हरिश्चन्द्र बाग, बैतडी, ०८ बैशाख । बैतडीको मेलौलीमा बृहत् स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । शुक्रबारबाट सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर तीन दिनसम्म जारी रहने बताइएको छ । मेलौली नगरपालिकासँगको सहकार्यमा बैतडी समाज कैलालीले आयोजना गरेको उक्त शिविरबाट पहिलो दिनमै १ हजार ४ सय ८६ जना लाभान्वित हुनु भएको छ । मणिलेक माध्यमिक विद्यालयको प्रांगणमा ओपिडी सेवा सञ्चालन गरिएको छ भने केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा आखाँ शिविर सञ्चालन गरिएको छ ।
उक्त स्वास्थ्य शिविरमा नेत्र रोग विशेषज्ञ डा. विद्या प्रसाद पन्त र डा. ओम प्रकाश पन्त, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. नर बहादुर मौनी र डा. ज्ञानेन्द्र जोशी, जनरल फिजिसियन डा. चेतराज भट्ट, स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. रवीन्द्र देव भट्ट र नर्सिङ डाइरेक्टर मञ्जु केसी, युरो सर्जन डा. जोनेश तिवारी, नाक, कान, घाँटी रोग विशेषज्ञ डा. जीवन बानियाँ, बाल रोग विशेषज्ञ डा. सुमन नेपाल, दन्त रोग विशेषज्ञ डा. सन्तोष पाण्डेय र डा. सङ्गीता पाण्डेय, मानसिक, मनोरोग तथा नशा रोग विशेषज्ञ डा. साजन खड्का, मनोविज्ञान परामर्शदाता डा. सुशील चटौत लगायतका चिकित्सकहरुको टोलीले सेवा प्रदान गरिरहेको शिविरका संयोजक गजेन्द्रवीर चन्दले बताउनु भयो ।
बैतडी पुख्र्यौली घर भई हाल कैलालीमा बस्दै आएका व्यक्तिहरुको अगुवाइमा सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त शिविरको आयोजना गरिएको बैतडी समाज कैलालीका अध्यक्ष मायाप्रकाश भट्टले बताउनु भयो । स्वास्थ्य शिविरसँगै अटिजम सम्बन्धी सरोकारवालाहरुसँग जनचेतनामूलक छलफल र बैतडीको पर्यटन प्रवर्धन गर्ने उद्देश्यका साथ स्थानीय सरकार र सरोकारवालासँग पर्यटनका विषयमा अन्तरक्रिया गरिएको अध्यक्ष भट्टले जानकारी दिनुभयो ।
उक्त शिविरकै बिचमा समाजले बैशाख ९ गते शनिबारका दिन मेलौलीमा दशौँ बृहत् रक्तदान महोत्सव गर्ने तयारी समेत गरेको छ । स्थानीय युवाहरूलाई रक्तदान प्रति जनचेतना र रक्तदान गर्न अभिप्रेरित गर्न रक्तदान कार्यक्रम गर्न लागेको रक्तदान कार्यक्रमका संयोजक राज बहादुर चन्दले बताउनु भयो । समाजले हालसम्म नौ पटक रक्तदान कार्यक्रम गरेको र ती सबैमा ८ सय ५४ जनाले रक्तदान गरेको उहाँले बताउनु भयो ।
पहिलो पटक बैतडीको दुर्गम क्षेत्र तल्लो स्वराडमा पुग्नु भएका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले शिविरको स्थलगत अवलोकनपछि सम्बोधन गर्दै सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य लगायत विभिन्न क्षेत्रको सुधार गर्नुपर्ने महत्वपूर्ण जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । सबैको सहयोग र सहकार्यमा प्रदेशको विकास गर्न सकिने उहाँको भनाइ छ । मुख्यमन्त्री शाहले शिविर आयोजकलाई धन्यवाद व्यक्त गर्दै आम नागरिकको उपचार गर्ने कार्यलाई पुण्य कार्यको रुपमा विश्लेषण गर्नुभयो । उहाँले स्वास्थ्य, खानेपानी, विद्युतीकरण लगायतका अत्यावश्यक कार्यहरुलाई तीब्रता दिई नागरिकलाई यथाशीघ्र सुविधा पुग्ने गरी आफुले काम गर्ने प्रतिबद्धता जनाउनु भयो ।
बैतडीबाट प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दामोदर भण्डारीले आफू भौतिक रुपमा उपस्थित हुन नसके पनि अनलाइनका माध्यमबाट पत्राचार गर्दै वृहत् स्वास्थ्य शिविरले समग्र तल्लो स्वराड क्षेत्रका नागरिकलाई ठूलो राहत पुगेको उल्लेख गर्दै आयोजक प्रति आभार व्यक्त गर्नुभयो । शिविरमै सहभागी सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवराज भट्ट, मेलौली नगरपालिकाका नगर प्रमुख तथा कार्यक्रमका अध्यक्ष भीम बहादुर चन्द, पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्द लगायतका वक्ताहरुले समग्र तल्लो स्वराडको विकासका सन्दर्भमा सबै पक्ष एकजुट भएर लाग्नुपर्ने धारणा राख्नुभयो । स्थानीय स्तरमा काम गर्दा देखिएका अप्ठ्याराहरु समाधानका लागि प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण समेत गराइएको छ । तल्लो स्वराडको विकासका लागि र विविध विषयहरुका मुख्यमन्त्री शाहलाई ज्ञापनपत्र समेत बुझाइएको छ । शिविरमा होटेल व्यवसायी संघ कैलाली, नेपाल रेडक्रस सोसाइटी, मेलौली नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, मणिलेक माध्यमिक विद्यालयका शिक्षक प्रतिनिधिहरु तथा स्वयंसेवक विद्यार्थीहरु, स्वास्थ्यकर्मीहरु लगायत विभिन्न संघसंस्थाका टोली समेत खटिएका छन् ।