हरिश्चन्द्र बाग, बैतडी, ०९ बैशाख । बैतडीको मेलौलीमा जारी बृहत् स्वास्थ्य शिविरमा शनिबार रक्तदान कार्यक्रम समेत गरिएको छ । मेलौली नगरपालिकासँगको सहकार्यमा बैतडी समाज कैलालीले बैतडीको मणिलेक माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरेको उक्त शिविरको दोस्रो दिन शनिबार दशौँ बृहत् रक्तदान महोत्सव गरिएको हो । उक्त शिविरमा ५१ जनाले रक्तदान गरेको रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले बताउनु भयो । स्थानीय युवाहरूलाई रक्तदान प्रति जनचेतना जगाउने र रक्तदान गर्न अभिप्रेरित गर्ने उद्देश्यले बैतडीको दुर्गम क्षेत्रमा पहिलो पटक रक्तदान कार्यक्रम गरिएको हो । समाजले यसअघि नौ पटक रक्तदान कार्यक्रम गरेकोमा ती सबैमा ८ सय ५४ जनाले रक्तदान गरेका थिए । दशौँ पटक समेत जोडेर जम्मा रक्तदाताहरूको सङ्ख्या ९०५ पुगेको छ ।
त्यस्तै, केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा सञ्चालन गरिएको आँखा शिविरमा सहभागी बिरामीहरूको आँखाको चेकजाँच गरी आवश्यकता अनुसार निःशुल्क शल्यक्रिया, चस्मा वितरण र औषधि वितरण समेत गरिएको छ । बृहत् स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. विद्या प्रसाद पन्त र डा. ओम प्रकाश पन्त, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. नर बहादुर मौनी र डा. ज्ञानेन्द्र जोशी, जनरल फिजिसियन डा. चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट र नर्सिङ डाइरेक्टर मञ्जु केसी, युरो सर्जन डा. जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. जीवन बानियाँ, बाल रोग विशेषज्ञ डा. सुमन नेपाल, दन्त रोग विशेषज्ञ डा. सन्तोष पाण्डेय र डा. सङ्गीता पाण्डेय, मानसिक, मनोरोग तथा नशा रोग विशेषज्ञ डा. साजन खड्का, मनोविज्ञान परामर्शदाता डा. सुशील चटौत लगायतका चिकित्सकहरुको टोलीले सेवा प्रदान गरिरहेको शिविरका संयोजक गजेन्द्रवीर चन्दले बताउनु भयो ।
बैतडी पुख्र्यौली घर भई हाल कैलालीमा बस्दै आएका व्यक्तिहरुको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताउनु भयो । स्वास्थ्य शिविरसँगै अटिजम सम्बन्धी सरोकारवालाहरुसँग जनचेतनामूलक छलफल र बैतडीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ स्थानीय सरकार र सरोकारवालासँग पर्यटनका विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
शिविरमा होटेल व्यवसायी संघ कैलाली, नेपाल रेडक्रस सोसाइटी, मेलौली नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, मणिलेक माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिहरु तथा स्वयंसेवक विद्यार्थीहरु, स्वास्थ्यकर्मीहरु लगायत विभिन्न संघसंस्थाका टोली समेत खटिएका छन् ।