधिकृत लक्ष्मण दत्त भट्ट र दीपराज चटौतले गर्नु भएको थियो । तालिमको चौथो दिन बुधबार दोदा नदीमा खोज तथा उद्धार सम्बन्धी कृत्रिम नमुना अभ्यास समेत गरिएको परियोजना संयोजक महेश घिमिरेले जानकारी दिनुभयो । बैशाख १० देखि तालिम प्रदान गरिएको र अन्तिम दिन बुधबार नदीमै नमुना अभ्यास गरिएको हो । नमुना अभ्यासपछि समग्र तालिम र अभ्यासको समीक्षा गर्दै कार्यक्रमको समापन गरिएको छ ।
सहभागीका तर्फबाट बोल्दै सामुदायिक उद्धारकर्मी हरदेव सिंह रानाले चार दिनसम्म दिइएको खोज तथा उद्धार तालिमबाट आफूले खोज तथा उद्धारका आधारभूत ज्ञान सीप सिकेको र भोलि समुदायमा हुने कुनै पनि किसिमको विपद्को घटना घटेमा आफू आत्मविश्वासका साथ खोज तथा उद्धार कार्य गर्न सक्षम भएको उल्लेख गर्नुभयो । समापन सत्रमा बोल्दै विपद् व्यवस्थापन शाखाका प्रमुख ओमनाथ ढकालले सामुदायिक खोज तथा उद्धारकर्मीहरू पालिकाको लागि सम्पत्तिको रूपमा रहेको उल्लेख गर्दै पालिकाले विपद् पूर्व तयारीका लागि स्थानीय आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालन प्रक्रियामा रहेको बताउनु भयो । तालिम प्राप्त उद्धारकर्ताहरूलाई श्रोतको रूपमा रोष्टरमा समेत राखिने र आवश्यक परेको समयमा उद्धारकर्ताहरूले स्थानीय सरकारलाई सहयोग गर्नुपर्ने कुरा समेत राख्नुभयो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै पुनर्वास नगरपालिकाका नगर उप—प्रमुख भुलिया कुमारी रानाले दोदा प्रभावित समुदायहरूका लागि उक्त तालिमको आयोजना गरेकोमा आयोजक (एनएनएसडब्ल्युृए) को एमरेड परियोजनालाई धन्यवाद दिँदै विपद् पूर्व तयारीका लागि सबै निकायहरू बिच पारस्परिक सहयोग र समन्वय हुन जरुरी रहेको उल्लेख गर्नुभयो । प्राकृतिक विपद्लाई रोकथाम गर्न नसके पनि पूर्व तयारीको माध्यमबाट विपद्को असरलाई न्यूनीकरण गर्न सकिने र पुनर्वास नगरपालिकाले पनि विगतको बाढी तथा विपद्को अनुभवलाई आत्मसात् गर्दै रबर बोट खरिद गरी पूर्व तयारीका कार्यहरू सुरु गरिसकेको जानकारी दिनुभयो । स्थानीय आपत्कालीन केन्द्रको सञ्चालनको तयारीको थालनी गर्दै प्रविधिको प्रयोग गरेर पूर्व सूचना प्रणाली मार्फत मौसमको जानकारीमा सबैको पहुँच पुग्ने किसिमको सूचना संयन्त्रको तयारी गर्ने योजना रहेको उहाँले सुनाउनु भयो ।
नेपाल राष्ट्रिय समाज कल्याण संघका कार्यकारी निर्देशक अशोक विक्रम जैरुले मानवीय सेवामा समर्पित सामुदायिक उद्धारकर्मीहरूलाई धन्यवाद दिँदै तालिममा सिकेका ज्ञान सीप अनुसार विपद्को समयमा सङ्गठित भई सामुदायिक उद्धार कार्यमा खटिनका लागि आग्रह गर्नुभयो । “विपद् जोखिम व्यवस्थापनका सन्दर्भमा कुनै एक पक्ष वा निकायले मात्र समाधान गर्न सक्दैन । यो त बहुपक्षीय सरोकारको विषय हो । विपद्को सामना गर्ने पहिलो वर्ग भनेकै स्थानीय समुदाय भएको हुनाले स्थानीय समुदायलाई विपद् प्रति जागरूक बनाउन, विपद्सँग सम्बन्धी योजना तथा कार्यक्रम तर्जुमा गर्न तथा विपद्को घटना हुनासाथ प्रतिकार्यका लागि परिचालित हुन समुदाय स्तरमा खोज तथा उद्धार कार्यदल गठन गरी खोज तथा उद्धार तालिमको आयोजना गरिएको हो ।” उहाँले भन्नुभयो । समुदाय स्तरमा गठन गरिएका समिति तथा कार्यदलहरूलाई पालिकामा अभिलेखीकरण गरी संस्थागत रूपमा परिचालन गर्नुपर्ने र युवाहरूको साझा फोरम तयार पारी पालिकामा हुने कुनै पनि विपद्को समयमा परिचालन गर्ने कुरामा उहाँले विशेष जोड दिनुभएको छ । समुदाय स्तरमा गठन भएका समितिहरूलाई पालिका स्तरबाट परिचालन गरी विपद्को क्षेत्रमा सहकार्य गर्दै विपद् पूर्व, विपद् अवधि र विपद् पश्चात्का सबै गतिविधिहरू सञ्चालन गर्नुपर्ने उहाँको भनाइ छ ।
परियोजनाले मनसुन पूर्व तयारीका लागि सामुदायिक उद्धारकर्मीहरूलाई खोज तथा उद्धार तालिम, आधारभूत प्राथमिक उपचार तालिम र पूर्व सूचना प्रणाली तालिमको आयोजनासँगै सामुदायिक प्रतिकार्य योजना तथा संकटासन्न घरधुरीहरूको प्रतिकार्य योजना तयार पारी समुदायलाई सुसूचित गरी बाढी पूर्व तयारी कार्य गर्ने योजना बनाएको परियोजना संयोजक महेश घिमिरे बताउनु हुन्छ । तालिम प्राप्त तीन वटै कार्यदलहरूको प्रयोग गरेर बाढी प्रभावित समुदायहरूमा कृत्रिम घटना नमुना अभ्यास मार्फत पूर्व तयारीका लागि सचेतना गर्ने योजना पनि रहेको उहाँले सुनाउनु भयो ।