हरिश्चन्द्र बाग, बैतडी, ११ बैशाख । बैतडीको मेलौलीमा सम्पन्न भएको बृहत् स्वास्थ्य शिविरबाट ५ हजार १ सय ५० जना लाभान्वित हुनुभएको छ । बैतडी पुर्ख्यौली घर भई हाल कैलालीमा बस्दै आउनु भएका व्यक्तिहरूको साझा संस्था बैतडी समाज कैलालीको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताउनु भयो ।
यही बैशाख ८ देखि १० गतेसम्म सञ्चालित बृहत् स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. विद्या प्रसाद पन्त र डा. ओम प्रकाश पन्त, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. नर बहादुर मौनी र डा. ज्ञानेन्द्र जोशी, जनरल फिजिसियन डा. चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट र नर्सिङ डाइरेक्टर मञ्जु केसी, युरो सर्जन डा. जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. जीवन बानियाँ, बाल रोग विशेषज्ञ डा. सुमन नेपाल, दन्त रोग विशेषज्ञ डा. सन्तोष पाण्डेय र डा. सङ्गीता पाण्डेय, मानसिक, मनोरोग तथा नशा रोग विशेषज्ञ डा. साजन खड्का, मनोविज्ञान परामर्शदाता डा. सुशील चटौत लगायतका चिकित्सकहरूको टोलीले सेवा प्रदान गर्नुभएको शिविरका संयोजक गजेन्द्रवीर चन्दले बताउनु भयो ।
मेलौली नगरपालिकासँगको सहकार्यमा बैतडी समाज कैलालीले बैतडीको मणिलेक माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको स्वास्थ्य शिविरसँगै रक्तदान कार्यक्रम, अटिजम सम्बन्धी सरोकारवालाहरूसँग जनचेतनामूलक छलफल र बैतडीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ स्थानीय सरकार र सरोकारवालासँग पर्यटनका विषयमा अन्तरक्रिया गरिएको थियो । शिविरकै बिचमा शनिबार रक्तदान कार्यक्रम समेत गरिएको थियो । स्थानीय युवाहरूलाई रक्तदान प्रति जनचेतना जगाउने र रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले बैतडीको दुर्गम क्षेत्रमा पहिलो पटक आयोजित रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले बताउनु भयो । समाजले यसअघि नौ पटक रक्तदान कार्यक्रम गरेकोमा ती सबैमा ८ सय ५४ जनाले रक्तदान गरेको तथ्याङ्क छ । दशौँ पटक समेत जोडेर जम्मा रक्तदाताहरूको सङ्ख्या ९०५ पुगेको छ ।
त्यस्तै, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा १ हजार ५ सय ४७ जनाको आँखा चेकजाँच गरी आवश्यकता अनुसार निःशुल्क शल्यक्रिया, चस्मा वितरण र औषधि वितरण समेत गरिएको छ । जसमध्ये ७०५ जनालाई चस्मा वितरण र १३२ जनाको निःशुल्क शल्यक्रिया समेत गरिएको छ । शिविरमा होटेल व्यवसायी संघ कैलाली, नेपाल रेडक्रस सोसाइटी, मेलौली नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरू, मणिलेक माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिहरू तथा स्वयंसेवक विद्यार्थीहरू, स्वास्थ्यकर्मीहरू लगायत विभिन्न संघसंस्थाका टोली समेत खटिएका थिए ।